सरकारले राष्ट्रपतिलाई दियो थप १० लाख उपचार खर्च, गत आर्थिक वर्षमै दिएको थियो ५५ लाख

Byखवरबाटिका

६ पुष २०८०, शुक्रबार २१:१५ ६ पुष २०८०, शुक्रबार २१:१५ ६ पुष २०८०, शुक्रबार २१:१५

काठमाडौँ । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको उपचारका लागि १० लाख रुपैयाँ निकासा गरेको छ । अर्थमन्त्रालयले बुधबार सार्वजनिक गरेको आर्थिक सहायता विवरणमा राष्ट्रपतिको उपचारका लागि थप १० निकासा गरिएको उल्लेख छ ।

अर्थले २०८० साउनदेखि मंसिरसम्मको आर्थिक सहायता विवरण सार्वजनिक गरेको हो। जसमा राष्ट्रपति पौडेलको उपचारमा ९ लाख ९५ हजार ९ सय ३५ रूपैयाँ निकासा गरिएको उल्लेख छ।

अर्थले राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन २०७४ अनुसार उक्त परिमाणको रकम उपलब्ध गराइएको जनाएको छ।

राष्ट्रपतिको उपचारका लागि उक्त रकम अर्थबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निकासा गरेर राष्ट्रपतिको उपचारमा प्रयोग गरिएको जनाइएको छ।

अघिल्लो वर्ष भारतको दिल्लीमा लामो उपचारका क्रममा लागेको खर्च राष्ट्रपति आफैंले व्यहोर्ने इच्छा देखाएको उनको सचिवालयले जनाएको थियो।

तर, पौडेलको उपचारका लागि सरकारले गत आर्थिक वर्षमै ५५ लाख रूपैयाँ उपलब्ध गराइसकेको छ।

राष्ट्रपति पौडेल छातीको समस्याको उपचारका लागि गत ६ वैशाखमा एयर एम्बुलेन्सबाट भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्ष्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा गएका थिए। उपचारपछि उनी १७ वैशाखमा स्वदेश फर्किएका थिए।

त्यसअघि उनलाई त्रिवि शिक्षण अस्पतालबाट ‘रिफरल लेटर’ बनाएर एम्स लगिएको थियो। २०८० असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलले भारतमा ११ दिन बसेर उपचार गराउँदा लागेको ५५ लाख २ हजार २७९ रुपैयाँ शोधभर्ना गर्ने निर्णय गरेको थियो।

उक्त निर्णय जनस्वास्थ्य सेवा ऐन २०७५ र राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन २०७४ मा भएको व्यवस्थाविपरीत भन्दै सर्वोच्च अदालतमा रिट पनि परेको थियो।

त्यस्तै, मन्त्रालयले इजरायलमा मारिएका नेपाली विद्यार्थीका परिवारलाई राहत स्वरूप १० लाख रुपैयाँको दरले आर्थिक सहायता उपलब्ध गराउन रकम निकासा गरेको छ । इजरायलको दक्षिणी भाग किबुज अलुमिममा हमास समूहको आक्रमणमा पारी नेपाली विद्यार्थीहरूले ज्यान गुमाएका थिए ।

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गत असोज २२ गते परिवार राहत उपलब्ध गराउने निर्णय गरेको थियो । सोही अनुसार जिल्ला प्रशासन कार्यालयहरूलाई मन्त्रालयले रकम निकासा गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *