तनहुँका १४ हजार १२४ किशोरीलाई ‘एचपिभी खोप’ लगाइयो

Byखवरबाटिका

२५ फाल्गुन २०८१, आईतवार ०८:०२ २५ फाल्गुन २०८१, आईतवार ०८:०२ २५ फाल्गुन २०८१, आईतवार ०८:०२

दमौली । तनहुँमा रहेका दश स्थानीय तहका १४ हजार एक सय २४ किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपिभी) खोप लगाइएको छ ।

जिल्लामा लक्ष्यको ९९ प्रतिशत किशोरीलाई एचपिभी खोप लगाइएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभी खोप अभियान अन्तर्गत जिल्लाका १० वटै स्थानीय तहमा रहेका विद्यालय र स्वास्थ्य चौकीबाट खोप लगाइएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

जिल्लाका दश स्थानीय तहमा कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने किशोरी गरी १० देखि १४ वर्ष उमेर समूहका गरी १४ हजार २८० जनालाई उक्त खोप लगाउने लक्ष्य राखिएको मध्य १४ हजार एक सय २४ जनालाई लगाइएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।

विद्यालय नजाने १० देखि १४ वर्ष उमेरकाले परिचय खुल्ने कागजपत्र सहित पायक पर्ने विद्यालयमा लगेर खोप लगाइएको अधिकारीले बताए । पाठेघरको मुखको क्यान्सर मुख्य गरेर एच.पि.भी. भाइरसको सङ्क्रमणबाट हुने उनको भनाइ छ ।

जिल्लामा एच.पि.भी खोपलाई दुई चरणमा सञ्चालन गरिएको थियो । पहिलो चरणमा माघ २२ गतेदेखि माघ २५ गतेसम्म व्यास नगरपालिका, भानु नगरपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा खोप अभियान सञ्चालन भएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

यस्तै दोस्रो चरणमा माघ २७ गतेदेखि माघ ३० गतेसम्म शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकामा एच.पि.भी खोप अभियान सञ्चालन भएको थियो ।

एच पि भी खोप अभियानको क्रममा जिल्लाभर २ सय ५९ खोप केन्द्र रहको र सो खोप अभियानका लागी ५ सय १८ जान स्वास्थ्य स्वयमसेवक खटिएको कार्यालयले जनाएको छ ।

पाठेघरको मुखमा हुने क्यान्सर विरु‌द्धको एच पि भी खोप नेपालसहित ४५ राष्ट्रमा प्रयोगमा ल्याइएको छ । पछिल्लो समय नेपालमा पनि महिलाको पाठेघरको मुखको क्यान्सर प्रमुख स्वास्थ्य समस्याका रूपमा देखा परेकाले रोग नियन्त्रणका लागि फलदायी हुने अपेक्षाका साथ नेपाल सरकारले यस वर्षदेखि देशब्यापी कार्यक्रम ल्याएको हो।

किन निश्चित उमेर समूह तोकियो ?

यो खोप १० देखि १४ वर्ष उमेर समूहका बालिकाहरुलाई लक्षित गरिएको छ । यसरी निश्चित उमेर तोकिनुको कारण यौन क्रियाकलापमा सहभागी हुनुभन्दा अगाडि नै यो खोप दिनुपर्ने भएकाले उमेर समूह तोकिएको हो । किनभने यो भाइरस यौन क्रियाकलापबाट सर्छ । तर यौन क्रियाकलाप नगरेको अवस्थामा २६ वर्ष उमेर सम्मका युवतीलाई खोप लगाउन सकिन्छ ।

एचपीभी भनेको के हो र यसले कस्तो असर गर्दछ ?

ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) एक प्रकारको विषाणु हो। संसारका विभिन्न देशहरुमा गरिएको अध्ययन अनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपीभी हो। पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९५ प्रतिशत भन्दा बढी क्यान्सर एचपीभीले गराउँदछ। एचपीभीको २०० भन्दा बढी किसिमका प्रजातिहरु हुन्छन्। यसमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक हुन्। नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभीको प्रजाति १६ र १८ बाट भएको देखिन्छ। यसले महिलाहरुको पाठेघरको मुखको क्यान्सरको साथै यौनांगमा आउने मुसा तथा यौनांगको क्यान्सर समेत गराउन सक्छ।

एचपीभी संक्रमण कसरी सर्दछ ?

एचपीभी मुख्यत संक्रमित व्यक्तिसँगको यौन सम्पर्कबाट सर्छ। तर यो संक्रमित व्यक्तिको यौनांगको छाला श्लेष्म झिल्ली वा तरल पदार्थसँगको सम्पर्क मार्फत पनि सर्न सक्दछ। यसको संक्रमण पुरुषमा पनि हुन्छ। पुरुषबाट महिलामा सर्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *