तनहुँमा स्वास्थ्य बीमामा सर्वसाधारणको पहुँच बढ्दै

Byखवरबाटिका

२४ भाद्र २०८०, आईतवार ०७:२४ २४ भाद्र २०८०, आईतवार ०७:२४ २४ भाद्र २०८०, आईतवार ०७:२४

तनहुँ । तनहुँमा स्वास्थ्य बीमा गर्नेको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य बीमाको फाइदाका बारेमा जानकारी प्राप्त भएपछि स्वास्थ्यबीमामा आकर्षण बढ्दै गएको हो । यहाँ ६ वर्षको अवधिमा ४० हजारभन्दा बढी परिवार स्वास्थ्य बीमामा आबद्ध भएका छन् ।

जिल्लामा विसं २०७४ को असारदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएकामा हालसम्म ४० हजार ४३९ परिवार आबद्ध भएका हुन् । जसमा १ लाख २० हजार ३८ जना रहेका छन् । सो संख्यामा ५६ हजार २७५ पुरुष र ६३ हजार ७६२ महिला रहेका छन् ।

स्वास्थ्य बीमा बोर्ड कार्यालय तनहुँकी दर्ता अधिकारी सरस्वति आचार्यका अनुसार उक्त ४० हजार ४३९ परिवार कार्यक्रममा आबद्ध भएका छन् । उनले भनिन, “निःशुल्क स्वास्थ्य बीमा गरिनेमा ज्येष्ठ नागरिक, एचआइभी सङ्क्रमित, कुष्ठरोगी, अपाङ्गता भएका व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् । उनीहरूको सरकारले नै बीमावापत लाग्ने शुल्क बोर्डलाई तिरिदिन्छ ।”

यस्तै १६ हजार ६१८ ज्येष्ठ नागरिक, (क) वर्गका अपाङ्गता भएका व्यक्ति २ हजार १९२ जना, १३ हजार ९५१ जना अति गरिब, १७१ जना एचआइभी सङ्क्रमित, ३ जना एमडीआर टिभी भएका र १ हजार ४० जना महिला स्वास्थ्य स्वयंसेविकाका परिवार स्वास्थ्य बीमामा आबद्ध रहेका छन् ।

स्वास्थ्य बीमामा आबद्ध हुन चाहने नागरिकले पाँच जनासम्मको परिवार सदस्यका लागि वार्षिक तीन हजार पाँच सय प्रिमियम तिर्नुपर्ने र त्यो वापत एक लाख बराबरको उपचार निःशुल्क पाइने गरेको छ । पाँच जनाभन्दा बढी सदस्य भएको परिवारले प्रतिसदस्य सात सय ५० थप प्रिमियम बुझाउनुपर्ने र उनीहरूले थप २० हजारका दरले उपचार सुविधा पाउने गरेका बोर्डले जनाएको छ ।

स्वास्थ्य बीमामा आबद्ध भएका नागरिकले सूचीकृत स्वास्थ्य संस्थाबाट निःशुल्क रूपमा उपचार सेवा पाउने गरेका छन् ।

असार महिनाभित्र सबै बिमित सेवाग्राहीले नवीकरण गर्नुपर्ने र बैशाख, जेठ र असारमा बिमा गरेका व्यक्तिहरूले आगामी भदौदेखि स्वास्थ्य सेवा लिन पाउने कार्यालयले जनाएको छ।

स्वास्थ्य बिमा गरेका सर्वसाधरणले दमौली अस्पताल, जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्र, भिमाद प्राथमिक स्वास्थ्यकेन्द्र, बन्दीपुर अस्पताल, पुरनडिही अस्पताल र आँबुखैरेनी अस्पतालबाट स्वास्थ्य सेवा लिन सक्नेछन्। यी संस्थामा उपचार हुन नसकेमासिफारिस गरिएका अन्य अस्पतालमा पनि निःशुल्क उपचार हुने गरेको छ ।

गरिब नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि सरकारले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको दर्ता अधिकारी आचार्यले बताईन । उनले भनिन, “सरकारको लक्ष्यअनुसार नै हामीले पनि यो कार्यक्रमलाई प्रभावकारीरूपमा अगाडि बढाइरहेका छौँ । यो आर्थिक वर्षभित्र लक्षित परिवारलाई आबद्ध गराउने योजना बनाएका छौँ ।”

स्थानीय नागरिकमा स्वास्थ्यप्रति भएको जनचेतनाको कमी, भौगोलिक कठिनाइका कारण स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमाअगाडि बढाउन कठिन भएको जनाएको छ । स्वास्थ्य बीमा कार्यक्रमका लागि यहाँका १० वटै स्थानीय तहमा गरेर हाल १०४ जना दर्ता सहयोगी परिचालित छन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार तनहुँको कूल जनसङ्ख्या ३ लाख २७ हजार ६ सय २० रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *