यातायात व्यवसायलाई यात्रुमैत्री बनाउन नगरप्रमुख न्यौपानेको आग्रह

Byखवरबाटिका

१९ पुष २०८१, शुक्रबार २०:०२ १९ पुष २०८१, शुक्रबार २०:०२ १९ पुष २०८१, शुक्रबार २०:०२

दमौली । गुणस्तरीय र आरामदायी सेवा प्रदान गरी यात्रुलाई राहत दिन व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले सबै यातायात व्यवसायीलाई आग्रह गरेका छन् ।

शुक्रबार दमौलीमा सम्पन्न लोकतान्त्रिक यातायात व्यवसायी संघ तनहुँको प्रथम अधिवेशनमा बोल्दै नगरप्रमुख न्यौपानेले यात्रुलाई सुरक्षित तवरले यात्रा गराउने दायित्व समेत यातायात व्यवसायीको जिम्मेवारी रहेकोले यात्रुको भावना अनुसार व्यवसाय गर्न आग्रह गरेका हुन् ।

‘यात्रुलाई कसरी आरामदायी सेवा दिन सकिन्छ भन्नेमा पछिल्लो समय स्वयं व्यवसायीहरु समेत अग्रसर भएको हामीले महशुस गरेका छौं,’ नगर प्रमुख न्यौपानेले भने, ‘लाखौं खर्चिएर संचालन गरिएको सवारीसाधन संचालन गर्दा चालक र सहचालक पनि उत्तिकै जिम्मेवार बन्नुपर्छ ।’

यातायात व्यवसायमा भएको अस्वस्थ प्रतिस्पर्धालाई कम गर्न प्रहरी, यात्रु, चालक सहचालक र स्वयं यातायात व्यवसायी गम्भिर बन्नुपर्नेमा नगरप्रमुख न्यौपानेले जोड दिए । कार्यक्रममा लोकतान्त्रिक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका प्रमुख महेश थापाले आफूहरु स्वस्थ, भरपर्दो र गुणस्तरीय यातायात व्यवसायमा अग्रसर रहँदै आएको बताए ।

उक्त अधिवेशनले शुक्रबार नै यातायात व्यवसायी रघुनाथ खनालको नेतृत्वमा लोकतान्त्रिक यातायात व्यवसायी संघको नयाँ कार्य समिति समेत चयन गरेको छ । संघको उपाध्यक्षमा अम्मर दुरा, सचिवमा बसन्त घर्ती, कोषाध्यक्षमा विवेक सापकोटा र सदस्यहरुमा बलराम अधिकारी, सुरेन्द्र घर्ती र मदन वानियाँ चयन भएका हुन् । यातायात व्यवसायलाई यात्रुमैत्री बनाउने गरी आफूहरु अग्रसर भई संस्थागत विकासमा जुट्ने नव निर्वाचित अध्यक्ष खनालले बताए ।

अधिवेशनमा नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनाल, संघका केन्द्रिय सदस्य भानुभक्त बराल, संघका गण्डकी प्रदेशका उपाध्यक्ष विक्रम थापा, ट्रेड युनियन कांग्रेस तनहुँका अध्यक्ष कृष्णबहादुर केसी, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपि अधिकारी, संघका तदर्थ समिति अध्यक्ष निरबहादुर ठकुरी लगायतले यात्रुको मनोभावना अनुसार समर्पित यातायात व्यवसायमा जुट्न आग्रह गरेका थिए ।

अधिवेशनमा संस्थामा योगदान दिने व्यक्तिहरु र नेपाल पत्रकार महासंघ तनहुँ शाखालाई समेत सम्मान गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *