किरण श्रेष्ठ, दमौली । हिमाली क्षेत्र भनेपछि जाउ-जाउँ लाग्ने त पक्कै पनि धेरैलाई होला । तर, त्यहाँ पुग्न भोग्नुपर्ने अप्ठ्यारा र समयले गर्दा सबैले आफ्नो चाहना पुरा गर्न सक्दैनन् । पदयात्रा त्यसमाथि हिमाली क्षेत्रको, सहज भने पक्कै हुँदैन । अवस्था जस्तोसुकै भएपनि जीवनमा एकचोटी अन्नपूर्ण आधार शिविरसम्म पुग्ने सपना थियो, मेरो ।

हिमाल आरोहणको इतिहासमा नै जेठो हिमालका रुपमा परिचय बनाएको छ, अन्नपूर्ण हिमालले। यो हिमाल यस क्षेत्रको पदयात्रा पर्यटनका क्षेत्रमा पनि उत्तिकै आकर्षक मानिन्छ। अन्नपूर्ण पर्यटकीय क्षेत्रको अन्नपूर्ण आधार शिविर पदमार्ग विश्वका १० उत्कृष्ट पदमार्ग मध्ये एक हो ।

गएको दशैँ टिकाको भोलिपल्टै मकालु आधार शिविर (४८७० मि.) पुगेर ११ दिने पदयात्रा गरेकाले आफु अब जुनसुकै पदयात्राको लागी तयार रहेको आत्मविश्वास थियो । पहिलेदेखि नै सामाजिक संजालमा तस्विर र भिडिओ देखिरहेको अन्नपूर्ण बेस क्याम्प (एबीसी) ४ हजार १३० मिटर, यसपाली पुगेर आउने निर्णय अनुसार माघ २७ गते अन्नपूर्ण आधार शिविरको यात्रामा निस्किए म ।

यो यात्रामा म संगै हुनुहुथ्यो दमौलीकी बिन्दु गुरुङ दिदि र साथमा उहाँका दुई भाई सुक बहादुर गुरुङ(गोरे) र सुवास गुरुङ । हामि सबैको गतव्य एउटै, ‘अन्नपूर्ण आधार शिविर’।

यात्राको सुरुवात दमौलीबाट माघ २७ गते बिहान साढे ५ बजे हुन्छ । दमौली-पोखराको माइक्रोमा हाम्रो टोलि ७ बजे पोखराको पृथ्वी चोक पुग्छौ । अनि पृथ्वीचोकबाट विङ्गर चडेर ‘हरिचोक’ पुग्यौं । हरिचोक, त्यो ठाउँ हो जहाँबाट हामिले ‘अन्नपूर्ण आधार शिविर’ जाने सडक संजालको अन्तिम ठाउँसम्मको गाडि पाउछौं ।

अनि त्यहि भेट भयो थप तीन जना साथिहरु मनिष गुरुङ, सुरज गुरुङ र विशाल श्रेष्ठ । उनिहरु पनि ‘अन्नपूर्ण आधार शिविर’ नै पुग्ने भनेर हरिचोक आइपुगेका थिए । अनि त्यहाँबाट हामि ७ जनाको एउटा समूह बन्यो । काउन्टरमा पैसा तिरेर हामि ७ जनाको टोलि स्कार्पियोको छतमा झोला राखेर यात्रा सुरु गर्यौ ।

पोखराको हरिचोकबाट सिधै ‘झिनु’ पुग्ने सडक मर्मत भईराखेकाले हामिले ‘घान्द्रुक’ हुँदै ‘झिनु’ सम्मको यात्रा तय गर्नुपर्यो । पोखराको हरिचोकबाट साढे ७ बजे गुडेको स्कार्पियोले हामिलाई नयाँपुल, विरेठाटि हुँदै घान्द्रुक नजिकैको बतासेडाँडा २ घण्टामा पुर्यायो । साढे ९ बजे त्यहाँबाट हामीले आधा घण्टा घान्द्रुक बसपार्कसम्म पैदलयात्रा गर्यौ । १० बजे घान्द्रुक बसपार्क पुगेर हामिले ‘झिनु’सम्म जीप बुक गर्यौ । ७ जनाको समुह भएकाले हामिले सहजै जीप पायौं । कम या धेरै भएको खण्डमा अरुलाई कुर्नुपर्थ्यो ।

घान्द्रुक बसपार्कबाट १० बजे चढेको जीपले ४० मिनेट मै हामिलाई ‘झिनु’ पुलसम्म पुराइदियो । त्यसपछि सुरु भयो वास्तविक पदयात्रा । पुलछेउ कै एक होटलमा हामिले खाजा खाइवरी साढे ११ बजे लामो झोलुङ्गे पुलमा केहि फोटो खिचेर, पुल तरेर हामि झिनुबाट सिधै उकालो पहाड चढन थाल्यौं ।

धेरै जसो भागमा ढुङ्गाका सिढि छन् भने कतै-कतै अलि बिग्रिएको छ, बाटो । उकालो चढेर झिनुको डाँडामा पुगेर तलतिर हेर्दा लाग्छ कसरी हिडियो यति धेरै उकालो? त्यसपछि आउँछ छुम्रुङ। माथि डाँडाबाट हेर्दा छुम्रुङ असाध्यै राम्रो देखिन्छ। गाउँको बीचबाट हिड्ने बाटो, ढुङ्गा हालेका घरको छाना अनि सरसफाई ।

पर्यटकीय सिजनमा बाटोमा पर्यटकको भीड छिचोल्न कतिपय अवस्थामा रोकिनपर्ने क्षेत्रको छुम्रुङ गाउँ शान्त थियो। फाट्टफुट्ट पर्यटक देखिन्थे। साँच्चै छुम्रुङ गाउँ मलाई अति नै मनपर्यो । त्यहाँको सरसफाइ देख्दा हामीले आफ्नो गाउँ यसरी नै किन सफासुग्घर राख्न सक्दैनौं ? भन्ने प्रश्न बारबार आइरहन्छ। त्यसको लागि खासै मेहनत त गर्नु पर्दैन तर हामीले सरसफाइको संस्कार नै बसाल्न सकेनौं। घान्द्रुक र छुम्रुङबाट केही सिकौं त्यो पनि नि:शुल्क!

छुम्रुङ गाउँको आँखैअगाडि हिउँचुली हिमाल छ। दाहिनेतिर माछापुच्छ्रे र हिउँचुलीपारि अन्नपूर्ण देखिने मनोरम दृष्य अनि बाक्लो गुरूङ बस्ती।

सवा १ बजे म छुम्रुङ पुगिसकेको थिए, हाम्रो खाना खाने ठाउँ थियो, छुम्रुङ गेष्ट हाउस । जहाँ पहिले नै बिन्दु दिदिले खाना अर्डर गरिसक्नु भएको थियो, फोन मार्फत । ७ जनाको टोलिमा तीन जना झिनु मै खाना खाएर आउने भएकाले केहि ढिला हिडेका थिए । सुक बहादुर र सुवास छुम्रुङ नजिकैसम्म म संगै थिए । तर छुम्रुङ गाउँ पुग्नु अघि म अघि बढे र खाना खाने होटलमा गएर बसे तर उनीहरु धेरैबेर हुँदासम्म आएनन तर धेरै पछाडी हुनुभएको बिन्दु दिदि एक्लै सवा २ बजे तिर आइपुग्नुभयो । अनि दिदि र मैले खाना खायौं । तर दुई जना साथिहरु देखिएनन । झिनुमा खाना खाएर हिडेका मनिष, सुरज र विशाल आइसके तर सुकबहादुर र सुवास आउदैनन । एकैछिन त तनाव भयो । पछि थाहा भयो की उनीहरु केहिबेर अघि नै छुम्रुङको चेक पोष्टमा नाम दर्ता गरेर तल गईसकेका रैछन ।

खाना खाएर साढे २ बजे छुम्रुङलाई छोड्दै ओरालो झरेपछि नदि आउँछ अनि त्यसपछि फेरी उकालो चढेपछि आउँछ ‘लोअर सिनुवा’ । एक घण्टाको हिडाईपछि साढे ३ बजे लोअर सिनुवा पुगियो अनि त्यसको एक घण्टामा साढे ४ बजे ‘अप्पर सिनुवा’ पुगे । म एक्लै सुरुमा ‘अप्पर सिनुवा’ पुगेपछि एकछिनमा बिन्दु दिदिलाई फोन गरे, जतिबेला उहाँहरु निक्कै पछाडी हुनुहुन्थ्यो । समय छ दिदि, बेम्बो नै पुगौं क्या हो ? मैले फोनमा बिन्दु दिदिलाई भने । दिदिले पनि हुन्छ हिड्दै गर, हामि ३ जना पछाडि आउँदै गर्छौ भन्नुभयो ।

त्यसको केहिबेरमा मनिष, सुरज र विशाल पनि अप्पर सिनुवा आइपुगे । अनि, बेम्बोको लागी हाम्रो पाइला अगाडि बढे। बाटोमा बेस क्याम्प जाँदै र आउँदै गरेका स्वदेशी र बिदेशी पर्यटकहरु भेटिन्थ्ये। थकित भएपनि भेटिएपछि एकअर्कालाई गरिने त्यो मुस्कानसहितको नमस्कारले ती थकान सबै मेटिन्थ्ये। त्यहि बेला बुझे मैले एक मुस्कानले मानिसलाई कति प्रेरणा मिल्छ भनेर। अझ पदयात्रामा ‘मुस्कान’ आत्मबलका लागि कम्ता चाँहिदैन।

करिब डेढ घण्टाको हिडाईपछि हामि ६ बजे ‘बेम्बो’ पुग्यौं । साँझ पर्न लागेको बेला ४ जना बेम्बो पुग्यौं तर हाम्रो टोलिको तीन जना भने आइपुगेका थिएनन् । हामिले पहिलो दिनको बास ट्रेकिङ गेष्ट हाउसमा बस्यौं । हामि पुगेको एक घण्टापछि ७ बजे बिन्दु दिदि, सुक बहादुर र सुवास पनि आइपुगे । खाना खाएर छिट्टै सुतिहाल्यौ हामि ।

दोस्रो दिन माघ २८ गते, बिहानको खाजा खाएर ७:४० बजे बेम्बोबाट हिडेको हामि १ घण्टामै ‘दोभान’ पुग्यौं । यो खण्डको बाटो भने सहज नै थियो । मलाई यो ट्रेकमा एकदम मन परेको ठाउँ हो ‘दोभान’ । दोभानमा केहि तस्विर र भिडिओ खिचेर अघि बढ्यो हाम्रा पाइला । दोभानबाट ९ बजे हिडेको हामि ११ बजे मात्रै ‘हिमालय’ पुग्यौं । बाटो एक घण्टाको मात्रै भएपनि हामिलाई भने दुई घण्टा लाग्यो । कारण हो, हामिले यो बीचमा लिएको आधा घण्टाको कफि ब्रेक । अनि, दोभान र हिमालयको बीचमा पर्ने १०८ पूजनीयम १०८ धारा र बराहको मन्दिर । उक्त स्थानबाट माथि मासु प्रतिवन्ध रहेको छ । हामिले तस्विर र भिडिओ खिच्यौ । हामिले एक बंगलादेशी जोडी र दुई चाइनिजलाई पनि सोही ठाउँमा भेटेका थियौं ।

हामिले हिमालयमा खाना खायौं र १२:२० बजे ‘देउराली’को लागी अघि बढ्यौ । हामि हिडेको केहि बेरमै हिउँ नै पर्न थाल्यो । आहा ! हिउँ । यसरी हिउँ परेपछि हिमाल हेर्न हिडेको म अत्यन्तै हर्षित बने । म संगै मेरा टोलि पनि! देउराली पुग्दा १:४० बजिसकेको थियो । देउरालीमा हामि ४ जना मात्रै पुगेका थियौ, दोस्रो दिन पनि बिन्दु दिदि, सुक बहादुर र सुवास पछाडि नै थिए । आकाशमा कालो बादल मडारिन थाल्यौ । हिउँ झनझन बाक्लो पर्दै थियो ।

हिउँको रमाइलोसंगै हामी हिंडिरहयौं। धेरै हिउँ परेकाले हिड्नलाई भने असहज भएको थियो। ओडार भन्ने ठाउँबाट देउरालीसम्म पुग्ने बाटोमा भने हिउँपहिरो जाँदो रहेछ। हामीलाई अन्य व्यक्तिहरुले भन्दै थिए यहाँ त हिउँपहिरो जान सक्छ, अलि छिट्टो छिट्टो हिड्नु।

हामीले कुर्ने विचार गरेतापनि परिस्थितिले गर्दा हामी देउरालीबाट पनि अगाडी बढ्यौं। बेस क्याम्प पुग्ने उत्साह, हिउँको चिसो अनि खुट्टाको अलि अलि दुखाई । धेरै हिउँ परेकोले हिड्न गाह्रो थियो। बाटो पुरै हिउँले छोपिएको। हिउँमाथिबाट बनेको बाटो हिड्नुपर्ने। तर हिउँले छप्पकै छोपेको हिमाल, अनि आइरहेको चिसो सिरेटो त्यसले छुट्टै उर्जा दिथ्र्यो। त्यहाँबाट हामी खोलाको किनारै किनार अगाडि बढ्यौं। देउरालीबाट अगाडी बढ्दाको बाटो भने त्यति राम्रो छैन्।

त्यसपछि हामी ४ बजे पुग्यौं, ‘माछापुच्छ्रे बेस क्याम्प’। माछापुच्छ्रे बेस क्याम्प ३ हजार ७ सय मिटरको उचाइमा छ। त्यहाँ पुग्दा मलाई लागेको थियो कोही साच्चिकै घुम्ने योजना बनाउदै छन् भने अन्नपूर्ण बेस क्याम्पको यात्रा राम्रो हुन सक्छ । माछापुच्छ्रे बेस क्याम्पबाट करिब २ घण्टा हिडेपछि अन्नपूर्ण बेस क्याम्प पुगिदो रहेछ। तर हाम्रो तीन जना साथीहरु आइनपुगेको र अत्याधिक हिउँ परेकाले दोस्रो दिनको बास माछापुच्छ्रे बेस क्याम्प (एमबीसी) कै फिष्टेल गेष्ट हाउसमा बस्ने निर्णय गर्यौं । हामि ४ जनाले तातो चाउचाउको सुप खायौं ।

हाम्रो टोलिका तीन जनालाई हिउँले सार्है गाह्रो बनाएछ । उनीहरु साँझ साढे ६ बजे मात्रै आइपुगे । हिउँ धेरै परेकाले त्यहाँको हाइड्रोमा समस्या आएर बिजुली पनि गयो । त्यसदिन हामीले छिट्टै खाना खाएर सुत्यौ । अन्नपूर्ण आधार शिविरको प्रत्येक ठाउँमा आफ्नो लागी सानो पावरहाउस संचालन गरी बिजुलीको व्यवस्था गरिएको रहेछ ।

एनसेलको नेटवर्क माथि पुगेपछि नचल्ने रैछ । नेपाल टेलिकमको भने सिमले काम गर्ने रैछ । टावर नै राखेको छ एनटिसीले त । वर्ल्डलिङ्कले भने अन्नपूर्ण आधार शिविरसम्मै इन्टरनेट पुर्याएको छ । यो भने राम्रो पक्ष हो । जसको कारण घर परिवार सम्म खबर पुर्याउन सहज हुन्छ ।

तेस्रो दिन माघ २९ गते, बिहान ६ बजे उठेर हामी सुर्य उदाएको हेर्न निस्कियौं। चारैतिर हिमालले घेरेको, हिमाललाई हिउँले छपक्कै छोपेको अनि हिमालको टुप्पोमा बिहानी सुर्यको किरण वर्णन गर्ने कुनै शब्द नै छैन्। हामीले एमबिसी बाटै सूर्योदयको मज्जा लियौं ।

बाक्लो हिउँ परेकाले हामि बिहानको नास्ता खाएर ८ बजे मात्रै ६ जना माछापुच्छ्रे बेस क्याम्प (एमबीसी)बाट अघि बढ्यौ, अन्नपूर्ण आधार शिविर तर्फ । सुवास भने गाह्रो होला जस्तो छ माथि एबीसी जान्न भन्यो । अन्नपूर्ण आधार शिविर जाने र फर्किनेको राम्रै आउजाउ थियो । हिउँ परेर बाटो साघुरो भएकाले बाटोको एक साइडमा उभिएर बाटो छोडदै हिड्नु परेको थियो ।

जति जति हामी माथि पुग्थ्यौं, त्यति नै हामीहरु उत्साहित हुँदै थियौं । हिउँको बाटोलाई छिचोल्दै हामी अगाडी बढ्यौं। झण्डै २ घण्टा हिडेपछि १० बजे अन्नपूर्ण बेस क्याम्प लेखिएको ठाउँमा पुग्यौं। त्यहाँ पुग्दा मेरो खुशीको सिमा नै थिएन् । बिहानको मौसम असाध्यै अनुकूल रह्यो। अन्नपूर्ण आधार शिविरको वरिपरि धित मर्ने गरी अवलोकन गर्न पायौं।

गिरीश गिरीले लेख्नुभएको नेपथ्य ब्याण्डको नेपथ्य : लोकप्रिय यात्राको अन्तरङ्ग किताब पनि बोकेर गएको थिए । अन्नपूर्ण आधार शिविर पुगेर किताब संगै फोटो, भिडिओ पनि खिचे । युवाहरुको फेसबुक ग्रुप एमआरआर र अन्नपूर्ण बेस क्याम्पको टिसर्ट लगाएर केहि थान तस्विर खिचाए । अन्य, टन्नै फोटो र भिडिओ खिचेपछि हामी बेसक्याम्पबाट फर्कियौं। अनि, यसरी पुरा गरे मैले मेरा एउटा रमाइलो सपना ।

समय मिलाएर पदयात्रामा निस्कने मेरो आनिबानी प्रति कतिपय मेरा मित्रहरूले पदयात्राको रुचि अनि समयको व्यवस्थापनबारे जिज्ञासा राख्नुहुन्छ।

संसारका अति व्यस्त उच्चपदस्थ अधिकारीहरू र ठूला-ठूला व्यवसायीहरू त फुर्सद निकाली यात्रामा निस्कन्छन् भने हामीहरूले फुर्सद नपाउनु भन्ने कुरा त बहानामात्र हो। स्वास्थ्यका दृष्टिकोणबाट पनि पदयात्रा जीवनको लागि अति आवश्यक हो भन्ने कुराको महसुस आफैं गर्नुपर्दछ।

यो ट्रेक ५ दिने भएपनि मैले भने ४ दिनमै पुरा गरे । माघ २७ गते बिहानै घर (दमौली)बाट हिडेको म ३० गते साँझ ६ बजे दमौली आइपुगेको थिए । यदि तपाई पनि एबिसी जाने सोचमा हुनुहुन्छ भने ५ दिनको योजना बनाउनुस, यात्रा सहज हुनेछ । तीन दिन जानको लागी र दुई दिन फर्किन समय लाग्दछ । नेपाल टेलिकमको सिम कार्ड बोक्न नबिर्सिनु होला ।

पदयात्राका लागि विश्वप्रख्यात अन्नपूर्ण आधार शिविरमा चर्को ध्वनि निकाल्ने यन्त्र(स्पिकर) लैजान निषेध छ । चर्को आवाजले शान्त हिमाली क्षेत्रमा पदयात्रा गरिरहेका पर्यटकको एकाग्रता खल्बिलिने र यात्रामा बाधा पुग्ने भएकाले उक्त निर्णय गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहरमुक्त बनाउन सिसा र प्लाष्टिकका बोतल पनि लैजान प्रतिबन्ध छ ।

सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै यस अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको थियो।

समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम आरोहणको सफलता पछि सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए। अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र क्रमिक रुपमा पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको हो।

अन्नपूर्ण हिमालको आधार शिविर अन्नपूर्ण गाउँपालिका-११ मा पर्छ । यहाँबाट अन्नपूर्ण, धौलागिरी, मनास्लु, गंगापूर्ण लगायत हिमशृंखलालाई नजिकै निहाल्न सकिन्छ । विदेशी पर्यटकले यो गन्तव्यस्थललाई ‘अन्नपूर्ण सेन्च्युरी’को नामले पनि चिन्छन् । विशेषगरी अन्नपूर्ण बेस क्याम्पबाट देखिने सूर्योदयले पर्यटकलाई लोभ्याउँछ ।

  • Beta

Beta feature

Leave a Reply

Your email address will not be published. Required fields are marked *