म्याग्दे । तनहुँको म्याग्दे गाँउपालिका र महेन्द्र माविको समन्वयमा विद्यालयका लागी बस संचालनमा ल्याईएको छ ।
म्याग्दे गाँउपालिकाको आर्थिक वर्ष ०७९।०८० को कार्यक्रम अन्तरगत विद्यालयलाई वस संचालनका लागी ४० प्रतिशत अनुदान र वाकी विद्यालयको दायित्व अन्तरगत रहने गरि म्याग्दे १ मा रहेको महेन्द्र मावि लाई बस हस्तान्तरण गरिएको हो ।
सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीको वातावरणमा सहज रुपमा पढाई होस भन्ने हेतुले पालिकाले ४० प्रतिशत अनुदान दिएर अन्य दायित्व विद्यालयले वेहोर्न गरि कार्यक्रम गरिएको पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।
जीवनको मेरुदण्डको रुपमा रहेको शिक्षा क्षेत्रको विकासले मात्र समृद्ध पालिका वन्ने हुदाँ पालिका शैक्षिक गुणस्तर सुधार्न गम्भिर भएको समेत अध्यक्ष श्रेष्ठले बताए । मिन मावि थर्पुमा गएको आर्थिक वर्षमा नै वस खरिद गरेर संचालनमा आएको र आजदेखि महेन्द्र मावि र राधा मावि वस संचालन हुने अध्यक्ष श्रेष्ठले बताए ।
विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न, विद्यार्थीलाई सहजताका साथ विद्यालयमा आउने वातावरण वनाउन विद्यालयमा अनुदान दिने कार्यक्रम प्रभावकारी भएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत जीत बहादुर रानाले बताए ।
यसैगरि विद्यालयका प्रधानाध्यापक सोम बहादुर थापाले पालिकाको अनुदानले विद्यालयलाई प्रभावकारी रुपमा संचालन गर्न सहयोग पुगेको बताए । ४० प्रतिशत अनुदान पालिकाले वेहोरेको र अन्य विद्यालय र पुर्व विद्यार्थी लगायत चन्दादाताको सहयोगमा वस संचालन गर्न सकिएको प्रधानाध्यापक थापाले वताए ।
कक्षा १२ सम्म पढाई हुने विद्यालयमा ३५० जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।