किरण श्रेष्ठ, दमौली (तनहुँ) । हिमालको काखैमा पुगेर चारैतिर हिमाल हेर्ने, रमाउने र तस्विर/भिडिओ कैद गर्ने बानी अझ भनौ लत बसिसक्यो, मलाई ।
कुनै यात्रा गन्तव्यको लागी मात्रै गरिन्छ भने कुनै यात्रा मनैदेखिको चहानाले तय गरिन्छ । यसअघि ग्रुपमा हिड्ने गरेतापनि यो पालि एक्लै हिड्ने निधो गरे, यात्रामा साथि भेटिहालिन्छ! म एक्लो पक्कै हुन्न भन्ने कुरा यसअघिको ट्रेकिङका अनुभवले सिकाएको थियो । सोही अनुरुप मैले भूस्वर्गको यात्रा, अर्थात लाङटाङ उपत्यका पदयात्रा फागुनको दोस्रो साता सुरु गरे ।
मानिस प्रकृतिको रसस्वादनमा लठ्ठिएपछि कसले छेक्ने! पैसा खर्च गरेर, अनेक दुःख हण्डर खाएर भएपनि आफ्नै देश, संस्कृति, रहनसहन र भूगोल हेर्न, बुझ्न।
पछिल्लो समय ट्रेकिङ जानेहरूको मुख्य रोजाइको गन्तव्यमध्ये पर्छ, लाङटाङ पदमार्ग । घरबाट हिँडेको ५ दिनमा सहजै हिमालको काखमा पुगेर घरै फर्किन सकिने हुँदा धेरैको रोजाइमा लाङटाङ पदमार्ग पर्छ।
फागुन १२ गते बिहानै हिड्ने तयारी स्वरुप फागुन ११ गते नै आवश्यक तर सकेसम्म कम सामान सहितको झोला तयार पारेको थिए । यसपाली सडकबाटो आफ्नो मोटरसाइकलमा तय गर्न सर्भिसिङ पनि अघिल्लो दिन नै गरिसकेको थिए ।
लाङटाङ हिमाल दृश्यावलोकन गर्ने सपनासँगै फागुन १२ गते बिहानै साढे ५ बजे म घर (दमौली)बाट मोटरसाइकलमा रसुवाको स्याफ्रुबेँसीसम्मको लागी अघि बढे ।
पृथ्वी राजमार्ग हुँदै मुग्लिन, मलेखु अनि गल्छी पुगे । गल्छीबाट देब्रे लाग्नुपर्छ रसुवा जानको लागी सिधै गए काठमाडौ पुगिन्छ । गल्छी हुँदै बट्टार अनि बेत्रावती, बेतिनी, धारापानी, धैबुङ हुँदै कालिकास्थान, राम्चे हुँदै करिब १२ बजे धुन्चे चेकपोष्ट पुगे । त्यहाँ नेपाली सेनाले चेकजाँच संगै लाङटाङ राष्ट्रिय निकुञ्ज प्रवेशका लागी एक सय रुपैयाँ टिकट काट्ने रहेछ । नेपालीको लागी एक सय अन्यको अलि बढी छ है ।
बाटो कतै ढलान, कतै कच्ची, कतै पक्की। तन मन सिरिङ्ग हुने बाटो। त्यहाँको काम सकेर केहि अघि बढेपछि पुगिन्छ, धुन्चे बजार । दमौलीबाट हिँडेको करिब साढे ६ घण्टामा धुन्चे (१९६० मि) पुगे । धुन्चे सानो चिटिक्कको बजार रहेछ । गोसाइकुण्ड जानेहरु यहिबाट पदयात्रा तय गर्छन तर म भने यसपटक प्रकृतिसँग रमाउन लाङटाङ, ‘क्यानजिन रि’ले बोलाइरहेकोले उतै लागे । धुन्चेबाट एक घन्टामा स्याफ्रुबेंसी (१५०३ मि) पुगे । बाटो ठिकै थियो, स्याफ्रुबेंसी पुग्नेबेलामा भने बिग्रिएको रहेछ । स्याफ्रुबेंसी रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकामा पर्ने रहेछ।
दिउँसोको करिब १ बजेतिर ट्रेकिङको सुरुवाती बिन्दु स्याफ्रुबेँसीमा पुगेपछि मोटरसाइकल राख्ने ठाउँ खोजेर सुरक्षित रुपमा राखे । जसको भाडा दिनगन्ती रुपमा फर्केपछि तिर्नुपर्ने थियो । करिब ४५ मिनेट बसेर खाजा खाइवरी स्याफ्रुबेँसीबाट करिब १:४५ बजे कच्ची सडकको बाटो हुँदै अघि बढे ।
बास बस्ने ठाउँमा सकेसम्म उज्यालो मै पुग्नु थियो, त्यसैले स्याफ्रुबेंसीमा अलमल नगरी हिड्न सुरु गरे । त्यहाँ बाटोमा दुई जना भरिया दाईहरु भेटिनु भयो । उहाँहरु आज सामान लिएर ‘ब्याम्बो’ पुग्ने गरी हिड्नुभएको रहेछ । बाटामा लाङटाङ खोला जलविद्युत् आयोजनाले २० मेगावाट विद्युतका लागि बाटो बनाएको रहेछ। मोटरबाटो भए पनि मोटरचाहिँ नचल्ने। आयोजनाका गाडी मात्र चल्ने रहेछन्।
लाङटाङ खोलासँगै बाटो हिँड्छ, बाटोसँगै खोला, हामी उसैलाई पछ्याउँदै, उसकै संगीत सुन्दै हिँड्छौं। लाङटाङ पदयात्राको सहयात्री हो, लाङटाङ खोला। सुरूआतका केही घण्टा त खोलाको छेवैमा पानीलाई छुने गरी नै हिँडिने रहेछ। खोलालाई देब्रे पारेर निरन्तर हिँडियो।
लाङटाङ खोलाको किनारै किनार सडकबाटो हुँदै करिब एक घण्टामा हाइड्रोपावर नजिकै रहेको दोमेन पुगे । त्यहाँ एउटा होटल रहेछ ।
त्यसपछि एकैछिन उकालो चढेपछि आधा घन्टामा बुद्धमन्त्र लेखिएका लुङता फहराइरहेको पहिरो (पैरो) भन्ने ठाउँमा पुगे । यो पहिरोमा दुई वटा होटल रहेछन्। जाँदा-आउँदा पदयात्रीहरू तथा सहयोगीहरू सुस्ताउने र चिया चमेना गर्ने ठाउँ रहेछ।
पहिरो करिब सवा एक घण्टामा वनैवनको बाटो ब्याम्बो (१९७० मि) पुगे । ब्याम्बो पुग्दा साढे ४ बजेको थियो । समय त अझै थियो तर पानि पर्ला जस्तो गर्यो । आकाश हेरे अनि माथि ठाडो उकालो पनि । अनि सोधे अब अर्को ठाउँ पुग्न कति समय लाग्छ यहाँबाट ? होटल तिब्बत गेष्ट हाउसकी साउजी र साउनीले अझै साढे दुई घण्टा जति उकालो हिडे रिम्चे अनि त्यहाँबाट २० मिनेट हिडेपछि लामा होटल पुग्ने जानकारी दिए ।
यात्राको पहिलो दिन अनि मौसम गडबड हुने सङ्केत संगै उकालो बाटो त्यो पनि रातिमा एक्लै हिड्नु पर्ने देखेपछि पहिलो दिनको बास ब्याम्बोको होटल तिब्बत गेष्ट हाउसमा नै बस्ने निर्णय गरे । गतिलो हिँडाइका साथ अघि बढे पहिलो दिन नै स्याफ्रुबेँसीबाट लामा होटल पुग्न सकिने रहेछ ।
बाँस जातिकै निगालोको घारी जताततै भएकाले यस ठाउँलाई निगालोघारी नभनी अंग्रेजी नाम ब्याम्बोले प्रसिद्धी पाएको रहेछ। यही निगालो भएका कारण यो क्षेत्र रेड पाण्डाको बासस्थान पनि रहेछ। यहाँ तीन वटा होटल थिए शेर्पा, ब्याम्बो र तिब्बत ।
अरू त अरू बिजुली बत्ती छैन, सोलारको धिपिधिपी उज्यालोमा बस्न पर्छ यहाँ । स्याफ्रुबाट यत्ति नजिक पनि सञ्चार सुविधा टेलिफोन सेवा राम्रो छैन। टावर देखाउँछ तर डाटा चल्दैन । मोबाइल चार्ज गर्न कठिन छ । वाइफाइ चाहिँ चलाउने सुविधा छ । खाना खाएर यसो नेट चलाउनुपर्यो भनेको वाइफाई त हिडेछ ! सोलारको चार्ज सकिएछ के रातिमा । त्यसपछी एकैछिन हिमाली हिटरमा तातो भएर कोठा तिर लागे सुत्न । भोलि बिहानै उठेर फेरी हिड्नु जो बाँकी छ ।
दोस्रो दिन फागुन १३ गते बिहान ६ बजे उठे । होटलमा तयार भएको बाक्लो रोटि, आलुको तरकारी र चिया खाएर ७ बजे ब्याम्बोबाट रिम्चेको लागी अगाडी बढे ।
रिम्चे (२२२३ मिटर) पुग्नुअघि एउटा भीर आउछ जहाँ एउटा ढुङ्गामा टाँगिएको फोटो देखिन्छ । २०७२ सालको भूकम्पले लाङटाङ पदयात्रामा निस्केका इजरायली युवाको भूकम्पसँगै ओइरिएको पहिरोमा ढुङ्गाले किचेर यहीँ मृत्यु भएको रहेछ । यही ठाउँमा उनको फोटो र उनले प्रयोग गरेको नक्साबाटै छेउको ढुङ्गोमा राखिएको थियो। जहाँ उनकाबारे लेखिएको छ ।
करिब सवा दुई घण्टाको उकालो हिडाईपछि ९ बजेर १० मिनेटमा रिम्चे पुगे । रिम्चेमा दुई वटा होटल छन् । त्यहाँबाट करिब १५ मिनेट तेस्रो बाटो हिडेपछि पुगियो लामा होटल (२४१०मि) । नझुक्किनुहोला, लामा होटल ठाउँको नाउँ हो ।
यहाँ ८/१० वटा होटल रहेछन् । पहिले लामा भन्ने व्यक्तिले यता चौंरी पालेर खर्क बनाएर होटल चलाएकाले यस ठाउँलाई उनकै सम्झनामा ‘लामा होटल’ भनिएको रहेछ। त्यहाँ करिब २० मिनेट जति थकाई मारे । त्यही भेट भयो नेपाली सेनाको एक टोलि संग । उहाँहरु सरुवा भएर लाङटाङ भ्याली जान आउनुभएको रहेछ ।
त्यहाँबाट लगभग संगसंगै जसो हिडियो । १० बजे लामा होटलबाट हिडेको मैले ११ बजे शान्त भएर बगेको लाङटाङ खोलालाई बाटो छेउमै भेटे । जहाँ लाङटाङ खोलालाई भेटे त्यो ठाउँ रिभर साइड (२७६९ मि.) रहेछ। त्यहाँ एउटामात्र होटल छ । अलिक अघि बढे ५-१० मिनेटमा उडल्याण्ड भन्ने अर्को होटल पनि छ है । खान, बस्न राम्रै छ त्यहाँ पनि ।
बिहानदेखि हिडेको हिडै गरेकाले कतै बसुम अनि कफी खाम भईरहेको थियो, त्यसैले रिभरसाइड कटेपछि जंगलको बीच तिरै आधा घण्टा कफी ब्रेक लिए । बाटोमा भेटिएका खच्चरका बथानलाई बाटो दिँदै, विदेशी पर्यटकहरूलाई नमस्कार गर्दै उकालो चढ्न थाले ।
ठाडो उकालो चढेर दिउँसोको सवा एक बजे घोडा तवेला भन्ने ठाउँ पुगे । साढे ११ बजे रिभरसाइडबाट हिडेको मलाई १ घण्टा ४५ मिनेट लाग्यो ‘घोडा तवेला’ पुग्न । त्यहाँ धुन्चेमा काटेको पर्मिट देखाउनुपर्ने रहेछ । त्यहाँ इन्ट्रीको काम सकेर म भने खाना खान लागे । जहाँ दुई वटा होटल मात्रै छन ।
थकित ज्यान अनि खाना खाने समय काटेकाले सिधै बातोबाट अरुको फोनबाट फोन गरी अर्डर गरेको खाना खान लभ्ली गेष्ट हाउस तिर गए । अनि केहिबेर मै खान खाए र आराम गरे । यो ट्रेक भरी मनपरेको खाना यहि होटलमा खान पाए । सार्है मन परेकाले फर्किदा समेत यहीं होटलमा खान खाएको छु मैले । त्यसैले यो पदयात्रामा जाँदा ‘लभ्ली गेष्ट हाउस’को खाना चाहिँ नछुटाउनुस है!
करिब ५५ मिनेट घोडा तबेलामा बिताएपछि २ बजेर १० मिनेटमा थाङसापको लागी अघि बढे । घोडा तबेलाबाट भने बाटो अलि सम्म खाले छ, तलको जस्तो ठाडो उकालो कम छ । करिब ३ बजेर ५ मिनेटमा थाङसाप (३२०० मि) गाउँ पुगे । यहाँ २/३ वटा होटल रहेछन्। त्यहाँ मैले ‘सी-बक-थर्न’ मनतातो जुस खाए । जसको १५० प्रति कप पर्ने रैछ । स्थानीयका अनुसार यो त्यहाँको लागी ‘इनर्जी जुस’ रहेछ ।
त्यहाँ करिब १५ मिनेट ब्रेक गरेर पुन: अघि बढे, करिब आधा घण्टामा च्याम्की भन्ने ठाउँ आयो । जतिबेला घडीमा ३ बजेर ५० मिनेट गएको थियो । त्यसको १ घण्टा पछि गुम्बा डाँडा पुगे, जतिबेला ४:५० बजेको थियो ।
लाङटाङ भ्याली पुग्नु अघिको एउटा बस्ती ढुङ्गै ढुङ्गाले पुरिएको देखियो । जुन २०७२ सालको भूकम्पको कारण लाङटाङ हिमालको फेदबाट हिउँ सहितको पहिरो आई सखाप पारेको पुरानो लाङटाङ भ्याली हो । ढुङ्गै ढुङ्गा थियो, मुटु चिसो भयो तर खुट्टा भने लम्काइराखे । भूकम्पमा ज्यान गुमाएका १० जना सैनिकहरूको सम्झनामा एउटा ‘स्मृती स्मारक’ बनाइको रहेछ । जहाँ स्थानीय गाउँका १७५ जना, अन्य नेपाली २६ जना, ३८ जना विदेशी समेतले ज्यान गुमाएको रेकर्ड छ । यो बाहेक अन्यको रेकर्ड भने छैन । लाङटाङ पहिरोका मृतकको सम्झनामा स्थानीय र सरकारले कहींकतै केही बनाएको भने भेटिँदैन ।
लाङटाङ लिरुङको दक्षिणी मोहडाबाट आएको हिमपहिरोले गाँवै सखाप पारेको थियो। खासमा लाङटाङ गुम्बा र यो गाउँ पूरै जोडिएको थियो रे पहिला। अहिले यी दुई बीचमा उराठलाग्दो पहिरो छ। भूकम्पका कारण झन्डै एक किलोमिटर माथिबाट झरेको हिमपहिरोले सुन्दर र जीवन्त लाङटाङ गाउँ पूरै सोत्तर बनाइदियो ।
सो स्थानबाट करिब १५ मिनेट जत्तिमा नयाँ ‘लाङटाङ भ्याली’ देखिन थाल्यो । करिब साढे १० घन्टा हिँडेर साढे ५ बजेतिर लाङटाङ भ्याली (३४७५ मि ) पुगे । अनि होटल खोजेर बस्ने तयारीमा लागे । अफ सिजन भएकाले होटल सहजै पाइन्थ्यो । सिजनमा भने पहिले नै बुक गर्नुपर्छ नत्र होटल पाउन मुस्किल हुन्छ, यता । लाङटाङ भ्याली पुरै देखिने गरी सबैभन्दा माथि रहेको माउण्ट कैलाश गेष्ट हाउसमा बसे ।
सफा र सुन्दर छ, लाङटाङ गाउँ । यहाँका होटल पनि निकै सफा छन् । सुविधा सम्पन्न ठाउँ लाग्छ । नुहाउन तातोपानीको व्यवस्था, रुमहरूमा एटेच ट्वाइलेट भएका होटल । विकट ठाउँमा आएर सुविधा पाउँदा पदयात्रीहरूले आनन्दित महसुस गर्नु स्वाभाविक हो ।
विशेष खालको फलामे चिम्नी चुल्हो (हिमाली हिटर)मा दाउरा हालेर आगो सल्काएपछि डाईनिङ तातियो । त्यसकै वरिपरि बसेर तातो खाना खाए । तरकारी भने जुन होटलमा पनि आलुकै पाइने साग अलिअलि मिसाएको। अनि एकैछिन वाइफाई चलाएपछि सुते ।
फागुन १४ गते तेस्रो दिन बिहानीको नास्ता खाएर साढे ७ बजेतिर क्यानजिन गुम्पा (३८५० मि.) तिर अघि बढे । बाटामा पानीबाट चलाइएको माने, छोर्तेन, लुङदार र साना गुम्बा देखिन्छ । लाङटाङबाट जति यता आयो उति रमाइलो भूबनोट। चारैतिर सेताम्मे हिमाल, ढुङ्गैढुङ्गाको अजङ्गका भिराला पहाड, ढुङ्गाकै लामा लामा छोर्तेनहरू, ढुङ्गै छापेका बाटाहरू, ढुङ्गैले ठडिएका घर र गुम्बाहरू ।
लाङटाङ र क्यानजिनको बीचमा पर्ने दुई वटा मुन्दुम (३२१३ मि) ८ बजे र त्यसको १५ मिनेटमा सिन्दुम (३५५५ मि) अनि साढे ९ मा याम्फु पुगे । एउटा गुम्बा खोला र फुस्रा डाँडाहरू भएको ठाउँमा पुगियो। सानो विद्युत परियोजना रहेछ। जसमा पानी ल्याउने नालालाई पनि कपासले बेह्रिएको थियो। नत्र पानी जम्न सक्थ्यो र बिजुली निकाल्न गाह्रो। त्यो पावर हाउस नाघेर अलिकति उकासिएको ढिस्कुरो उक्लिए । टुप्पोमा पुग्दा मनै फुरूङ्ग। ओहो यहाँ पो लुकिबसेको रहेछ क्यान्जिङ अथवा क्यान्जिङ गोम्पा (३८५० मि) भनिने सानो-सानो बस्ती। नीला जस्तापाताले छाएका, झ्यालैझ्याल भएका थुप्रै घरहरू। जाँदै गर्दा कतैबाट पनि नदेखिएको त्यो बस्ती अकस्मात झुल्किँदा मनै हरर भएर आयो। १०:२० मा क्यानजिन गुम्पा पुगेको थिए । त्यहाँ पुगेर होटल याला पिकमा खाना खाए ।
आजको बास यहि बस्ने निर्णय गरे अनि आफ्ना सामान होटलको कोठामा राखेर अब साढे ११ बजे लोअर क्यानजिन रि (४४०० मि.) चढ्न थाले । स्थानीय भाषामा ‘रि’ को अर्थ चुचुरो हुन्छ । कोहि बिहानै पुगेर फर्किदै थिए भने कोहि संगै जादै थिए । कोहि एक्लै, कोही समुहमा । अफ सिजन भएपनि विदेशी र नेपालीको राम्रै उपस्थिति थियो ।
वरिपरि हिमालहरू ट्लकिएका थिए, हीरा जसरी। मन चङ्गा भइहाल्यो। पहाड उक्लिरहेको थिए । मौसम खुलेको थियो । करिब सवा १ बजे लोअर क्यानजिन रि (४४०० मि.) मा पुगे, १ घण्टा ४५ मिनेटको ठाडो उकालो हिडाईपछि ।
पहिला पुग्नेहरू फोटो खिच्दै रहेछन् । आहा! कस्तो सौन्दर्य, चारैतिर कपासका थुप्राजस्ता हिमाल। टुप्पोको सानो थाप्लोमा, ढुङ्गैढुङ्गामाथि बसेर मैले पनि खुसीमा थुप्रै फोटो र भिडिओ खिचें अनि आनन्दको सास फेरेँ। सौभाग्यवश लाङटाङ हिमालको हँसिलो मुहार हेर्न पाए ।
माथिबाट त्यो क्यान्जिङ बस्ती अलौकिक देखिने। करिब पचासदेखि साठी घर त होलान्। गुजमुज्ज परेको। बाँकी उजाड। अलिक तलतिर लाङटाङ खोला। अनि पहरेदारजस्ता विशाल हिमालहरू।
अघाउन्जेल हिमाललाई हेरिसकेर हिमशृङ्खलाहरू क्यामेरामा कैद गरी केन्जिङ री मा सवा एक घण्टा बिताएर २:३० बजे ओरालो झर्न थाले एक घण्टा मै क्यानजिन गोम्पा आइपुगे ।
साढे ३ बजे क्यानजिन गोम्पा आएपुगे पछि १ घण्टा खाजा खाने र आराम गरेर बिताए बास बस्ने ‘होटल याला पिक’मा । त्यसपछि ४:३० बजे क्यानजिन गोम्पाबाट उकालो हिडेर आधा घण्टाको दुरीमा रहेको ग्लेसियर लेक ५ बजे पुगे । यहि तालको कारण क्यानजिन गोम्पा र लाङटाङ भ्यालीमा विजुली छ । लिरुङ्ग ग्लेसियर हाइड्रोपावरको विकासले गर्दा झलमल्ल छन् । उक्त लेक वरीपरी करिब एक घण्टा बिताए । तालको आधा भन्दा बढी भाग जमेको थियो । त्यहाँ साँझको समयमा हुस्सु लाग्ने र खुल्ने भईराख्ने रहेछ । बिहान वा दिउँसो जानु राम्रो हुने देखियो त्यो ठाउँ । तस्विर र भिडिओ खिचेर आधा घण्टामा क्यानजिन गोम्पा आइपुग्दा साढे ६ बजिसकेको थियो ।
होटल आएर केहिबेर हिटर तापेर खाना खाए अनि सुतिहाले । किनभने त्यहाँ वाइफ़ाई चलेको थिएन ।
चौथो दिन अर्थात फागुन १५ गते बिहान होटलमा खाजा खाएर क्याजिन गुम्पामा रहेको एसियाकै सबैभन्दा पुरानो चिज उत्पादन केन्द्र हेर्न गए । प्राकृतिक सुन्दरताका बाबजुद क्यान्जिनको अर्को आकर्षण हो– दुग्ध विकास संस्थानले सञ्चालन गरिरहेको क्यान्जिन चिज प्रशोधन केन्द्र् । स्विस सरकारको सहयोगमा बनेको यो केन्द्र पनि २०७२ सालको भुइँचालोमा ध्वस्त भएको थियो । पुनर्निर्माणपछि ०७५ सालबाट चिज प्रशोधन केन्द्र फेरि सञ्चालनमा आइसकेको छ ।
याकको नौनी, चौंरीको घिउ, छुर्पी र चीज पाइने रहेछ। चिज चाखे र किने पनि । अनि लागे ओरालो । गएकै बाटो तर सम्म र ओरालो भएकाले सवा ७ बजे क्यान्जिन गोम्पाबाट हिडेको म ९ बजे त लाङटाङ भ्याली नै आइपुगेको थिए । अनि सवा ११ बजे घोडातबेला आएर लभ्ली गेष्ट हाउसको मिठो खाना खाए, आराम पनि गरे १ घण्टा बढी । १२:२० मा घोडा तबेलाबाट हिडेको म साढे १ बजे रिभरसाइड अनि २:४० मा लामा होटल अनि ३ बजे रिम्चे आएर रोकिए । रिम्चेमा आधा घण्टा खाजा खादै आराम गरे । रिम्चेबाट साढे बजे हिडेर ५ बजे ब्याम्बो अनि सवा ६ बजे पहिरो आइपुगेर होटल पहिरोमा बास बसे । पहिरो पुग्दा रात परिसकेको थियो। हातमा मोबाइलको लाइट बालेरपुगेको थिए, पहिरो ।
यात्राको पाचौं अर्थात अन्तिम दिन फागुन १६ गतेको बिहान पहिरोको त्यो चिसो वातावरण छाड्न मन थिएन तर यात्रा समाप्तिको समय भएको थियो।
बिहान खाजा खाएर पहिरोबाट ८ बजे अघि बढे साढे ८ बजे दोमेन हुँदै करिब १० बजे स्याफ्रुबेसी आइपुगे । जहाँ मैले मोटरसाइकल राखेको थिए । राखे बापतको भाडा दिएर त्यहाँबाट ११ बजे हिडे । करिब १ घण्टामा धुन्चे आइपुगे, त्यहाँ पुन: चेकजाच भयो । पानि अलि-अलि पर्दै थियों । तर पनि अघि बढिरहे । अनि गल्छी पुग्दा दिउसोको तीन बजिसकेको थियो । त्यसपछि पृथ्वी राजमार्ग हुँदै सवा ७ बजे दमौली अर्थात घर आइपुगे । कहिल्यै बिर्सन नसकिने अविस्मरणीय लाङटाङ, क्यानजिन भ्याली र क्यानजिन रिको सम्झना बोकेर घर फर्किए ।
मरेपछि पाइने स्वर्ग कस्तो छ थाहा छैन तर यो यात्रामा मैले भूस्वर्गै भेट्टाएँ। दुःख त भयो, गाह्रो त भयो तर घरै बसेको भए यो भूस्वर्ग, यो हिमाली जनजीवन, यहाँको संस्कृति, यहाँको भू–बनोट, कहाँ देखिनु।
लाङटाङ खोलाको मोहित पार्ने संगीतमय धून कहाँ सुन्न पाउनू! पैदल हिँड्नु भनेको आफैंले आफैंलाई चिन्नु पनि हो। तपाईं ट्रेकिङ मन पराउनु हुन्छ भने लाङटाङ यात्रा चाहिँ नछुटाउनुस् है। यो ट्रेकिङको लत पनि गजबै हुन्छ बा!
लाङटाङ ट्रेकको सुरुवातदेखि अन्त्यसम्म नछुटिने भनेको लाङटाङ खोलाको साथ हो। लाङटाङ खोलाकै छेउछाउमा दोमनदेखि थाङ्सेपसम्मका ट्रेकिङ पोइन्टसहरूमा होटेलहरू भए पनि बिजुलीको पहुँच छैन। लाङटाङ भ्याली र केन्जिङ गोम्पा भने लाङटाङ लिरुङ्ग ग्लेसियर हाइड्रोपावरको विकासले गर्दा झलमल्ल छन्। सोलारको भरमा पर्यटन व्यवसायलाई धान्नुपर्ने हुँदा लाङटाङ भ्याली र केन्जिङ गोम्पाभन्दा तलका ट्रेकिङ स्टप्सहरूमा सेवासुविधा महङ्गो भएको महसूस हुन्छ।
लाङटाङ ट्रेलमा नेपाली युवाहरूको बाक्लो उपस्थिति देखिन्छ। तर हाइफाइ, शिक्षित देखिने नेपाली युवाहरूले नै लाज पचाएर जहाँ मन लाग्यो त्यहीँ फोहोर फाल्ने कार्यले हाम्रो चेतनाको स्तर निकै कम छ भन्ने बुझाउँछ। राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको सहकार्यमा ठाँउठाउँमा ढुङ्गाले छापेर स्क्वायर बिनहरू तयार गरिएका भए तापनि फोहोरहरू डस्टबिनभन्दा बाहिर फालिएको पदमार्गमा देखिन्छ।
सडक बाटो नहुँदा यहाँ बसोबास गर्नेहरूले दैनिकी असुविधा र महँगीमा गुजार्न बाध्य छन् । खच्चरलाई बोकाएर दुई दिनको हिँडाइपछि बल्ल पुग्ने खाद्यवस्तु महँगो नहोस् पनि कसरी । क्यान्जिन गोम्पादेखि ब्याम्बोसम्मका स्थानीय स्वास्थ्योपचारका लागि स्याफ्रुबेंसीस्थित स्वास्थ्य केन्द्रको भरमा बाँचेका छन् ।
विश्व पर्यटन बजारमा लाङटाङ क्षेत्रले बेग्लै पहिचान बनाएको छ। नेपालको पदयात्रा मार्गमा यो तेस्रो पदयात्रा गन्तव्यका रूपमा चिनिएको छ। रसुवा, नुवाकोट र सिन्धुपाल्चोक तीन जिल्लामा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्ज २०३२ मा स्थापना गरिएको हो। १,७१० वर्ग किमि क्षेत्रमा फैलिएको छ भने ४१० वर्गकिलोमिटर मध्यवर्ती क्षेत्रमा समेटिएको छ। ४६ प्रजातिका स्तनधारी, ३१५ प्रजातिका चरा, ११ प्रजातिका घस्रिने जनावर, ३० प्रजातिका माछा, १० प्रजातिका माकुरा र ५८ प्रजातिका पुतलीलगायत हजारभन्दा बढी प्रजातिका वनस्पति पाइन्छन्।
विश्वमै दुर्लभ रेडपान्डा, हिमचितुवा, बँदेल, हिमालयन कालो भालु, घोरल, लंगुर, आसामी बाँदर, सेता बाँदर, झारल, घोरल, कस्तुरी मृगलगायत वन्यजन्तु पाइन्छन्।
हुन त, पैदल हिँड्नु भनेको आफैंले आफैंलाई चिन्नु पनि हो। आफ्नै देश, संस्कृति, रहनसहन र भूगोल हेर्न, बुझ्नु पनि हो । नेपालीहरूको लागि यो यात्रा एकदमै इकोनोमिकल छ। जम्मा १० देखि १५ हजारको खर्चले लाङटाङ-गोसाइँकुण्डको यात्रा तय गर्न सकिन्छ। ५ दिनको लाङटाङ यात्रामा २ दिन थप गरेमा एकैपटक लाङटाङ-गोसाइँकुण्ड ट्रेकिङ पनि गर्न सक्नु यस ट्रेलको विशेषता हो।
यात्राको सुरुदेखि अन्त्यसम्म कहिले दायाँ त कहिले बायाँ गर्दै तपाईँको सहयात्री बनेर लाङटाङ खोलाले यात्रा थप रोमाञ्चक बनाइदिन्छ। चराहरूको भाकामा सुसेली मिसाउँदै खोलासँग दोहोरी गाउँदै उकाली र ओराली हिँड्दै मनमोहक दृश्यले समय गएको पत्तै हुँदैन।