दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा बिहीबारदेखि केवलकार सञ्चालनमा आउने भएको छ । बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडले जेठ ३१ देखि केबलकार सञ्चालनमा ल्याउन लागेको जानकारी दिएको छ ।
कम्पनीले व्यवसायीक सुरूवात गरेको अवसरमा सीमित समयका लागि ६० प्रतिशत छुटको अफर समेत सार्वजनिक गरेको छ । साधारण एवम् नियमित शुल्क भने रु.५०० रहेको छ । विद्यार्थीको लागी रु. ३०० र जेष्ठ नागरिकको लागी रु.२५० रहेको छ ।
प्रति घण्टा पाँच सय जना यात्रु बोक्ने क्षमता रहेको यस केबलकार विभिन्न सिफ्ट गरेर बिहान ६ बजेदेखि राति ११ बजेसम्म चल्ने कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जनाकारी दिए ।
विसं. २०७५ साउनदेखि केवलकार निर्माण सुरू गरिएको थियो । सोही समूहले बन्दीपुरमा पाँच तारे होटल सञ्चालनको अन्तिम तयारी समेत गरिरहेको छ ।
गत बैसाख १ गतेबाट विधिवत रुपमा शुभ मुहर्त तथा वास्तु पुजा गरि आंशिक रुपमा सञ्चालन हुदै आएको केबलकार ३१ गते बिहीवारदेखि कमर्शियल अपरेसनमा ल्याइने भएको हो ।
कम्पनीलाई कमर्शियल अप्रेसन टियुभी प्रमाणपत्र प्राप्त भएसँगै अब केवलकार व्यवसायिक रुपमा सञ्चालन गर्न लागिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । टियुभी नर्ड जर्मनी अन्तर्गतको कम्पनी टियुभी नर्ड ईन्डियाले परियोजनाको सुपरिवेक्षण गरि सर्टिफिकेट प्रदान गरेको हो । करिब १ वर्ष अघि नै केवलकारको सम्पुर्ण मेकानिकल सामाग्रीहरुको जडान गरि लोड परिक्षण भइरहेको थियो । तीन चरणमा परिक्षणकाल सकिए पछि कम्पनीलाई कमर्शियल अप्रेसन टियुभी प्रमाणपत्र प्राप्त भएको शर्माले जानकारी दिए ।
केबलकारबाट ९० डिग्रीको उकालो जस्तो देखिने चट्टान अरोहण गरेझैँ साहसिक अनुभूति लिन सकिने बताइएको छ । केबलकारचोक देखि मन्दिरसम्म एक हजार ७ सय मिटर दुरी ७ मिनेटमा पार गर्न सकिनेछ ।
यसअघि नै केबलकारको बटम स्टेशनमा अत्याधुनिक सुविधा सहितको रेष्टुरेन्ट ‘ड्राइभ इन’सञ्चालनमा आइसकेको छ । विदेशी तथा स्वदेशी पर्यटकहरुलाई अन्तराष्ट्रिय स्तरको (पाँच तारे) सरहको सुविधा प्रदान गर्ने उद्देश्यले बैशाख १ गते देखि रेष्टुरेन्ट ‘ड्राइभ इन’सञ्चालनमा आएको हो । त्यस्तै बटम स्टेशनमा जंगली म्युजियम, चिल्डे«न जोन, ३३कोटी देविदेवताका मूर्ति सहितको आकर्षक पार्क सञ्चालनमा आएको छ । पार्कमा जिप लाइन, स्काइ साइक्लिङ्ग लगायतका साहसिक खेलको पनि अनुभव लिन पाइनेछ ।
बन्दीपुरहिलको कुल लागत ६ सय २९ करोड मध्ये हालसम्म ४ सय ३३ करोडको काम सम्पन्न भएको अध्यक्ष शर्माले जानकारी दिए । समग्र बन्दीपुरहिलको गुरुयोजना अनुसारका सबै संरचना आगामी २ वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । निर्माणाधीन १७ तले कुइन टावर नामको पाँच तारे होटल आगामी ५ महिनाभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
त्यस्तै २ वर्षभित्र स्काइ वाक, ८५ मिटर लामो क्यान्टी लिभर ग्लास वाक थ्रु, संसारकै अग्लो दाबि गरिएको २सय ९३ मिटर अग्लो बन्जी जम्प, सेभेन आकारको २८ सय मिटर लामो जिप लाइन, बन्दीपुरदेखि सिद्ध गुफासम्मको चियर लिफ्ट केबलकार लगायतका संरचना सम्पन्न हुने कम्पनीले जनाएको छ । केबलकारको ३१ गोण्डला मध्ये २१ वटा यात्रु बोक्ने गोण्डला रहेका छन् ।