दमाैली । महिला उद्यमी समिति तनहुँले नेपाल घरेलु तथा साना उद्योग महासंघकाे ३५ औं स्थापना दिवस मनाएकाे छ । बिहिबार दमाैलीमा दिवसकाे अवसरमा समितिले मिलीजुली कृषि सहकारी आँबुखैरेनी, निखिल ढाका उद्योग दमाैली र नेपाल पत्रकार महासंघ तनहुँ शाखालाई सम्मान गरेकाे छ।
महिला उद्यमी समिति तनहुँले सञ्चालन गरेकाे काेसेली घरमा निरन्तर स्थानीय उत्पादनहरू उपलब्ध गराइ पुर्याएकाे सहयाेग कदरस्वरूप मिलीजुली सहकारी र ढाका उद्योग लाई र प्रचारप्रसारका माध्यमबाट महिलाहरूकाे उद्यमशीलता अभिवृद्धिमा सघाएकाे भन्दै पत्रकार महासंघलाई सम्मानपत्र प्रदान गरिएको अध्यक्ष कल्पना गाैलीले बताइन् ।
कार्यक्रमलाई सम्बाेधन गर्दै व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले सीपमूलक तालिमहरू लिएका महिलाहरूलाई उद्यमशीलतामा लाग्न आग्रह गरिन् । स्थानीय स्तरमा उत्पादित सामाग्रीहरूकाे व्यापारीकरणका लागि महिला उद्यमी समिति तनहुँले दमाैलीमा सञ्चालन गरेकाे काेसेली घरकाे प्रवर्द्धनमा नगरपालिकाले सहयाेग पुर्याउने दरैले बताइन् ।
व्यास नगरपालिका वडा नं. ३ का अध्यक्ष अनुप रानाले महिलाहरूका लागि स्वराेजगार सिर्जना गर्ने कार्यक्रममा प्राथमिकता दिइने बताए । घरेलु तथा साना उद्योग महासंघ, महिला उद्यमी समिति तनहुँका संस्थापक अध्यक्ष मछिन्द्रा श्रेष्ठले सीपकाे सदुपयाेग गरि आफ्नै खुट्टामा उभिएका महिला समाजमा सशक्त हुने विचार राखिन् ।
मिलीजुली कृषि सहकारीका अध्यक्ष ईश्वर गाैलीले एकता र सहि याेजना भए गाउँघरमै उपलब्ध वनस्पतिजन्य प्राकृतिक स्राेत साधनबाट राम्रो आम्दानी लिन सकिने बताए । घरेलु तथा साना उद्योग महासंघकाे केन्द्रीय सदस्य ताराराम श्रेष्ठले साना उद्योगीहरू विच एकताकाे आवश्यकता औल्याए ।
महिला उद्यमी समिति तनहुँले पर्यटन तथा उद्योग कार्यालय तनहुँकाे प्राङ्गणमा सञ्चालन गरेकाे काेसेली घरमा मह, चुकअमिलाे, अचार, मस्याैरा, मकै, मास, सिस्नाे लगायतका स्थानीय खाद्य सामाग्री, थाकलका झाेला, बासका सामाग्री, कारागारका कैदिबन्दीले तयार पारेका हस्तकला लगायतका दैनिक उपभाेग्य वस्तुहरू विक्रीका लागि राखिएका छन् । गाउँगाउँमा रहेका उद्यमी महिलाहरूकाे उत्पादनकाे बजारीकरणमा सघाउन काेसेली घर सञ्चालन गरेकाे सचिव सिर्जना काेइरालाले बताइन् ।