दमौली । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा ५ लाख रुपैयाँ पुर्याउने गरी काम भइरहेको बताए । शनिबार तनहुँको दमौलीमा नेपाल पत्रकार महासंघ तनहुँद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पौडेलले आफू सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउन लागिपरेको बताए ।
मन्त्री पौडेलले भने ‘वृहत प्रतिवेदन हामिले बनाएको समितिले दिई सकेको छ । १ लाखबाट ५ लाख पुर्याउने गरी स्रोतको कुरा समेत आइसकेको छ ।’ उक्त प्रतिवेदन कार्यन्वयनको लागि प्रधानमन्त्रीलाई बुझाउने र मन्त्रीपरिषदले पास गरेर लागु गर्ने चरणमा जाने गरि एकीकृत बिमा प्रणालीको विकास गर्ने मन्त्री पौडेलले बताए ।
उनले थपे ‘नागरिकको योगदानमा आधारित बिमा प्रणालीको विकास गर्ने, छिरलिएर स्वास्थ्य क्षेत्रमा गरिएको खर्चलाई एकद्वार प्रणालीबाट एकीकृत बिमा प्रणाली विकास गर्ने गरी प्रतिवेदन तयार भएको र लागु गर्ने योजना छ ।’
अबको १५ दिनभित्र औषधिको मूल्य निर्धारण हुने मन्त्री पौडेलले जानकारी दिए । उनले भने , ‘औषधिमा शुसासन कायम गर्दै व्यवस्थापनको विषयलाई एकदमै प्रभावकारी ढंगले चलाइनेछ ।’ अस्पताल व्यवस्थापनको लागी समेत विभिन्न निर्णय गरेर काम गरिरहेको मन्त्री पौडेलको भनाई थियो ।
पत्रकारिताको विकासले मात्रै पारदर्शितालाई सुनिश्चित गर्न सक्ने मन्त्री पौडेलले बताए । उनले भने ‘पत्रकारिताको विकासले मात्रै भ्रष्टाचार न्यूनीकरण गरेर सुशासन सुनिश्चित गर्न सक्छ ।’
सामाजिक संजालको प्रयोग बढ्दा मेनस्ट्रिमका मिडिया संचलानमा कठिनाई बढेको मन्त्री पौडेलको भनाई थियो ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको स्तरोन्नतीको सन्दर्भमा आफूले सक्दो प्रयास गरिरहेको बताए । ‘पहिला पूर्वाधारमा मात्रै सहयोग आएको थियो अहिले उपकरणमा ध्यान दिएका छौं’, उनले भने ।
भारत सरकारसँग अस्पताललाई ३०० शैय्याको बनाउन सहयोगको लागि अपलि गरेको र केही दिनमा सम्झौता हुने उनको भनाइ थियो । भारतको स्वास्थ्य मन्त्रालयमा सम्झौताको फाइल पुगिसकेको मन्त्री पौडेलले बताए । तनहुँका स्वास्थ्य संस्थालाई सुदृढ गराउनतर्फ आफ्नो ध्यान केन्द्रित भइरहेको उनले सुनाए ।
दमौली अस्पतालको लागी जग्गाको विषयमा केहि दिन भित्रै पास हुने र ५० बेडको अस्पताल बन्ने प्रक्रिया अगाडी बढ्ने मन्त्री पौडेलले बताए । उनले अगाडी थपे ‘अब आउने बजेटमा दमौली अस्पतालको लागी सुविधासम्पन्न भवन निर्माण लागी प्रयास गर्नेछु ।’
सरकारले ल्याउन लागेका अध्यादेशमा कुनै विवादित विषय नरहेको मन्त्री पौडेलले दाबी गरेका छन् । सुशासन कायम र लगानीमैत्री वातावरण बनाउन अध्यादेश ल्याउने निर्णय भएको दाबी गरेका हुन् ।
‘कसरी शुसासन कायम गर्न सकिन्छ ? कसरी अन्तर्राष्ट्रिय लगानी भित्र्याउन सकिन्छ ? लगानीमैत्री वातावरण बनाउन, कसरी स्वास्थ्य सेवालाई व्यवस्थित गर्न सकिन्छ यी आदि विषय जोडिएका छन्’, उनले भने, ‘छिट्टै संसदको अधिवेशन आह्वान गरेर संसदमार्फत ऐनहरु विधेयकहरु निर्माण गर्ने । कानुन निर्माण गर्ने पक्रियामा यो सरकार एकदमै गतिशिल ढंगमा अगाडि बढ्नेछ ।’