दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले आफू राजनीतिक गतिविधिमा सहभागी नहुने तर विकास निर्माणका काममा सहभागी हुने बताएका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलोपटक गृहजिल्ला तनहुँ आएका उनले व्यास नगरपालिका–३ बिपी वनवाटिकामा निर्माण सम्पन्न भएको सभागृहको उद्घाटन गर्दै सरकारलाई विकासका मुद्दाबारे सचेत गराउने बताएका हुन् ।
‘म दलीय राजनीतिमा हात हाल्दिन तर विकासबाट हात झिक्दिन । मुलुकलाई विकास चाहिएको छ, जो प्रधानमन्त्री आएपनि म विकासका मुद्धाबारे सचेत गराउछु’ उनले भने ।
राष्ट्रपति पौडेलले जनताका प्रतिनिधिले बनाएको संविधानको रक्षा गर्नु अहिलेको आवश्यकता भएको बताए । उनले सबैको भावनालाई समेटर अघि बढे स्थायित्व हुने समेत बताए । राष्ट्रपति पौडेलले जनताको अधिकारको रक्षाको लागि राजनीतिक दल अति आवश्यक रहेको तर अति दलबन्दी भएमा निमुखाको न्याय मर्ने समेत धारणा राखे ।
‘निमुखा जनताले न्याय पाए कि पाएनन्, त्यो दलका प्रतिनिधिले बुझ्नुपर्छ । निमुखालाई न्याय र विपन्नलाई आय दिन सबै दलहरु मिलेर लाग्न आवश्यक छ’ उनले भने ।
उक्त कार्यक्रममा शहरी विकासमन्त्री सीता गुरुङ, गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लगायत पनि सहभागी भएका थिए ।
करिब ७ सय ५० जना क्षमताको उक्त सभाहल गण्डकी प्रदेश कै ठूलो मानिएको छ । २३ करोड ६२ लाख ४३ हजार ३३१ रुपैयाँ लागतमा सो सभाहल डाँफे एमए प्रतिष्ठा जेभीले निर्माण गरेको हो । करिब छ हजार ५०० वर्गफिट क्षेत्रफलमा रहेको सभाहलमा दुईवटा ब्लक छ ।
चार तले भवनको भुइँतलामा पार्किङ, दोस्रो तलामा स्टेज, तेस्रोमा सेमिनार हल र चौथोमा अतिथिका लागि कपडा परिवर्तन गर्ने र आराम गर्ने कक्ष रहेका छन् ।