फागुपूर्णिमाको दिन छिम्केश्वरीमा ९ हजार भक्तजन

Byखवरबाटिका

३० फाल्गुन २०८१, शुक्रबार ०६:१७ ३० फाल्गुन २०८१, शुक्रबार ०६:१७ ३० फाल्गुन २०८१, शुक्रबार ०६:१७

दमौली । तनहुँको छिम्केश्वरी मन्दिरमा फागु पूर्णिमाको दिन भक्तजनको घुइचो लागेको थियो । जिल्लाको आँबुखैरेनी गाउँपालिका–५ मा रहेको मन्दिरमा फागु पुर्णिमाका दिन विशेष पूजा अर्चना तथा मेला भर्न भक्तजनहरु पुग्ने गर्दछन् ।

बिहीबार करिब नौ हजार भक्तजन मन्दिरमा पुगेको छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्ण तामाङले जानकारी दिए । उनका अनुसार गत वर्षको फागु पूर्णिमाको दिन पनि अहिले कै जति नै भक्तजन आएका थिए । जिल्लाका अन्य ठाउँमा मेला महोत्सव भएकाले पनि यो पटक भक्तजनको संख्या बढ्न नसकेको अध्यक्ष तामाङ बताउछन ।

यहाँ फागु पुर्णिमाका दिन तनहुँका विभिन्न स्थानसँगै गोरखा, लमजुङ, कास्की र चितवनबाट समेत भक्तजन पुगेका थिए ।

समुद्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरी मन्दिरमा पर्यटकको आर्कषण बढ्दै गएको छ । यस मन्दिरलाई गाउँपालिकाले धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै लगेको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । उनका अनुसार पूर्वाधार विकास र प्रचारप्रसारले ओझेलमा परेको छिम्केश्वरी क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक पूर्वधार निर्माण गर्दै लगिएको छ ।

यहाँ भाकल गरेपछि मनोकांक्षा पूरा हुने भक्तजनहरुको आस्था र विश्वास रहेको छ । मन्दिरमा बोकाको बली दिनुका साथै जोडी परेवा उडाउने, नरिवल चढाउने गरिन्छ । मन्दिरमा हरेक वर्ष फागु पूर्णिमा र वैशाख पुर्णिमामा भक्तजनको विशेष भीड लाग्दछ ।

प्रायः सधैं बादलको घुम्टो ओढिरहने छिम्केश्वरी महाभारत शृंखला मध्यको अग्लो पहाड भएको वडा नं. ५ का अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।

छिम्केश्वरीको उत्तरतर्फ मनोरम हिमालका दृश्यहरू धौलागिरी, निलगिरी, अन्नपुर्ण, माछापुच्छ्रे हिमचुली लमजुङ्ग, मनास्लु, गणेश, लाङटाङ सहित दर्जनौं हिमाल आँखै अगाडि हेर्न सकिन्छ । साथै काठमाडौँ, पोखरा, तराईका फाँट र भारतका केही भागसमेत देख्न सकिने गुरुङले बताए ।

गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएको छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरी लेकमै अवस्थित छन् भने साइली गोरखाकालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोहीस्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । मनकामना दर्शन गरेकाले यहाँ दर्शन गर्नैपर्ने धार्मिक मान्यता रहदै आएको छ ।

आँबुखैरेनीबाट लाब्दीसम्म करिब १८ किमीमध्ये नौ किमी कालोपत्र छ भने अन्य सडक ग्राभेल रहेको छ । ग्राभेल सडकपश्चात् सात सय ५० मिटर रेलिङ निर्माण गरिएकाले पैदल हिँड्नुपर्ने हुन्छ ।

धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको यस मन्दिरमा हालै चार सय २५ किलोग्राम पित्तलको पाता प्रयोग गरी मन्दिरको छाना छाइएको गाउँपालिकाले जनाएको छ ।  प्यागोडाशैलीमा पुनः निर्माण गरिएको उक्त मन्दिरमा छाना, मुकुट, नागोल, झलर र गजुर निर्माण लगायतका कार्यमा पित्तल प्रयोग गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *