दमौली । तनहुँमा सवारी कारबाहीको संख्या बढिरहेको छ । सवारीका संख्या बढ्नु र नियम मिचेर सवारी चलाएका कारण तनहुँमा दिनानुदिन सयौं सवारी चालक कारबाहीमा परिरहेका छन् ।
आर्थिक वर्ष २०७९ /८० मा ४९ हजार ५ सय ५० सवारी कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ । तनहुँमा एक वर्ष भित्रमा दुई तथा चार पाङ्ग्रे गरी सो संख्यामा सवारी कारबाहीमा परेका हुन् ।
यो बीचमा १० हजार १ सय ७८ ट्रक/टिपर, ७ हजार ६ सय ६२ बस, ११ हजार ४ सय ९ कार/जिप तथा २ हजार २ सय ९३ ट्याक्टर कारबाहीमा परेका थिए । सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी समातिएका थिए । एक वर्ष भित्रमा १७ हजार ६ सय २५ दुई पाङ्ग्रे सवारी कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजिव विष्टले जानकारी दिए । यस्ती अन्य ३ सय ८३ सवारी कारबाहीमा परेका छ्न ।
जिल्लामा सोही अवधिमा मादक पदार्थ सेवन (मापसे) का कारबाही पनि १ हजार ७ सय ६१ जना रहेका छन् । मापसेमा कारवाहीबाट ३५ लाख २२ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय तनहुँले जनाएको छ ।
ट्राफिक प्रहरीले नियम पालना नगर्ने तथा सवारी चालक अनुमति (लाइसेन्स)लगायत कागजात नभएकालाई पनि कारबाही गरेको हो । मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, क्षमताभन्दा बढी यात्रु राखेर सञ्चालन गर्ने, निषेधित क्षेत्रमा सवारी पार्किङ गर्ने, तीव्रगतिमा सवारी चलाउनेलगायत ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गरिएको हो।
आर्थिक वर्ष २०७९/८० मा सवारी कारबाहीबाट ४ करोड २२ लाख ५२ हजार ५ सय राजस्व संकलन भएको छ । यस्तै आर्थिक वर्ष २०७८/७९ मा ३ करोड ७९ लाख ३३ हजार राजस्व संकलन भएको थियो ।
गत आर्थिक वर्षमा ५२ वटा सवारी दुर्घटनामा परेका छन् । सो दुर्घटनाबाट २९ जनाको ज्यान गएको प्रमुख विष्टले जानकारी दिए । त्यसमा २२ जना पुरुष, ६ जना महिला र एक जना बालक छन् । यस्तै गत आर्थिक वर्षमा ४९ जना गम्भीर घाइते र १४ जना सामान्य घाइते भएको कार्यालयले जनाएको छ ।
सवारी दुर्घटना र जरिवाना कम गर्नका लागि ट्राफिक कार्यालयले विभिन्न सचेतनाका कार्यक्रम गरेपनि न्यूनीकरण नभएको ट्राफिक कार्यालय तनहुँले जनाएको छ । कार्यालयले विभिन्न कार्यक्रम गरी सचेतना कार्यक्रममा सहभागी गराएको जनाकारी दिएको छ ।
यस वर्ष पनि दुर्घटना न्यूनीकरणका लागि जनचेतनाका कार्यक्रमसँगै रात्रीकालिन मापसे चेकिङ, ट्राफिक चिह्न राख्न र खाल्डाखुल्डी पुर्न सम्बन्धित निकायमा पहल गर्ने कार्यक्रम गर्ने योजना रहेको प्रमुख विष्टले जानकारी दिए ।