आँबुखैरेनी । तनहुँको आँबुखैरेनीमा मोटरसाइकल र बस ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक लमजुङ दुधपोखरी गाउँपालिका वडा नं. ५ का ३० वर्षिय सन्तोष गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।
सोमबार तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ पावरहाउस स्थित पृथ्वी राजमार्गमा मुग्लिङबाट पोखरा तर्फ आउदै गरेको ग १ ख ९४०२ नं.को बस र बिपरीत दिशाबाट जादै गरेको ग २२ प ९८२६ नं.को मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक सन्तोष गुरुङ र पछाडि सवार ३५ वर्षिय भिमसेन गुरुङ सख्त घाईते भएकोमा घाईते मध्ये मोटरसाइकल चालक सन्तोष गुरुङको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुर चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घाईते भिमसेन गुरुङको सोही अस्पतालमा उपचार भईरहेको र बस चालक नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरी जानकारी दिएको छ ।