रस्वपाबाट निष्कासित मुकुलको आरोपबारे स्वर्णिमको: सडकका गँजेडीहरुलाई जवाफ दिइरहनु पर्दैन

Byखवरबाटिका

४ श्रावण २०८१, शुक्रबार १३:५० ४ श्रावण २०८१, शुक्रबार १३:५० ४ श्रावण २०८१, शुक्रबार १३:५०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निष्कासित महामन्त्री मुकुल ढकाललाई पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले ‘गँजेडी’ संज्ञा दिएका छन् । ढकालले लगाएको आरोप बारे पत्रकारले प्रतिक्रिया माग्दा उनले ‘वाहियात’ बताए ।

पूर्वमहामन्त्री ढकालले हालै एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा पार्टी उपसभापति डा. वाग्लेले नेपाललाई भारतको एउटा राज्य बनाउनुपर्ने कुरा गरेको दाबी गरेका थिए । यो कुराकानीको कुनै प्रमाण नरहेको तर, आफू ‘लाई डिटेक्टर मेसिन’ को सामना गर्न तयार रहेको उनको भनाइ थियो ।

हिजो एक कार्यक्रमपछि डा. वाग्लेलाई एक सञ्चारकर्मीले प्रश्न राखे, ‘के यो आरोप सही हो ?’

सिधै नकार्दै वाग्लेले भने, ‘त्यो वाहियात हो । यस्ता वाहियात कुराको मैले कुनै जवाफ दिइरहनु पर्दैन । हाम्रो प्रवक्ताले नै जवाफ दिइसक्नुभएको छ ।’

यस्तो गम्भीर आरोपमा पनि जवाफ नदिने ? भन्ने पत्रकारको प्रश्नमा उनले जवाफ दिए, ‘तपाईँ सडकका गँजेडीहरुले गरेका कानेखुसीको बारेमा… (जवाफ दिएर साध्य हुन्छ) ?’

पत्रकारले पिछा छोडेनन् ।

सोधियो, ‘हिजोसम्म महामन्त्री भएको व्यक्तिलाई आज गँजेडी भन्ने ?’ वाग्लेले भने, ‘प्रमाण छ त उहाँसित ? आरोप त जसलाई जे पनि लगाउन सकिन्छ नि ।’ ढकाललाई धम्की दिएको आरोपबारे वाग्लेले जवाफ दिए, ‘त्यो गलत हो ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *