दमौली, जेठ ११ गते । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली स्थित मादी नदी पुलबाट शनिबार राती करिब १२:१० बजेको समयमा जीप खस्दा तीन जनाको मृत्यु भएको छ ।
दमौलीबाट पोखरातर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको बलेरो जीप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा तनहुँको व्यास नगरपालिका ५ बेतेनी बस्ने वर्ष २८ को प्रविन आले मगर, मानुङ सोहरा बस्ने वर्ष २२ को कुसल थापा मगर, सोही स्थान बस्ने वर्ष २२ को कुमार थापा मगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए ।
उनीहरुको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घाइतेमध्ये पर्साको प्रनानिपुर ३ बस्ने वर्ष २० को धिरज रोनीयारको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि मणिपाल अस्पताल पोखरा पठाइएको प्रहरीले जनाएको छ । उनको घाँटी, छातीमा भित्री चोट र दायाँ खुट्टामा काटेको छ ।
यस्तै जीप चालक तनहुँको व्यास नगरपालिका-४ बस्ने वर्ष अन्दाजी २४ को सनि बानीयाँ अस्पतालबाट डिस्चार्ज भएका छन ।
दुर्घटनाका घाइतेलाई नेपाली सेनाको कालीभञ्जन ग (इ), नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।