काठमाडौं । राइस कुकर बनाउने मिस्त्रीलाई ब्ल्याकमेल गरी रकम असुली गर्न खोज्दा एक महिला पक्राउ परेकी छन् ।
रत्ननगर ८ चितवन स्थायी ठेगाना भई काठमाडौं, कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्य पक्राउ परेकी हुन् । उनले त्यहीँ राइस कुकर मर्मत गर्ने तराईमूलका एक पुरुषलाई आफ्नो शारीरिक सौन्दर्यताले ‘लठ्ठ’ पार्दै रकम ठगी गर्न खोजेको प्रहरीले बताएको छ ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले बुधबार पक्राउ गरेको हो । आपराधिक लाभसम्बन्धी मुद्दामा थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको अनुसन्धान कार्यालयका प्रवक्ता एसएसपी काजीकुमार आचार्यले बताए ।
पीडित पुरुषलाई आफ्नो प्रभावमा पारेकी आचार्यले विभिन्न रेष्टुरेन्ट तथा मनोरञ्जनस्थलमा लगेर आफूतर्फ आकर्षित पारेको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए ।
निकट सम्बन्ध भएपछि उनले १० लाख रूपैयाँ माग गरिन् । पीडितले त्यत्तिका रकम दिन नसक्ने भएपछि पहिलो चरणमा ३ लाखको चेक र अरु रकम एकसाताभित्र दिनुपर्ने माग गरिन् ।
ती महिलाले मिस्त्रीलाई राइस कुकर बनाउने बहानामा पटकपटक मोबाइलमा सम्पर्क गरी माग गरेअनुसारको रकम नदिए जबरजस्ती करणी मुद्दामा फसाइदिने तथा प्रहरी र परिवारलाई पनि भनिदिने भन्दै बार्गेनिङ गरेको एसपी आचार्यले बताए ।
बुधबार प्रहरीले उनलाई नियन्त्रणमा लिदा चेक लेनदेन भइरहेको थियो । उनको साथबाट उनका नाममा जारी भएको नबिल बैंकको चेक र एप्पल कम्पनीको आइफोन बरामद भएको छ ।