खत्रीठाटी । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिलाई स्थिर बनाउने काम एमाले बाहेकले नसक्ने बताएका छन् ।

शुक्रबार पार्टीको मध्यपहाडी यात्रा अन्तर्गत लमजुङको खत्रीठाटीमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जति वटा पार्टी मिले पनि देश बनाउने काम एमाले बाहेकका राजनीतिक दलहरुले नसक्ने जिकिर गरे ।

उनले राजनीतिलाई स्थिर बनाउने, लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने, विकास निर्माणलाई अघि बढाउने, अर्थतन्त्र अघि बढाउने, समाजलाई एकताबद्ध बनाउने, समाजमा आशा, भरोसा, उत्साह र विश्वास जगाउने काम नेकपा एमाले बाहेकले जोगाउन नसक्ने दाबी गरे  ।

अध्यक्ष ओलीले आफूहरुले कोभिड, भूकम्प लगायतका समस्याको सफलतापूर्वक सामना गरेको बताए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु सरकारले एक बर्षमा गर्ने काम एमालेले दुई दिनमा गर्नसक्ने दाबी गरेका छन् । आफूले सरकार चलाउँदा उत्पादन वृद्धिदर ७ प्रतिशतभन्दा बढी पुर्याएको उनले बताए ।

उनले भने, एमालेको सरकार बन्नुअघि वर्षमा १० किलोमिटर सडक कालोपत्र हुन्थ्यो भने एमालेले साढे ५ किलोमिटर भन्दा बढी त एकैदिनमा गर्यो। अरुले एक बर्षमा गरेको काम एमालेले दुई दिनमै गर्यो । तर, अहिले त त्यो १० किलोमिटर पनि के होला । विकास निर्माणको काम ठप्प भएको छ ।

राष्ट्रियताको सवालमा पनि एमालेबाहेक अरु कसैले रक्षा गर्न नसक्ने बताए ।

‘मिसन ८४ किन अगाडि बढाइयो भन्दा समृद्ध नेपाल, सुखी नेपाली बनाउनका लागि हो । देशको सम्पूर्ण क्षेत्रको अहिलेको अवस्थालाई रोकेर फेरि सकारात्मक दिशामा फर्काउनको लागि हो,’ उनले भने, ‘त्यसका लागि एमालेको एकल बहुमत आवश्यक छ । एमालेले यसलाई आफ्नो गन्तव्य बनाएको छ ।’ एमालेलाई बहुमत दिलाउन सबै जनता सचेत, संगठित र आन्दोलित हुनुपर्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *