दमौली । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा तनहुँको भानु नगरपालिका जिल्लाकै उत्कृष्ट पालिका बनेको छ । आयोगले विभिन्न १७ वटा सूचक राखेर १०० पूर्णाङ्कमा गरेको कार्यसम्पादन मूल्याकंनमा भानु नगरपालिकाले जिल्लाको दश स्थानीय तहमध्ये ७१.४ अंक ल्याउँदै जिल्लाकै सबैभन्दा उत्कृष्ट पालिका बनेको हो । भानु नगरपालिकाको प्रमुख नेपाली कांग्रेसबाट निर्वाचित आनन्द राज त्रिपाठी छन् ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले भर्खरै सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन अनुसार तनहुँका दश स्थानीय तहमध्ये भानु नगरपालिका ७१.४ अंक प्राप्त गर्दै जिल्लाको उत्कृष्ट बन्न सफल भएको हो ।
तनहुँ जिल्लामा ४ वटा नगरपालिका र ६ वटा गाउँपालिका रहेको छ । यस्तै भिमाद नगरपालिकाले ६८.४ अंक प्राप्त गर्दै जिल्लामा दोस्रो भएको छ । म्याग्दे गाउँपालिकाले ५९.५ अंक पाएको छ । व्यास नगरपालिकाले ५६.४ अंक प्राप्त गरेको छ । यस्तै ऋषिङ्ग गाउँपालिका ५६.३ अंक प्राप्त गरेको छ ।
त्यस्तैगरी जिल्लाको आँबुखैरेनी गाउँपालिकाले ५६ अंक पाएको छ । शुक्लागण्डकी नगरपालिकाले ५२.४ अंक पाएको छ । देवघाट गाउँपालिकाले ५०.७ अंक पाएको छ भने बन्दीपुर गाउँपालिकाले ४९.८ अंक पाएको छ । घिरिङ्ग गाउँपालिकाले ४३.२ अंक पाएको छ ।
आगामी आर्थिक वर्ष २०८२–०८३ मा संघीय सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदान (कार्यसम्पादनमा आधारित) अनुदान वृद्धि भएर जानेछ ।
आयोगले विभिन्न १७ वटा सूचकको आधारमा मूल्याङ्कन गर्दा नगरपालिका अगाडि आएको हो । स्थानीय सरकारको कार्यसम्पादन गर्न प्रयोग गरिएका सुचकहरुमा गाउँ कार्यपालिका/ नगर कार्यपालिकाले २०८१ असार १० गतेभित्र आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभा / नगरसभामा पेश गरे/नगरेको, पालिकाले आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभाबाट २०८१ असार मसान्तभित्र पारित गरे/नगरेको, स्थानीय तहले आर्थिक वर्ष २०८०/८१ मा घर जग्गा रजिस्ट्रेशन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रुपमा प्रदेश सञ्चित कोषमा जम्मा गरे/नगरेको, स्थानीय तहले आ.व.२०८२ / ८३ को आय व्यय प्रक्षेपण गरिएको तथ्याङ्क सहितको विवरण २०८१ पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे/नगरेको, स्थानीय तहले आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनको वार्षिक समिक्षा गरी तत्सम्बन्धी विवरण २०८१ कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, आर्थिक वर्ष २०८०/८१ को राजश्व संकलनको प्रक्षेपित लक्ष्य रु., आर्थिक वर्ष २०८०/८१ को यथार्थ राजश्व संकलन रकम रु, आर्थिक वर्ष २०७९/८० को यथार्थ राजश्व संकलन रकम रु, आ.व २०८०/८१ मा कुल विनियोजित रकम रू. हजार, आ.व २०८०/८१ मा कुल खर्च रकम रू. हजार, आ.व २०८०/८१ मा कुल पूँजिगत विनियोजित रकम रू. हजार, आ.व २०८०/८१ मा कुल पूँजिगत खर्च रकम रू. हजार, आर्थिक वर्ष २०७९/८० मा कायम भएको बेरुजु रकम रू. हजार, आर्थिक वर्ष २०७९/८० को कुल लेखापरीक्षण भएको रकम रू. हजार, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) को प्रयोग गरे/नगरेको, स्थानीय तहले आवधिक योजना तर्जुमा गरे/नगरेको, शैक्षिक शत्र २०८१ मा कक्षा १ देखि ८ सम्म ५ देखि १२ वर्ष उमेर समुहका विद्यार्थी खुद भर्ना दर, शैक्षिक शत्र २०८० मा कक्षा ८ मा रहेका विद्यार्थी संख्या, शैक्षिक शत्र २०८१ मा कक्षा ९ मा रहेका विद्यार्थी संख्या, शैक्षिक शत्र २०८० मा सामुदायिक विद्यालयबाट कक्षा १० को परिक्षामा सहभागी कुल विद्यार्थी संख्या, शैक्षिक शत्र २०८० मा सामुदायिक विद्यालयबाट कक्षा १० को परिक्षामा कम्तीमा “डी” वा सो भन्दा उच्च ग्रेडसहित उतिर्ण विद्यार्थी संख्या, आर्थिक वर्ष २०८०/८१ मा अनुमानित गर्भवति महिलाको संख्या, आर्थिक वर्ष २०८०/८१ मा ४ पटक गर्भ जाँच गर्ने महिलाको संख्या, आर्थिक वर्ष २०८०/८१ संस्थागत स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्या, आर्थिक वर्ष २०८०/८१ मा २४ महिनासम्मका बालबालिकाको अनुमानित संख्या, आर्थिक वर्ष २०८०/८१ मा पुर्ण खोप पाएका बालबालिकाको संख्या र आयोगले तयार गरेको विद्युतीय अनलाइन पोर्टलमा कार्य सम्पादन सूचक सम्बन्धी विवरण तोकिएको अवधिमा प्रविष्टि गरे/नगरेको लगायतका आधारमा अनलाइन पोर्टलबाट अपलोड गरी सोही आधारमा अङ्क प्राप्त गर्ने प्रावधान छ ।
आयोगले हरेक वर्ष गर्ने प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गरेको हो । आयोगले विशेष गरेर लेखा प्रणाली र आर्थिक प्रणालीसँग जोडिएर मूल्यांकन गरी नतिजा प्रकाशित गर्दै आएको छ ।
Link :