संस्कृति संरक्षणमा तनहुँका नेवार समुदाय

Byकिरण श्रेष्ठ

१७ भाद्र २०८०, आईतवार ०९:२९ १७ भाद्र २०८०, आईतवार ०९:२९ १७ भाद्र २०८०, आईतवार ०९:२९

दमौली । भाषा–संस्कृति, मौलिक परम्परा, पहिचानका धनी नेवार समुदायको सांस्कृतिक पर्वोत्सव देशभर मनाइरहेका बेला तनहुँका नेवार समुदाय संस्कार–संस्कृतिको संरक्षणमा अग्रसर बनेका छन् ।

देशैभरि लाखे जात्रा लगायतका कार्यक्रम सञ्चालन भइरहेको बेला तनहुँमा पनि लाखे नाच प्रदर्शनसँगै सांस्कृतिक चहलपहलका गतिविधि बढेसँगै तनहुँका नेवार समुदाय आफ्नो संस्कार–संस्कृति संरक्षण–सम्बद्र्धनमा जुटेका हुन् ।

नाग पञ्चमीदेखि लाखे जात्राको विधिवत् उदघाटन गरेर तनहुँको दमौलीसँगै जिल्लाका विभिन्न क्षेत्रमा सांस्कृतिक कार्यक्रम जारी रहेको नेवाः देय् दबू व्यास नगरका अध्यक्ष क्या.सन्तलाल श्रेष्ठले बताए ।

अमूल्य सम्पदाको रुपमा रहेको मौलिक तथा परम्परागत नेवार संस्कार–संस्कृतिको संरक्षण–सम्बद्र्धन गर्ने उद्देश्यले तनहुँमा रहेका विभिन्न गुठी समाजहरुले लाखे नचाउने कार्यक्रम संचालन गरिरहेको उनले जानकारी दिए ।

उनका अनुसार अहिले व्यास नगरमा २८ वटा गुठी सेवा समाज आवद्ध रहेका छन । सबै गुठीले आफ्नो आफ्नो समयमा तालिम, नाचहरु बजारमा प्रदर्शन गरिरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

नाग पञ्चमीबाट शुरु भई तीज पछीको पुर्णिमामा सम्म जारी रहने लाखे जात्रा नेवार समुदायको प्रमुख चाडपर्व तथा सांस्कृतिक पहिचान भएको नेवाः देय् दबू व्यास नगरका अध्यक्ष श्रेष्ठले बताए ।

हालै मृत्युवरण गरेका घरपरिवार वा नेवारजातिका इष्टदेव भीमसेन मन्दिरबाट शुरु गरिने लाखे नाचसँगै पछिल्लो समय टाकटुके, गाईजात्रा, रोपाइँ जात्रा जस्ता नृत्य प्रस्तुत गर्ने प्रचलन रहेको उनको भनाइ छ । दमौलीको तजिलजीबाट व्यास-७ कलेस्ती बजारमा धिमे, लाखे र टाकटुके नाचको १५ दिने प्रशिक्षण समेत दिइएको उनले जानकारी दिए ।

नेवार जातिको प्रमुख चाड लाखे जात्राको प्रमुख आकर्षण दानवी शक्तिसँगै देवदेवीको भयङ्कर स्वरुप काली, भैरव लगायतको प्रतिक (आकृति)को रुपमा रहेको मुकुट र अन्य भेषभूषा तथा ढोलक, झ्याम्टा लगायत मौलिक बाजाको प्रयोगसहित प्रस्तुत गरिने लाखे नाच–प्रदर्शनबाट पितृको मोक्षका लागि सहायक हुने विश्वास रहेको उनको भनाइ छ ।

त्यस्तै धार्मिक तथा सांस्कृतिक महत्व बोकेको गाईजात्रामा सम्पन्न शोभायात्रा तथा झाँकी प्रदर्शनमा भिन्न विशेषता रहेको पाइन्छ । संस्कृति संरक्षण गर्ने डुम्रे नेवा खल: को आयोजनामा भदौ ३० गते लाखे नाचसहित विभिन्न कार्यक्रम हुँदैछ ।

तनहुँमा संस्कृति जगेर्ना गर्न तथा मौलिक परम्परा, पहिचानको संरक्षण–सम्बद्र्धनमा जागरण अभियानका रुपमा जिल्लाका मुख्य चोक तथा शहरहरुमा सभासमारोहसहित जात्रा–महोत्सवको कार्यक्रमहरु हुँदैछ । नेवार समुदायको जात्रामा सबै समुदायका मानिसहरुले उत्साहपूर्ण सहभागिता र सदभाव राख्ने गरेको पाइएको अध्यक्ष श्रेष्ठ बताउछन ।

बढ्दो आधुनिकताको प्रभावसँगै मौलिक संस्कृति लोप हुने खतरा बढेपछि तनहुँका नेवार समुदायका व्यक्तिहरु संरक्षणमा जुटेका छन् । मौलिक परम्परा धर्म संस्कृतिलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पु¥याउन यसको संरक्षणमा जुटेको नेवाः देय् दबू तनहुँका अध्यक्ष क्या. तारालाल मल्लले बताए ।

“हामी स्थानीयस्तरबाट नै आफ्नो संस्कार संस्कृतिलाई बचाउन जुटेका छौँ”, अध्यक्ष मल्लले भने, “संस्कृतिको जगेर्ना गर्दै नयाँ पुस्तालाई आफ्नो संस्कृति, पराम्परा सिकाउँदै आएका छौँ । संस्कृतिलाई बचाइ राख्नका लागि विभिन्न कार्यक्रम गर्दै आएको अवस्था छ । विभिन्न अवसरमा हामीले मौलिकता झल्कने गरी जात्रा, मेला पनि लगाउँदै आएका छौँ ।”

धर्म, संस्कृति, जातीय अस्तित्व, रीतिरिवाज र बाजा जोगाउन सामूहिक रुपमा संरक्षणको काम गर्दै आएको मल्लले बताए । नेवार समदायका संस्कृति रीतिरिवाजको संरक्षणमा आफ्नो अगुवाइमा विभिन्न कार्यक्रम हुँदै आएको उनको भनाइ छ ।

“नेवार समुदायको छुट्टै कला, संस्कार संस्कृति रीतिरिवाज छ”, मल्लले भने, “कतिपय परम्परा लोप हुँदै गएको अवस्था छ । यस्ता परम्पराको संरक्षणमा  हामी जुटेका छौँ । मौलिक कुराको सरक्षण गर्नु नयाँ पुस्ताको दायित्व पनि हो ।”

आधुनिकता विकाससँगै स्थानीय संस्कृतिको मौलिकता हराउने अवस्था आएकाले यसलाई नयाँ पुस्तासम्म पु¥याउन आवश्यक रहेको उनको भनाइ छ ।

“आधुनिकताको विकाससँगै कतिपय मौलिक परम्परा हराउँदै आएको अवस्था छ”, उनले भने, “यस्ता कुराको संरक्षणमा राज्यले पनि ध्यान दिन आवश्यक छ । नागरिकस्तरबाट पनि संरक्षण तथा विकासमा भूमिका खेल्नुपर्ने अवस्था पनि छ । सभ्य समाज निर्माणको लागि एक जातिले अर्को जातिको संस्कार संस्कृतिलाई सम्मान गर्न आवश्यक छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box