दमौली । एकल महिलालाई आर्थिक रूपमा सशक्त बनाउन तनहुँको म्याग्दे गाँउपालिकाले अनुदानमा बाख्रा वितरण गरेको छ ।
म्याग्दे गाँउपालिकाले ७५ प्रतिशत अनुदानमा बाख्रा वितरण गरेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।
एकल महिलालाई बाख्रा वितरणका लागि गाँउपालिकाले रू तीन लाख बजेट विनियोजन गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
उनले भने ‘एकल महिलालाई जीविकोपार्जनमा सहयोग पुर्याउन बाख्रा वितरण गरिएको हो ।’
बाख्राबाट छाटो समयमा नै आम्दानी लिन सकिने र यहाँको हावापानी र चरन राम्रो भएकोले सहयोग गरिएको म्याग्दे गाउँपालिकाको उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिए ।
गाउँपालिकाभित्रका ७ वटा वडाका ४-४ एकल महिला छनोट गरी प्रत्येकलाई एक–एक वटाका दरले बाख्रा वितरण गरिएको कार्यपालिका सदस्य जानकी थापाले जानकारी दिईन ।
उनका अनुसार पालिका भित्रका चार सय ५२ जना एकल महिला मध्य निम्न आय भएका २८ जना महिला छनोट गरी बाख्रा वितरण गरिएको हो ।