बन्दिपुर । पहाडकी रानी नामले परिचित तनहुँकाे बन्दिपुरमा साँस्कृतिक भवन बन्ने भएकाे छ । स्थानीय जातजाति र समुदायकाे परम्परागत रहन-सहन, कला , सँस्कृतिकाे जगेर्ना गर्ने उदेश्यले साँस्कृतिक भवन बन्न लागेकाे हाे ।
नेपाल सरकार पर्यटन मन्त्रालय मार्फत ससर्त कार्यक्रम अन्तरगत गाउँपालिकालाई ५० लाख प्राप्त भएकाेमा जग्गाको अभावमा हाल सम्म उक्त बजेट खर्च हुन नसकेकाे अवस्थामा बन्दिपुरका पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले ऐतिहासिक स्थल तिनधारेमा ५० लाख भन्दा बढीकाे १ राेपनी जग्गा दान दिने सहमति भए सँगै साँस्कृतिक भवन निर्माणकाे काम अघि बढ्ने भएकाे गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार साँस्कृतिक भवनमा विभिन्न जातजाति र समुदायकाे सँस्कृति झल्कने म्युजियम र स्थानीयकाे कला सँस्कृति प्रदर्शन गर्ने हल निर्माण गरिने भएकाे हाे ।
रेडियो बन्दिपुरका अध्यक्ष समेत रहेका बन्दिपुरका समाजसेवी एवं पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले स्थानीय परम्परा संरक्षणमा पालिकाले चासाे देखाएकाले आफ्नाे तर्फबाट जग्गा प्रदान गर्न लागेकाे जानकारी दिए ।
पर्यटन व्यवसायी श्रेष्ठले यसअघि चितवनमा राेटरी अस्पताल निर्माण गर्न नगद एक कराेड, याम्पामा तरकारी सहकारीलाई करिब १२ आना, याम्पा डेरीलाई उनकाे दाजुभाइ समेतकाे करिब आधा राेपनी जग्गा दान दिईसकेका छन् भने विभिन्न सामाजिक तथा धार्मिक कार्यका लागि पनि नगद दान प्रदान गर्दै आएका छन् ।