दमौली । पछिल्लो समय विभिन्न रोगबाट पीडित भएकाहरुको उपचारार्थ सहयोग गर्दै आएको तनहुँ समाज हङकङले आइतबार तीन जनालाई आर्थिक सहयोग गरेको छ ।
विभिन्न रोगबाट पीडित भई उपचार गराउदै आएका तीन जनालाई समाजले ४ लाख ८५ हजार ८ सय रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
केही समयदेखि ट्युमरबाट पीडित बनेकी तनहुँको भानु नगरपालिका–१० की तुलकुमारी गुरुङको उपचारका लागि समाजले एक लाख ७४ हजार २ सय ३३ रुपैयाँ आर्थिक सहयोग गरेको छ । त्यस्तै ब्लड क्यान्सरबाट पीडित भएका घिरिङ–४ का थमन सिंह राना र मृगौला पीडित ऋषिङ–५का पुर्णलाल नेपाली दुबैलाई बराबर रु.एक लाख ५५ हजार ७ सय ८३ नगद सहयोग गरिएको हो ।
समाजका अध्यक्ष तेज गुरुङको संयोजकत्वमा संकलित सहयोग रकम आज दमौलीमा एक कार्यक्रमका बीच तनहुँ समाज हङकङका पूर्व अध्यक्ष भीमराज गुरुङले पीडितका परिवारलाई हस्तान्तरण गरेका हुन् । उक्त रकम विभिन्न शिलशिलामा हङकङ पुगेका ५१ जना तनहुँगेसँग समन्वय गरी संकलन गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।
रकम हस्तान्तरण गर्दै समाजका पूर्व अध्यक्ष गुरुङले तनहुँ समाज हङकङ स्थापनाकाल देखि नै समाजिक काममा सक्रिय हुदै आएको बताए । हङकङमा रहेका दाजुभाइ दिदीबहीनीहरुले आफ्नो कमाइबाटै क्षमता अनुसार सहयोग गर्दै आएकाले रकम सदुपयोग गर्न उनले पीडित परिवारलाई अनुरोध समेत गरे ।
शिक्षा र स्वास्थ्य क्षेत्रलाई सहयोग गरि तनहुँमा समाजिक कामको थालनी गरेको समाजले विभिन्न रोगबाट पीडित भएका २१ जना जनालाई सहयोग गरिसकेको गुरुङले जानकारी दिए ।
त्यस्तै समाजले भुकम्पपछिको पूननिर्माण,बाढी पहिरो जस्ता दैवि प्रकोपबाट पीडितलाई सहयोग गर्नुका साथसाथै तनहुँको शिक्षा, स्वास्थ्य र खानेपानी, सञ्चार सम्बन्धि पूर्वाधार विकास तथा पत्रकारिता प्रवद्र्धनमा समेत सहयोग गर्दै आएको कार्यक्रम संयोजक प्रदीप काफ्लेले बताए ।