तनहुँ । तनहुँमा एक युवकले आफू डाक्टर भएको बताउँदै अनुचित प्रभावमा पारेर १२ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेका छन ।

तनहुँको देवघाट गाउँपालिका–५ की नाबालिकामाथि जबरजस्ती करणी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रहरीले यस घटनामा सोही गाउँपालिकाको वडा नम्बर २ बस्ने २२ वर्षीय ईश्वर थापा मगरलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार थापाले आफूलाई वीर अस्पतालमा कार्यरत डाक्टर सागर मगर भनेर चिनाएका थिए । सामाजिक सञ्जालमा समेत उनले डा. सागर मगर (एमबीबीएस यूडीटीसी बंगलादेश) भनेर राखेका थिए ।

उनले गत जेठ ५ गते नाबालिकामाथि जबरजस्ती करणी गरेकोमा असार ३० गते पक्राउ गरिएको हो ।

उनलाई जबरजस्ती करणी सम्बन्धी मुद्दामा तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

नाबालिकामाथि बलात्कारका थप दुई घटना
यता तनहुँमा नै १४ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

भिमाद नगरपालिका-५ वाङटेङटार बस्ने ४३ वर्षीय चित्रबहादुर कामी र सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले ती नाबालिकालाई असार १५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको बताइएको छ ।

यसैगरी मकैबारीमा लगेर १३ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा तनहुँको भिमाद नगरपालिका–७ बस्ने ३१ वर्षीय वीरेन्द्र परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

गत असार २५ गते ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । उनलाई जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *