दमौली । तनहुँमा सुँगुर, बङ्गुर तथा बँदेल प्रजातिलाई लाग्ने रोग ‘अफ्रिकन स्वाइन फिभर’ले बङ्गुर मर्न थालेका छन् । करिब दुई साताको अवधिमा सो रोगले जिल्लामा ३१ वटा बङ्गुर मरिसकेका छन ।
जिल्लाको दश पालिका मध्ये ५ वटा पालिकामा शुक्रबारसम्म ३१ वटा बंगुर मरेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँका पशु स्वास्थ्य प्राविधिक रुद्रसिं ठकुरीले जानकारी दिए ।
अहिलेसम्म जिल्लाको व्यास नगरपालिकामा १९ वटा, म्याग्दे गाउँपालिकामा ८ वटा, भिमाद नगरपालिकामा २ वटा, ऋषिङ गाउँपालिका र भानु नगरपालिकामा १/१ वटा गरी हाल सम्म ३१ वटा बङ्गुर मरिसकेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँका पशु स्वास्थ्य प्राविधिक ठकुरीले जानकारी दिए ।
‘एकदम नै छिटो पशुमा सर्ने रोग हो । यसले किसानलाई ठूलो आर्थिक क्षति गर्छ, तर बेलैमा सचेत हुन सके पशुलाई बचाउन पनि सकिन्छ,’ ठकुरीले भने ।
एकैपटक धेरै बङ्गुरमा रोग देखा पर्ने र मर्ने, उच्च ज्वरो आउने, दानापानी नखाने, उभिन नसक्ने र कमजोर हुने,कान र थुनुनोको छालामा रातो वा निलो डामहरु देखिने र पछि शरिरभरि रातो हुने, नाक र गुद्धद्वारबाट रगत बग्ने, छिटोछिटो श्वास फेर्ने, उल्टी गर्ने र गर्भिणी बङ्गुर तुहाउने जस्ता लक्षण देखा पर्ने केन्द्रले जनाएको छ ।
कुनै किसिमको स्वास्थ्य समस्या वा दिइएका लक्षणहरू देखा परेमा तुरुन्तै नजिकैको पशु सेवा शाखा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र वा पशु चिकित्सक/प्रविधिकलाई खबर गर्न आग्रह गरिएको उनले बताए ।
बङ्गुरमा ज्वरो आउने, खाना नखाने, कान, मुख तथा घाँटीमा विभिन्न खालका दाग खटिरा देखिएपछि काठमाडौँमा ल्याब परीक्षण गर्दा ‘अफ्रिकन स्वाइन फिवर’ भएको पुष्टि भएको थियो ।
नेपालमा यो रोग पहिलो पटक २०७९ जेठ २ मा पुष्टि भएपछि दुई वर्ष अवधिमा देशका २८ जिल्लाका विभिन्न स्थानमा संक्रमण देखापरेको थियो । यो संक्रमणबाट ७० हजार बङ्गुर र सुँगुर मरेको विभागले जनाएको छ ।
मानिसलाई सर्दैन, पशुमा छिटो असर
अफ्रिकन स्वाइन फिभर रोग सुँगुर, बङ्गुर तथा बँदेल प्रजातिमा विषाणुका कारण लाग्ने उच्च मृत्युदर भएको छिटो फैलिने सरुवा रोग हो । यो रोग पशुबाट मानिसमा सर्दैन ।
यो रोगको सङ्क्रमण हुँदा उच्च ज्वरो आउने (१०४ देखि १०७ डिग्री फरेनहाइट), कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छेर्ने, छट्पटाउने, लडखडाउने, तुहिनेजस्ता लक्षण सहित सुँगुर, बङ्गुर तथा बँदेल मर्ने गर्छ ।
यो रोग विशेष गरी रोगी बङ्गुर वा त्यसका पाठापाठी वा मासु वा रोगी पशुको सम्पर्कमा आएका सामग्रीको लसपस वा ओसारपसारबाट फैलिन सक्छ ।
यो रोगको हालसम्म कुनै प्रभावकारी उपचार उपलब्ध छैन । विश्व पशु स्वास्थ्य संगठनले यो रोग नियन्त्रण गर्न सङ्क्रमित क्षेत्रबाट ओसारपसार नियन्त्रण सहित जैविक सुरक्षामा विशेष ध्यान पुर्याउन सिफारिस गरेको छ ।
रोगबाट यसरी जोगाउन सकिन्छ
बङ्गुर फार्ममा जैविक सुरक्षाका विधि अवलम्बन गर्न केन्द्रले आग्रह गरेको छ । खोरमा जैविक सुरक्षाका उपायहरू अवलम्बन गर्ने, अनावश्यक रूपमा अरूको फार्म/खोरमा नजाने, फार्म/खोरको काम गर्दा लगाएको लुगाकपडा र जुत्ताचप्पल अरू बेला प्रयोग नगर्ने, खोरको काम सकेपछि साबुन पानीले हातखुट्टा राम्ररी धुने, रोगी बङ्गुर र यसको मासु ओसारपसार तथा बिक्रीवितरण नगर्ने, नियमित रूपमा फार्म/खोर वरपर चुना, फिनेल वा निसङ्क्रमण गर्ने औषधि छर्ने जस्ता उपाय अवलम्बन गर्न कृषकलाई जानकारी गराइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
यसैगरी घर वा होटेलको फोहोर नखुवाउन आग्रह गरिएको छ । खुवाउनै परेमा कम्तीमा आधा घण्टासम्म उमालेर, खुवाउने र बङ्गुरको मासु मिसिएको खानेकुरा नखुवाउने मरेका बङ्गुर वा काटिएको बङ्गुरको मासु, हाड र अन्य फोहोरहरू जथाभाबी खुल्ला रूपमा वा खोलानाला तथा पानीको स्रोतमा नफाल्न केन्द्रले आग्रह गरेको छ ।
रोगको शंका लागेका पशुलाई स्थानबाट छुट्ट्याएर अलग राख्ने, मरेका पशुलाई राम्रोसँग खाडलमा गाड्ने तथा जलाउनुपर्ने केन्द्रले जनाएको छ ।