दमौली । तनहुँमा पालिका बाटै राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । स्थानीय तहबाटै परिचयपत्र वितरण थालिएपछि जिल्ला प्रशासन कार्यालय तनहुँमा आउनुपर्ने झन्झटबाट सर्वसाधारण मुक्त भएका छन् ।
तनहुँमा दश वटा स्थानिय तह रहेको छ । जस मध्ये ८ वटा पालिकाले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिसकेको छ भने दुई वटा पालिकामा बाँकी रहेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी जीतबहादुर भण्डारीका अनुसार जिल्लाका आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकाले पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेका छन् ।
त्यस्तै व्यास नगरपालिका र भानु नगरपालिकामा भने राष्ट्रिय परिचयपत्र वितरणको काम सुरु भएको छैन । सहायक प्रजिअ भण्डारीका अनुसार अबको एक सात भित्र बाँकी रहेको दुई पालिका पनि राष्ट्रिय परिचयपत्र वितरण सुरु हुनेछ ।
जिल्ला प्रशासन कार्यालय तनहुँमा करिब ५५ हजारभन्दा बढी परिचयपत्र आएको सहायक प्रजिअ भण्डारीले जानकारी दिए । उनले भने ‘४० हजार जति हामीले पालिकामा पठाइसकेका छौं अब १५ हजार जति बाँकी छ ।’
तनहुँको स्थानीय तहहरु मध्ये पहिलो पटक आँबुखैरेनी गाउँपालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमको शुभारम्भ गरेको थियो । परिचयपत्र प्राप्त भएका नागरिकहरु मध्ये ज्येष्ठ नागरिक वडा नं.२ निवासी वर्ष ८१ का रेशमराज भट्टराईलाई परिचयपत्र वितरण गरेर कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले राष्ट्रिय परिचयपत्र वितरण शुभारम्भ गरेका थिए ।
ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले नागरिकहरूले आफ्नो स्थानीय सरकार र वडा कार्यालयहरूबाटै सेवा प्राप्त गर्न सकुन् भन्ने उद्धेश्यले पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेका बताए ।
जिल्लाको देवघाट गाउँपालिकाले राष्ट्रिय परिचयपत्र वितरण कार्य निरन्तर रहने हुँदा गाउँपालिकाले लाभग्राहीहरुलाई सूचनामा प्रकाशित सूचीमा आफ्नो नामावली हेरी नामावलीमा रहेका लाभग्राहीहरु कार्ड लिन गाउँ कार्यपालिकाको कार्यालयको पञ्जीकरण शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ ।