दमौली । रोटरी क्लब अफ दमौलीले “वाक फर हेल्थ”  कार्यक्रमको आयोजना गरि शनिवार दमौलीदेखि मानुङकोटसम्म पदैलयात्रा सम्पन्न गरेको छ । अनसन चौतारीबाट सुरु भएको यात्रा ६ किलोमिटर दुरी पार गरि मानुङकोटमा पुगेर टुङ्गिएको थियो।

रोटरी इन्टरनेशलले डिसेम्बरलाई रोग रोकथाम र उपचार महिनाको रुपमा लिइ स्वास्थ्य सम्बन्धी कार्यक्रम आयोजना गर्ने प्रचलन बमोजिम रोटरी दमौलीले स्वास्थ्य तथा वातावरण सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको क्लबका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए ।

स्वस्थ्य जीवनशैलीका लागि दैनिक कम्तीमा ३० मिनेटको पैदलयात्रा अति आवश्यक छ भन्ने सन्देश दिन पनि पैदलयात्रा गरिएको उनले बताए । “रोटरीयनहरुमा दैनिक हिड्ने बानीको बिकास गराएर रोग लाग्न बाट बचोस भन्ने दीर्घकालीन उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो” उनले भने ।

सोही अवसरमा रोटरी दमौलीले मानुङकोटमा सरसफाइ तथा फोहोर व्यवस्थापनमा सहयोग पुग्ने विभिन्न सूचना तथा सन्देशमूलक प्ले–कार्डहरु पनि टाँसेको छ । मानुङकोट पछिल्लो समय सुन्दर पर्यटकीय गन्तव्यको रुपमा बिकास भइरहँदा त्यहाँ प्राकृतिक वातावरण प्रदुषित गर्नु हुदैन भन्ने सन्देश दिन“ आफ्नो फोहोर आफैं व्यवस्थापन गरौं”, “तिम्रो र मेरा लागि सुन्दर ठाउँ बनाऔँ” लगायतका सूचना लिखित कार्डहरु राखिएको श्रेष्ठले बताए ।

सोही अवसरमा व्यास नगरपालिकाका प्रमुख एवम् रोटरी दमौलीका पूर्व अध्यक्ष बैकुण्ठ न्यौपानेले पछिल्लो समय जीवनशैलीमा आएको परिवर्तनले धेरै प्रकारका रोग बढ्दै गएको सन्दर्भ जोड्दै  दैनिक हिँड्दा मानसिक र शारीरिक दुवै रूपमा स्वस्थ हुन मद्दत पुग्ने बताए । साथै रोटरीले धेरै रचनात्मक कार्यक्रम गरि समाजमा राम्रो सन्देश प्रवाह गरेको उनको भनाइ थियो ।

त्यस्तैगरि संविधान सभा सदस्य एवम् रोटरी दमौलीका संस्थापक अध्यक्ष रामचन्द्र पोख्रेलले स्वास्थ्य सचेतनासँगै आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग गरेको भन्दै कार्यक्रमप्रति आभार व्यक्त गर्नुकासाथै स्वस्थ जीवनशैली अवलम्बन गर्न पनि उनले सबैलाई अनुरोध गरे ।

कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख एवम् रोटरीे, संविधान सभा सदस्य एवम् रोटरी दमौलीका संस्थापक अध्यक्ष रामचन्द्र पोख्रेल लगायत ७२ जना रोटरीयन तथा गैर रोटरीयनको सहभागीता रहेको कार्यक्रम संयोजक नारायण मल्लले जानकारी दिए ।

रोग रोकथाम र उपचार रोटरीको सात प्राथमिकता क्षेत्र मध्ये एक हो । सोही कुरालाई मध्यनजर गर्दै रोटरी क्लब अफ दमौलीले हरेक वर्ष स्वास्थ्य शिविरदेखि स्वास्थ्य सचेतनाका विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *