दमौली । नेपाली नारीहरुको महान पर्व तीजको अवसरमा प्रकृति र संस्कृतिको संगम भूमि पहाडकी रानीको उपमाले परिचित पर्यटकीय एवं सांस्कृतिक ग्राम बन्दीपुरमा गत भाद्र १५ देखि २२ गतेसम्म साताव्यापी रुपमा आयोजना गरिएको “तिज सप्ताहन्न उत्सव”मा म्याग्देको एकता मगर समाज प्रथम भएको छ ।

प्रथम भएको समुहले रु १ लाख १ हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै बाग्लुङको भजनकृतन समुह दोस्रो हुँदै ७५ हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेको छ ।

भानुको हरियाली समूह तेस्रो भएको छ । सो समुहले ५० हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै केराबारी आमा समूह सान्त्वना हुँदै २५ हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेको छ ।

उत्कृष्ट भेषभूषा तर्फ पालुङटार नगर स्तरीय महिला सँजाल र उत्कृष्ट नृत्य तर्फ क्षेत्री समाज दमौली विजयी भएको छ ।

बन्दिपुर गाउँपालिकाको संरक्षकत्वमा र बन्दिपुरमा रहेका सामाजिक संघ संस्थाहरु, बन्दिपुर पर्यटन विकास समिति, क्षेत्रिय होटल संघ बन्दिपुर, तनहुँ उद्योग वाणिज्य संघ बन्दिपुर ईकाइ, रेवान जिल्ला बार एशोसियसन, बन्दिपुर गाउँपालिका पर्यटन एवं संस्कृति विभाग, सामुदायीक होमस्टे महासंघ बन्दिपुर, आर के डि महिला उद्यमशिल क्लव र बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडको संयुक्त आयोजनामा खुल्ला तीज गीत प्रतियोगिताको आयोजना गरिएको थियो ।

कार्यक्रम अन्तरगत हरेक दिन बन्दिपुर क्षेत्रका विभिन्न जातजातिका साँस्कृतिक झाँकी प्रदर्शन, विभिन्न आमा समूह, क्लब, विद्यार्थीहरुको प्रतिभा प्रदर्शन गरिएको थियो भने प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विशेष प्रस्तुती भएको कार्यक्रमका संयोजक एवं बन्दिपुर केवलकारका संचालक किरण पोख्रेलले जानकारी दिए ।

बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बन्दिपुरमा सबै किसिमका पर्यटक भित्र्याउनका लागि कार्यक्रमले मद्दत पुग्ने विश्वास ब्यक्त गरे । साथै उनले धार्मिक एवं पर्यटकीय हिसाबले बन्दिपुरको विश्वभर प्रचार प्रसारमा जोड दिए ।

उत्सव कार्यक्रममा राष्ट्रिय कलाकारहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, हरिदेबी कोइराला, शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, सुनिता नेपाली, शान्ता डोटेल, सीता परियार लगाएत स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहेको थियो ।

उत्सव कार्यक्रम ७०० वर्षभन्दा लामो धार्मिक एवं प्राचीन मन्दिर “माँ खड्गदेवी मन्दिर” प्राङ्गणमा भएको आयोजकले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *