किरण श्रेष्ठ, दमौली । यात्रा अनि नयाँ ठाउँ भनेपछि हुरुक्कै हुने म । अझै हिमाल अनि पदयात्रा भनेपछि अरु के चाईयो र ! अनि सुरु भो हाम्रो/मेरो जिवन कै लामो मकालु बेस क्याम्प र शिवधारा पदयात्रा ।
यो पदयात्रा सुरु हुनु अघिको छुट्टै कहानी छ । हाम्रो रोटर्याक्ट क्लब अफ दमौलीले दशैँको मेसोमा असोज २२ गते मंगलबार व्यास गुफा र रोटर्याक्ट धारा सरसफाई र रङ्गरोगन गर्ने कार्यक्रम राखेको थियो । सो कार्यक्रमको संयोजक म आफैं थिए ।
बिहानैदेखि सरसफाईको व्यस्थापनमा लागेको मलाई क्लबकै साथि सुगतचन्द्र हड्खलेले यसपाली नयाँ ठाउँमा ट्रेक जाने कुरा गरे । तर उनले ठाउँ भने खुलाएनन ।
त्यसको केहिदिन पछि अर्को साथि गोविन्द तिमल्सेना मार्फत थाहा भयो की सुगतले भनेको ठाउँ ‘मकालु बेस क्याम्प र शिवधारा’ पो रहेछ । ठाउँ थाहा पाएपछि त्यहाँको बारेमा युटुबमा यसो खोजि हेरे । दशैंको माहोलमा त्यति धेरै ध्यानपुर्वक भने हेरिन । अलि-अलि भने हेरियो ।
दशैंको माहोल भएको हुँदा त्यता तिर ध्यान गएन । अचानक दशैंको टिकाको राति १० बजे सुगत, गोविन्द र म बीच मेसेन्जरमा भिडिओ कलमा कुराकानी भयो । कुराकानीको बेला यो ट्रेक नगए पछुतो हुने भन्दै थिए, सुगत । कुरा हुँदै गर्दा गोविन्द र म पनि ट्रेक जान राजि भयौं ।
भोलिपल्ट बिहानै घरबाट हिड्ने निर्णय अनुसार हामि बिदा भयौ । म भने आधारातमा ट्रेक जान आवश्यक सामान जुटाउन थाले । दुई वर्ष अघि फ़ोक्सुण्डो ट्रेक गएकाले म संग धेरथोर समान थिए । रातिको बेला जे-जे भेट्यो त्यहि समान जम्मा गरे अनि सुते ।
भोलिपल्ट अर्थात असोज २७ गते बिहानै सुगतको फोन आयो निस्कने बेला भएन भन्दै । म भने तयार नै थिए, मात्रै मोटरसाइकल निकालेर घरबाट निस्किन बाँकी थियो ।
केहिबेरमै मोटरसाइकल निकालेर दमौलीबाट पृथ्वी राजमार्ग हुँदै तालघरे पुगे तर साथीहरु आइपुगेका थिएनन । फोन गरे, एकैछिनमा आइहाल्ने भने । केहिबेर कुरेपछि गोविन्द र सुगत दुवै जना आइपुगे । गोविन्द र म मेरै मोटरसाइकलमा जाने भनेका थियौं तर हाम्रा ठुला झोला र लामो सडकयात्रामा असहज हुने ठानेर हामि आ-आफ्नै मोटरसाइकलमा अघि बढ्यौ ।
करिब साढे ५ बजे अघि बढेका हामि करिब ९ बजे तिर हेटौडा पुग्यौ । सुगतले हेटौडामा आफ्नो पुरानो साथिको घरमा भेटघाट गर्ने भन्यो त्यसैले हामि केहीबेर त्यहाँ रोकियौ । सोहि मौकामा मैले भने मोटरसाइकलमा पेट्रोल फुल ट्याङ्क हाल्नेदेखि चेन कस्ने काम भ्याए।
त्यहाँबाट हामि अघि बढ्यौ, दमौलीबाट तीन जना गएका हामिसंग सुगतका साथि योजन गौतम कैलैयाबाट जोडिए । अनि हामि अब ४ जना बर्दिबासमा पुगेर खाना खाइवरी अघि बढ्यौ ।
भिमानको बाटो हुँदै हामि साँझमा धरान पुगेका थियौ तर हामि धरान नबसी भेडेटार पुगेर रोक्कियौ । अनि ट्रेकका लागी आवश्यक रकम एटिएमबाट निकाल्यौ । हामिलाई आज संखुवासभाको सदरमुकाम खादबारी पुग्नु थियो । भेडेटारमा प्रहरीका शंकर श्रेष्ठले खादबारीमा हाम्रो बासको लागी होटल मिलाइदिए ।
त्यसपछि हामि रातरात त्यहाँबाट खादबारीको लागी अघि बढ्यौ । धनकुटाको हिले, पाख्रिबास हुँदै लेगुवाको बाटो भएर हामि रातिको ११ बजे बल्ल खादबारी पुग्यौ । होटल अर्चिडमा दाई हामीलाई कुर्दै हुनुहोदो रैछ । हामि थाकेर आएको देखेर होटलवाला दाईले दशैंको माहोल, आधा रातको प्रवाह नगरी चाउचाउ पकाइदिनु भो अनि हामी खाएर सुत्यौ ।
यात्राको दोस्रो दिन अर्थात असोज २८ गते बिहानै उठेर करिब साढे ६ बजे हामि होटलबाट बिदा भएर खादबारीदेखि मानेभञ्ज्याङ्ग, चिचिला हुँदै करिब तीन घण्टाको कच्ची बाटोको यात्रापछि नुम बजार पुग्यौं। नुम बजार मकालु गाउँपालिका-५ मा पर्ने बजार हो, जहाँबाट हाम्रो पदयात्रा सुरु भयो ।
नुम बजारमा रहेको प्रहरी चौकी नुममा हामि पदयात्राबाट नफर्किदासम्म सुरक्षित रुपमा हाम्रो मोटरसाइकल रहने गरी साधन राखेर हामि नुम कै कोपिला होटलमा खाना खाएर त्यहाँ केहि थान कपडा झिकेर होटलमै राख्यौ । फर्किदा लैजाने गरी सबैले अलि अलि कपडा झिकेर बोरामा राख्यौ ।
करिब सवा ११ बजे नुम बजारबाट हाम्रो पैदल यात्रा सुरु भयो । ओरालै ओरालो बाटो हुँदै चाम्लेखर्क र अरुण नदिको किनारसम्म हाम्रो यात्रा भयो । अरुणसम्म सडक आएको छ साना सवारी आइपुग्ने गरी । अरुण नदि माथि पक्कि पुल पनि बन्दैछ ।
अरुण नदि माथिको झलुङ्गे पुल तरेर त्यहाँबाट हाम्रो पैदल यात्रामा उकालो सुरू भयो । बाह्र-पन्ध्र किलोको झोला बोकी उकालो चढ्न सुरु गरियो । करिब सवा तीन बजे हामि सकि-नसकी उकालो बाटो पार गरेर मकालु बरूण राष्ट्रिय निकुञ्जको प्रवेशद्वार पुग्यौं। त्यहाँ नजिकै रहेको सेढुवा गाँउ रहेछ । त्यहाँ चेक पोस्टमा आफ्नो दर्ता गराई प्रतिव्यक्ति रु १०० शुल्क पनि तिर्यौ । त्यसपछि सेढुवामा खाजा खाइवरी करिब साढे ४ बजे हिड्यौ ।
हाम्रो गन्तव्य टासीगाउँ पुग्ने थियो, आज । गन्तव्यमा पुग्न सकिँदैन कि भनेर डर लागेको थियो। तर बिस्तारै बिस्तारै यात्रालाई अगाडि बढाउँदै गयौं। करिब साढे ६ बजे च्याक्सेडाडा पुग्यौ अनि पानिले पनि भेटिहाल्यो हामीलाई । गोविन्द र म संग त प्लाष्टिकको रेनकोट थियो तर सुगत र योजन संग थिएन, साथीहरुले ओढ्ने प्लाष्टिक किने ।
रातको अँध्यारोले छोपिसकेकाले हामीले लाइट बालेर यात्रा अघि बढायौ । करिब साढे ७ बजे हामि टासीगाउँबाट नजिकै स्कुलडाडा पुग्यौं । निमा दाईको रातो घर पुग्दा हामीले आफुलाई बाचेको महसुस गर्यौ । पानिको भिजेर निथ्रुक्कै भएका हामि अर्को न्यानो कपडा लगाएर खाना खाईवारी सुत्यौं । तर रातभर ठुलो पनि पर्यो बिहान सम्मै ।
यात्राको तेस्रो दिन अर्थात असोज २९ गते बिहानै उठेर चियासँग आलु फ़ाइड राइस खायौं । बिहान पानि पर्ने र रोकिने हुँदै थियो । साथीहरु माथि जाने कि तल झर्ने भनेर सल्लाह गर्दै थिए । म भने निमा दाईका दुई छोराहरु दावा नोर्वु शर्पा (११) र रेञ्जिङ्ग शेर्पा (८) संग क्यारेमबोर्ड खेल्दै थिए ।
करिब सवा ९ बजे तिर घाम लाग्यो अनि साथीहरु पनि माथि उकालो लाग्ने निर्णयमा पुगे । अनि हामि त्यहाँबाट अगाडी लाग्यौ । करिब २० मिनेटमा टासीगाँउ पुग्यौं। टासीगाउँ मानवबस्ती भएको अन्तिम गाउँ हो । त्यहाँदेखि माथि बस्ती छैन । माथि साना टि-हाउस र होटल मात्रै छन् त्यो पनि सिमित मात्रै ।
उकालै उकालोबीच जंगलको बाटो करिब तीन घण्टा हिँडेपछि बिहानको खाना खान सवा १२ बजे डाँडाखर्क पुग्यौं । पानि पनि पर्न थालेको थियो । डाँडाखर्कमा रहेको मकालु वरुण होटलमा आगो ताप्दै खाना खाइयो । त्यहाँ भेट भईन मकालु वरुण होटलकी सानी साउनि यान्क्षिङ शेर्पा ।
म आउनु केहिअघि सुगत पुगिसकेका थिए, डाँडाखर्क । म पुगेको करिब १ घण्टा पछि मात्रै गोविन्द र योजन आइपुगे । योजनलाई हिड्न अलिक गाह्रो भो भन्दै थिए, गोविन्द ।
उनीहरु पनि आउना साथ खाना खाइहाले । त्यसपछि भने संगै गएका साथीहरु हामि माथि नजाने अब झर्नुपर्छ भन्न थाले । म भने यात्रा पुरा गर्ने पक्षमा थिए । करिब २ घण्टा जतिपछि तीन जानै साथीहरु फर्किने भने म भने एक्लै भएपनि माथि जाने भए ।
करिब तीन बजेको समयमा म भने खोङ्ग्माको लागी अगाडी बढ्ने भए । त्यतिकैमा एक जना भाई म पनि माथि जाने हो भनेर आइपुगे । उनि थिए लक्ष्मण राई (२०) । उनि धराने टोलिको सामान बोकेर त्यहाँ पुगेका रैछन । एक्लै भएपनि जान्छु भनेको म अब झन् साथि पाए । ढुङ्गा खोज्दा देउता मिले झैँ भो मलाइ त । उनलाई पनि म साथि भए । बिस्तारै जाउ दाजुभाई भनेर हिडियो । खुट्टा भने साह्रो दुखिरहेको थियो । तर उनले मलाई खोङ्ग्मासम्मको २ घण्टे यात्रामा कतै छोडेर गएनन् । लक्ष्मण भाई प्रति आभारी छु । यात्रामा आफ्नैले भन्दा नचिनेका साथिभाईले पनि ठुलो सहयोग गर्ने रैछन भन्ने कुरा मैले यो यात्रामा बुझेको छु, राम्रो संग ।
उकालो बाटोमा हिँडिरहेका थियौं, त्यसमाथि पानी परेपछि झनै कठिन भयो। तै पनि बास बस्न अर्को क्याम्प नपुगी सुख थिएन। डाँडैडाँडा चिमालको जंगल हुँदै निस्कियौं। त्यो दिनको यात्रा निकै उकालो भएर होला शरीर गलेर लुत्रुक्क भएको थियो। साँझ ढल्किँदै गइरहेको थियो। त्यसमाथि पानी परिरहेको थियो। बाटोबाहेक वरिपरि केही देखिएको थिएन ।
करिब ५ बजे हामि खोङ्ग्मा पुग्यौं । ३५ सय अल्टिच्युडमा रहेको खोङ्ग्मामा शिव भ्यु होटल एण्ड लजमा बास बसियो । म भन्दा अघि नै त्यहाँ त ठुलो संख्या पदयात्रीको भिड लागिसकेको रहेछ । म कोठाको व्यवस्था गरिदिन होटल साउनि (खोङ्ग्मा साइली)लाई अनुरोध गरे र झोला राखिवरी कपडा फेरेर तल डाइनिङ्गमा हिटरको तातो लिन आए ।
केहिबेर कुराकानी गरेपछि खाना खाइयो र सुतियो । त्यही भेट भयो दार्जलिङको टोलि ल्याउनुहुने पूर्ण ट्राभलर दाई र टोलि, झापाली/तेह्रथुम टोलि, धराने टोलि र भारतको एक जोडी ।
यात्राको चौथो दिन अर्थात असोज ३० गते खोङ्ग्मामा बिहानै ५ बजे उठियो । आकाशमा तारा थियो र आकाश खुल्ने तयारी गरिरहेको थियो । ६ बजे तिर पुरे खुल्यो आकाश अनि घाम पनि झुल्कियो । बिहानको खाजा अण्डा चाउचाउ र चिया खाएर करिब ७ बजे हामि अगाडी बढ्यौ ।
दार्जलिङको टोलिसंग हिडेको म उनीहरुलाई पछि पारेर करिब ८ बजे तिर भ्यु टावरमा पुगे । त्यहाँ पुगेर मज्जाको हिमाल देख्न पाइयो । मकालु, नेपाउँ लगाएतका हिमाल अगाडी फोटो/भिडिओ खिचाएर र अगाडी बढे ।
झापाली/तेह्रथुम टोलि म भन्दा अघि नै बाटो लाग्नु भएको थियो । अरु बाँकी टोलिलाई छोडेर म भने एक्लै अगाडी उकालो लागे । केहिबेरमा सानो पोखरी देखियो । निकै सुन्दर पोखरीमा त्यहाँ अद्भुत मौसम देखे । छिनभरमै घाम लाग्ने र छिनभरमै कुहिरोले पोखरी नै नदेखिने गरेर ढाक्ने हुँदो रहेछ। प्रकृतिको अचम्मको लिला हेर्दै त्यहाँबाट उकालो लागे ।
खाना खाने ठाउँको उचाइ ४२ सय २० मिटर थियो, ठूलडाडा । जसलाई सिप्तुम्ला पास भनेर पनि चिनिन्छ । जहाँ म साढे १० बजे पुगे । र, पुर्व वडासदस्य निलम बिस्ट दिदिको पराजुली होटललाई तात्तातो खाना खाए । जहाँ म भन्दा अघि झापाली/तेह्रथुम टोलिका तीन सदस्य पुगिसकेका थिए ।
टोलिमा हुनुहुन्थ्यो मुकुम नेम्वाङ(झापा हाल काठमाडौ), नेत्र नेम्वाङ (झापा) र बसन्त सिंह खापुङ (तेह्रथुम) । अनि त्यहाँबाट हामी सहयात्री बन्यौ । खाना खाई बाटो लाग्यौं साढे ११ बजे । केहिबेर ओरालो झरेपछि ठूला पोखरी आयो तर कुहिरोले गर्दा केहि देख्न पाएनौ ।
ठाडो ओरालोबाटो झर्नु पर्दा खुट्टा साह्रो दुखिरहेको थियो । करिब सवा १ बजे हामि दोबाटे पुग्यौ र कालो कफी खायौ । केहीबेर बिस्राम गरी अघि बढियो ।
त्यहाँबाट अझै ठाडो ओरालो बाटो हुँदै बरूण नदीको किनारमा झर्यौं। त्यसपछि बरूणको तिरैतिर पहिरोको बाटो हिँडेर फेमाताङ पुग्यौं। साढे १ बजे दोबाटेबाट हिडेको हामि साढे ४ बजे मात्रै फेमाताङ पुगेका थियौ । त्यहाँ चिया खाएर अघि बढ्यौ ।
नेटवर्क टिप्दैन त्यसैले गर्दा फोन लाग्दैन थियो । फोनको नेटवर्क र इन्टरनेट बिनाको जीवन पनि गज्जबकै आनन्दै भईराखेको थियो । एउटा क्याम्पदेखि अर्को क्याम्प पुग्न चार-पाँच घण्टा हिँड्नुपर्थ्यो। फेमाताङबाट वरूण नदी किनार हुँदै डेढ घण्टामा याङ्लेखर्क पुग्यौं । पानिले रुझेर हामि साढे ६ बजे पुगेका थियौ ।
बरूण नदिले फराकिलो मैदान बनाएको थियो। त्यहाँबाट शिवधाराको पहाड नजिकै देखिने रहेछ। जति माथि गयो त्यति होटलहरू व्यवस्थित रहेको अनुभव गर्यौं। त्यहाँ आगोबाट बल्ने हिटरको व्यवस्था समेत रहेछ। फराकिलो डाइनिङ हल नै न्यानो हुने भएकाले वरिपरि बसेर आगो ताप्यौं। भिजेका कपडाहरू सुकायौं।
त्यहाँ १४ जना अमेरिकी टोलि आइपुगेका थिए । उनिहरु बेस क्याम्प पुगेर तल झर्दै रैछन । हामि पनि खाना खाएर त्यसरात त्यहि होटलमा सुत्यौ । तर त्यहाँ निन्द्रा परेन ।
शिवाधारा र पार्वती गुफा यात्रा
हाम्रो यात्राको पाचौँ दिन अर्थात कार्तिक १ गते बिहान आकास धुम्मिएको थियो । बिहान ७ बजे शिवधारा र पार्वती गुफा दर्शनका लागि निस्कियौं । त्यहाँ हामि संग बुटवलका कमल पाण्डे दम्पति संगै जाने भए । र, ६ जना टोलि अघि बढ्यौ । करिब ५० मिनेटमा हामि बरूण नदीको किनारैकिनार हिँडेर खोला पारी रहेको गोठ (नेहखर्क) भन्ने ठाउँमा पुग्यौ ।
त्यहाँ हाम्रो झोला राख्यौँ र शिवधारा जाने बाटोतर्फ लाग्यौं । त्यो बाटो पहरैपहराको उकालो रहेछ। लगातार तीन ठाउँमा पहरामा किला गाडेर साङ्लो पनि झुण्डाइएको थियो। त्यसमै झुण्डिएर जानुपर्थ्यो। बाटो हेर्दा नै आङ जिरिङ्ग हुन्थ्यो । हामि संग गएका बुटवलका दुई जना भने दोस्रो साङ्गलोबाट माथि जान सकेनन र फर्किए । त्यसपछि हामी ४ जना मात्रै अघि बढ्यौ । हामीले बाटोमा हिउँ पनि भेट्यौ । हामि हेलिप्याड नजिक पुग्दा हिउँ पर्न थालेको थियो ।
नेहखर्कबाट लगातार ठाडो भिरको खतरनाक उकालो बाटो २ घण्टा हिँडेपछि शिवधारा पुग्यौं। पहाडको टुप्पोमा गोलाकार पहराको बीच भागबाट पानीको धारा चक्राकार बनोटमा झर्ने रहेछ । सुरुमा पुग्दा पानि देख्न मुस्किल परेको थियो तर पछोइ नुहाउने बेला पानीको झरना नै खस्यो हामि माथि । त्यो दृश्य एकदमै अद्भुत लाग्यो। त्यसलाई शिवको जटाबाट झरेको पानी भनेर पौराणिक कहानीसँग जोडिएको पनि किम्बदन्ती रहेछ। त्यसैले त्यँहा विशेष गरी जनैपूर्णिमामा दर्शनार्थीहरू आउने रहेछन्। शेर्पा जातिहरु भने साउन महिना भरी नै जाने स्थानियले बताएका थिए । शिवधारा जाने बाटो निकै खतरनाक रहेकाले स्थानीय गाइड लिएर जानुपर्ने देखिन्छ । हामि भने गाइड बिनै गएका थियौ । गाइड भएका रुट र त्यहाँको अवस्था बारे जानकारी पाउन सकिन्छ ।
शिवधारामा स्नान गरी पुजापाठ गर्न हामीले साढे १ घण्टा त्यहाँ समय लियौं । त्यसपछि त्यहाँबाट आधा घण्टा पर रहेको पार्वती गुफा अवलोकन गर्यौं । कुहिरो लागेर अन्य दृश्य भने हेर्न पाएनौ । त्यसपछि हामि पार्वती गुफाबाट तल झर्यो । झरना पनि उस्तै कठिन बाटो । करिब दुई घण्टा हिडेर हामि नेहखर्क आइपुग्यौ । अनि नेहाखर्कबाट तेस्रो बाटो साढे १ घण्टा हिडेर करिब ४ बजेको समयमा हामि तादोसा पुग्यौ । झरीमा रुझेर पुगेका हामि आगोको हिटर छेउ बसिहाल्यौ । अनि त्यसरातको बास त्यही भयो । खाना खाइवरी त्यहि सुत्यौ ।
यात्राको छैठौ दिन अर्थात कार्तिक २ गते तादोसामा रातभर हिउँ परेछ । बिहान उठेर हेर्दा वरपरको पहाडमा त हिउँ नै हिउँ । त्यहाँ बिहानको खाजा ओट्स र चिया खाएर मकालु बेस क्याम्पमा होटल भएकी साउनि मिग्मा डिकी शेर्पा (१९)संग हामि करिब साढे ७ बजे बेस क्याम्पको यात्रामा अघि बढ्यौ ।
करिब डेढ घण्टाको हिउँ यात्रापछि हामि ९ बजे लाङ्मले पुग्यौं । चारैतिर हिमालले घेरिएको सानो उपत्यका रहेछ लाङ्मले । त्यहाँ याक होटलमा कालो कफी खायौं । हिजो शिवधारा जान नसकेका बुटवलका पाण्डे दम्पति पनि भेटियो र संगै बेसक्याम्प तर्फ लाग्यौ । त्यहाँबाट पनि हिउँ थियो स्यार्सोङ्गको आधा बाटो नपुग्दासम्म । लाङ्मलेबाट ९:४५ बजेको हिडेको हामि ठिक १२ बजे स्यार्सोङ्ग पुग्यौ । होटल मिग्मा कै रैछ त्यहाँ त्यो पनि एउटा मात्रै । उनैले खाना बनाइन र हामि खाना खायौं ।
त्यहाँ धेरै बेर बस्यौ हामि कहिले घाम लाग्ने र हिमाल खुल्ने हुन्थ्यो कहिले पुरै छोपिन्थ्यो । तस्विर/भिडिओ खिच्दै चिया खादै समय बितायौ, हामीले । त्यहाँबाट साढे २ बजे हिडेर एक घण्टामा मकालु बेस क्याम्प पुग्यौ हामि । बेस क्याम्प पुग्दा ३ बजेर ३३ मिनेट गएको थियो ।
मकालु बेस क्याम्प आउनै लाग्दा थोरै उकालो रहेछ। त्यहाँबाट दुईसय मिटर तल झरेपछि बेसक्याम्प पुगिन्छ । मौसमले हामीलाई साथ दिएको थियो। दिउँसोको घाममा मकालु हिमाल टलक्क टल्किएर बसेको थियो । धित मेटुन्जेल हिमालको सुन्दरता हेरेर दंग पर्यौं । तर चिसो हावाले धेरैबेर बाहिर बस्ने दिएन ।
भित्र गएर आगोको हिटर नजिक बसिहाल्यौ । अनि खानपिन सुरु भईहाल्यो । हाम्रो यात्रालाई साथ दिएको बरूण नदीको मुहान पनि मकालु हिमालको फेदीमा रहेछ जसलाई स्थानीयले सेती पोखरी (दुधपोखरी) भन्दा रहेछन्।
हाम्रो यात्राको गन्तव्यविन्दु पनि त्यही थियो। जुन सपनाको संसार थियो। त्यहाँ पुगेपछि हावाको वेगमा बगेको कुहिरोजस्तो मनै फुरूरू भयो। त्यस्तो अवर्णित सुन्दर दृश्यलाई मन र क्यामरामा कैद गर्यौं। त्यहाँ पुग्दा जुन आनन्दको अनुभूति भएको थियो, त्यो क्षण अलौकिक थियो। खुट्टा दुखेर शरीर गली थकित भएको थियो। मन रमाएको थियो ।
बेसक्याम्प पुगेको राति हामि बसेको होटलमा व्यापक नाचगान र रमाइलो गरियो । बेसक्याम्पमा बसेका धरानको टोलि, बनेपाको टोलि देखि भारी बोक्ने स्थानीय शेर्पा र गाइडसम्म हामि बसेको होटलमा आएर राति अबेरसम्म नाचगानमा रमाए ।
त्यसपछि हामि पनि खाना खाईवरी सुत्यौ । तर उचाईमा पुगेर होला निन्द्रा पर्न भने गाह्रो हुने रैछ । हाम्रो टोलिका नेत्र दाजुलाई अरुलाई भन्दा अलिक बढी नै असहज भएछ ।
यात्राको सातौ दिन अर्थात असोज ३ गते बिहान साढे ७ बजे मकालु बेस क्याम्पमा खाजा खाएर हामि अझै माथि भ्यु पोइण्ट तिर लाग्यौ । हिजो राति गाह्रो भएर नेत्र दाजु नजाने हुनु भो । त्यसैले मुकुम दाजु, बसन्त दाजु र म दाजुभाई अघि बढ्यौ ।
भ्यु पोइण्ट जाने बाटो ठ्याक्कै यहि भनेर नरैछ । आफै खोज्दै हिड्नुपर्ने हुन्छ । हामीले पनि त्यसै गर्यौ । करिन साढे २ घण्टामा भ्यु पोइण्ट भन्दा धेरै माथि पोखरी भएको ठाउँमा पो पुगेछौ हामि त । त्यहाँ केहिबेर फोटो, भिडिओ खिचेर हामि केहि तल हिउँ नै हिउँ भएको भ्यु पोइण्ट आइपुग्यौ ।
त्यसपछि तल बेस क्याम्प झर्यो करिब २ घण्टा लगाएर । झर्न पनि उस्तै समस्या । बल्लतल्ल बेस क्याम्प आइपुग्यौ हामि । अनि खाना खाएर त्यहाँबाट करिब २ बजे दिउँसो तल झर्यौ ।
यो ट्रेक निकै कठिन मध्यको एक हो । तपाई संग अन्य ट्रेक अनुभव छैन भने यहाँ जानुपूर्व सोच्नुपर्छ । विचार पुर्याएर मात्रै यो ट्रेक जानुहोला । ट्रेकमा अझै धेरै टि-हाउस र बाटो चिनाउने बोर्ड राख्न आवश्यक देखिन्छ । स्थानीय सरकारले सो बारे विशेष ध्यान दिनु जरुरी छ । साथै बिजुलीको पनि व्यवस्था गर्न सकेन देशका अन्य ट्रेकिङ्ग रुट जस्तै विस्तारमा सहज हुनेथियो।
Beta feature
Beta feature