दमौली । व्यास नगरपालिकाले पुन: व्यास-३ स्थित भतेरीमा फोहोरमैला विसर्जन गर्ने निर्णय गरेको छ । आइतबार जिल्लाको व्यास-५ मानहुँकोटमा सम्पन्न व्यास नगर कार्यपालिकाको वैठकले सो निर्णय गरेको व्यास नगरपालिकाद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।
अर्को व्यवस्था नहुदाँ सम्म व्यास-३ भतेरी स्थित मादीनदीमा तटबन्ध गरी खाडल परेको स्थानमा नदिमा फोहोर मैला प्रवाह नहुने गरी फोहोरमैला विसर्जन गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ।
हाललाई फोहोरमैला छनोट प्रकृया स्थगन गर्ने गरी स्थानीयसंग समन्वय गर्ने र आवश्यक पूर्वाधार निर्माण गर्न गराउन कार्यालयलाई निर्देशन दिने निर्णय समेत उक्त बैठकले गरेको छ ।
यसअघि पनि व्यास नगरपालिकाले सोही स्थानमा फोहोरमैला विसर्जन गर्दै आइरहेको थियो । तर सो स्थान नदि कटानले बगाएपछि नगरपालिकाले अन्यत्र फोहोर व्यस्थापन गर्दै आइरहेको थियो ।
व्यास नगरपालिका अन्तरगतको फोहोरमैला विसर्जनका लागि व्यास-१३ स्थीत बुद्दसिंह मार्ग अन्तरगत फुटेको ढुङ्गाको खाडल प्रयोग गरिदै आएकोमा स्थानीयबाट वैकल्पिक स्थान खोज्न माग भइ आएकाले अहिले फेरी भतेरीमा नै पुन: फोहोर बिसर्जन गर्न लागेको व्यास नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त वैठकमा उप-प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, १४ वटै वडाका अध्यक्षहरु र कार्यपालिकाका ६ जना सदस्यहरुको उपस्थिति रहेको थियो ।
सोही बैठकले व्यास नगरपालिका विज्ञापन कर निर्देशिका, २०७९ र पशु प्रवर्धन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७९ पारित गर्ने निर्णय गरेको छ ।