अनिषले जिते भिडियो प्रतियोगिताको उपाधि

Byखवरबाटिका

१४ असार २०८२, शनिबार २२:५२ १४ असार २०८२, शनिबार २२:५२ १४ असार २०८२, शनिबार २२:५२

तनहुँ । पर्यटन प्रबद्र्धनका लागि आयोजित भिडियो प्रतियोगिताको उपाधि अनिष गुरुङले जितेका छन् । उनले बनाएको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेको भिडियोले उपाधि जितेको हो । उपाधिसँगै गुरुङले १० हजार रुपैयाँको साथमा प्रमाणपत्र हात पारे ।

तनहुँको खबरको आयोजना, सम्पदा नेपालको व्यवस्थापन र शुक्लागण्डकी नगरपालिकाको आर्थिक सहयोगमा शुक्लागण्डकी नगरपालिकाका पर्यटकीय गन्तव्यको प्रबद्र्धन गर्ने उदेश्यले फोटो भिडियो सम्बन्धि कार्यशाला र प्रतियोगिता गरिएको हो । भिडियो खिच्ने तरिकाबारे तालिम दिएपछि प्रतियोगिता भएको छ ।
शुक्लागण्डकी–९ बाजस्थलाको बारेमा प्रविण परियारले बनाएको भिडियोले दोस्रो स्थान हासिल गरेको छ । उनले ८ हजार रुपैयाँको साथमा प्रमाणपत्र पाए ।

शुक्लागण्डकी–२ मा रहेको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामको भिडियोले तेस्रो स्थान हासिल गरेको छ । यो भिडियो ममता भुजेलले निर्माण गरेकी हुन् । उनले ५ हजार रुपैयाँको साथमा प्रमाणपत्र प्राप्त गरिन् ।

शुक्लागण्डकी–६ तीनखोलेदेवी मन्दिर सम्बन्धि सुवास ढकालले बनाएको भिडियोले चौंथो स्थान हासिल गरेको छ । ढकालले ३ हजार रुपैयाँको साथमा प्रमाणपत्र पाएका छन् ।

विजेता भिडियो निर्मातालाई शनिबार पुरस्कार वितरण गरिएको हो । शुक्लागण्डकी नगरपालिकाका उपमेयर खुमबहादुर विक राजु र तनहु खबरका अध्यक्ष मनराज गुरुङले पुरस्कृत गरे ।
भिडियोको मुल्यांकन पत्रकार अस्मिता खनाल, भिडियोग्राफर आकाश कार्की र तनहुँ खबरका अध्यक्ष मनराज गुरुङले गरेका थिए । भिडियोको खिचाइ र सामाजिक सञ्जालमा दर्शकले रुचाएको आधारमा विजेता घोषणा गरिएको हो । कार्यशालामा सहभागी ३२ मध्य १० जनाले प्रतियोगितामा भाग लिएका हुन् ।

कार्यक्रममा बोल्दै शुक्लागण्डकीका उपमेयर विकले पर्यटन प्रबद्र्धनमार्फत शुक्लागण्डकीलाई चिनाउने अभियानमा नगरपालिका लागिपरेको बताए । ‘शुक्लागण्डकीलाई कसरी चिनाउन सकिन्छ भनेर प्रयास ग¥यौं । आगामी दिनमा यसलाई अझै निरन्तरता दिन्छौं’, उनले भने ।

प्रचारप्रसारको माध्यम भिडियो निकै प्रभावकारी भएको उनको भनाइ थियो । ‘आफूले गरेको कामको प्रचार गरेनौं भने केही नगरेजस्तो हुन्छ । सामान्य काम गरेपनि भिडियोमार्फत प्रचार ग¥यौं भने भयंकर गरेजस्तो देखिन्छ’, उनले सुनाए । भिडियो निर्माणमा लागेर उज्वल भविष्य बनाउने सकिने सहभागी युवालाई उनको सुझाव छ ।
शुक्लागण्डकी–२ का वडाध्यक्ष सुमन रानाले भिडियोमार्फत विश्वका कुनाकुनामा रहेका नेपालीमाझ पर्यटकीय गन्तव्य चिनाउन सकिने बताए ।

शुक्लागण्डकी–४ का वडाध्यक्ष राजकुमार वाग्ले ‘राजु’ ले भिडियोग्राफी आयआर्जनको माध्यम बन्न सक्नेमा जोड दिए ।
शुक्लागण्डकी–१० का वडाध्यक्ष राजेन्द्र भट्टराई क्षेत्रीले भिडियो निर्माण कार्यशाला र भिडियो प्रतियोगिता पर्यटनको क्षेत्रमा कोशेढुंगा सावित हुने बताए । सबै वडाका गन्तव्य चिनाउनलाई भिडियो निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुमन सापकोटाले सामाजिक सञ्जालमा पर्यटकीय गन्तव्यको प्रचार गर्दा नदेखेका पर्यटकमाझ पुग्ने र लोभ्याउने बताए ।

शुक्लागण्डकी पत्रकार मञ्चका अध्यक्ष राजन उपाध्यायले हात हातमा भएको मोबाइल र इन्टरनेटको प्रयोग गरेर भिडियोमार्फत रोजगारीको अवसर आफैंले सिर्जना गर्न सकिने सुनाए ।

तनहुँ खबरका अध्यक्ष मनराज गुरुङले पर्यटन प्रबद्र्धनका लागि नयाँ सोंचका साथ काम गरेको बताए । आगामी बर्ष पनि यस्तै रचनात्मक कामलाई निरन्तरता दिने उनको उद्घोष छ ।

तनहुँ खबरका कार्यकारी सम्पादक विनोद ढुंगानाले सञ्चालन गरेको कार्यक्रममा पत्रकार अस्मिता खनाल, आनन्द भट्टराई लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *