देवघाट (तनहुँ) । नेपाल विद्यार्थी संघ तनहुँले पालिका स्तरीय अधिवेशनको थालनी देवघाट गाउँपालिकाको कालिका माध्यमिक विद्यालयबाट गरेको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा ईकाइ गठन तथा नयाँ सदस्यता वितरण कार्य सम्पन्न गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि ने.वि.संघका केन्द्रीय सदस्य सुनिल मिश्रले विद्यार्थीहरूलाई राजनीतिक चेतना र नेतृत्व क्षमतामा सबल बनाउने दिशामा संगठन अघि बढिरहेको बताए। उनले वर्तमान परिप्रेक्ष्यमा विद्यार्थीहरूको भूमिका अझ महत्वपूर्ण भएको उल्लेख गरे।
“विद्यार्थी आन्दोलन नेपाली कांग्रेसको मेरुदण्ड हो। संगठन बलियो बनाउन हामी सबै प्रतिबद्ध हुनु आवश्यक छ,” मिश्रले भने। उनले संगठनभित्र अनुशासन, निष्ठा र समर्पणको भावना विकास गर्नुपर्ने कुरामा जोड दिए।
कार्यक्रमको अध्यक्षता पालिका संयोजक तथा जिल्ला सदस्य हरि कुँवरले गरेका थिए। कार्यक्रममा ने.वि.संघ जिल्ला अध्यक्ष आशिष कैनी, नेपाली कांग्रेस क्षेत्र नं. २ का सहसचिव यम सारु, जिल्ला प्रवक्ता रिमबहादुर आले, भानु नगर संयोजक सुजन थपलिया, ने.वि.संघ नेता उत्तम लामा लगायतको उपस्थिति थियो।
कार्यक्रममा बोल्ने नेताहरूले पालिकास्तरबाट सुरु भएको अधिवेशनलाई जिल्लासम्म लैजाने क्रम व्यवस्थित रूपमा अगाडि बढ्ने जनाएका छन्। उनीहरूले नयाँ पुस्तामा राजनीतिक चेतना र संगठनप्रतिको लगाव अभिवृद्धि गर्न यस्तो अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरे।