भानु । राष्ट्रिय बाख्रा दिवस २०८१ काे अवसरमा तनहुँकाे भानुमा स्थानीय तथा उन्नत बाेका प्रदर्शनी प्रतियोगिता हुने भएकाे छ । “पाेसिलाे आहार, बाख्रा पालनमा गुणस्तर सुधार ” भन्ने नाराका साथ माघ ४ गते उक्त प्रदर्शनी हुन लागेकाे हाे ।
भानु नगरपालिका पशुपंछी तथा मत्स्य विकास शाखा, राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दिपुर, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ, बरभञ्ज्याङ बाख्रा पालक समूह र नेपाल व्यवशायीक बाख्रा पालक महासंघको आयाेजनामा भानु ५ काे स्याउली पसलमा स्थानीय तथा उन्नत बाेका प्रदर्शनी हुन लागेकाे भानु नगरपालिकाका पशुपंछी तथा मत्स्य बिकास शाखाका अमित ढुँगानाले जानकारी दिए ।
प्रदर्शनीमा प्रथम हुने बाेका धनीलाई स्थानीय जात तर्फ १० हजार, उन्नत जात तर्फ १० हजार र द्वितीय हुनेलाई ८ / ८ हजार, तृतीय हुनेलाई ६ / ६ हजार र सान्त्वना हुनेलाई ४ / ४ हजार रुपैंया पुरस्कारको ब्यवस्था गरिएकाे भानु नगरपालिकाका पशुपंछी तथा मत्स्य बिकास शाखाका प्रमुख एवं पशु विकास अधिकृत सुशील ऐरीले बताए।
बिहान १० बजेबाट शुरु हुने कार्यक्रममा बाेका प्रदर्शनी, बाख्राकाे उत्पादन परिकार प्रदर्शनी, बाख्राकाे सुधारिएकाे मलकाे प्रदर्शनी, मनाेरञ्जन तथा साँस्कृतिक कार्यक्रम र पुरस्कार वितरण कार्यक्रम रहेकाे नगरपालिकाका प्रशासकीय अधिकृत सुनिल पाण्डेले जानकारी दिए ।
भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीले यस्ता प्रदर्शनीले पशुपालन तर्फ आकर्षित गराउन सकिने भन्दै भानु नगरपालिकालाई मासुमा आत्मनिर्भर बन्न सहयाेग पुग्ने बताए ।
नगरपालिकाकी उप-प्रमुख उमा गाेतामेले नगरपालिकाले किसानका लागि आवश्यक पर्ने प्राविधिक एवं अन्य सहयाेगकाे कार्यक्रम पनि संचलन गर्न जाेड दिई रहेकाे जानकारी दिईन । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गाैतम भण्डारीले नगरपालिकाले आगामी आर्थिक वर्षकाे बजेटमा कृषिलाई प्राथमिकता दिनुपर्ने बताए ।