तनहुँ । यहि वैशाख १० गते हुने प्रतिनिधि सभा उपनिर्वाचनको लागी मतदातालाई आफ्नो पक्षमा पार्न राजनैतिक दल, दलका उम्मेद्वार र नेता/कार्यकर्ता बजारका चोकमा कम, गाउँमा ज्यादा भेटिन्छन यतिबेला ।
तनहुँ-१ मा वैशाख १० का लागी ९ वटा दलबाट ९ जना उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन् । तर बढी सक्रिय र भिड, ठुला दल र चर्चित उम्मेदवार संग मात्रै छ ।
तनहुँ १ मा आँबुखैरेनी, देवघाट र बन्दीपुर गाउँपालिका, भानु नगरपालिका तथा व्यास नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ७, ८, ९, १०, ११, १२, १३ र १४ पर्छन् ।
वैशाख १० गते हुने उपनिर्वाचन हुने तनहुँ १ का १ लाख २३ हजार ३०५ जनाले मतदान गर्न पाउने भएका छन् । तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ मा ६९ मतदानस्थलमा १५२ मतदान केन्द्र तोकिएको छ ।
यता नेकपा एमालेले पुर्व प्रहरी प्रमुख (प्रहरी महानिरिक्षक) सर्वेन्द्र खनाललाई तनहुँमा उठाएको छ । खनाल गत मङ्सिर ४ गते सम्पन्न आम निर्वाचनमा काठमाडौमा पराजित भएका थिए । तर, उनलाई तनहुँ जन्मभुमी भन्दै एमालेले पुन:टिकट दिएको छ ।
तनहुँ-१ मा अर्का चर्चित उम्मेद्वार छन्, डा.स्वर्णीम वाग्ले । वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन् । पुर्व कांग्रेसी वाग्ले मनोनयन दर्ताको केहि दिन अघि मात्रै कांग्रेस नेतृत्वको पेलानमा परेको आरोप लगाउदै रास्वपा प्रवेश गरी तनहुँ-१ का लागी उम्मेदवार बनेका हुन् ।
पछिल्लो समय तनहुँका सहरदेखी गाउँ-गाउँमा यीनै ३ उम्मेदवारको चर्चा सुन्न पाइन्छ । तर उम्मेदवार अन्य ६ जना पनि तनहुँमा छन् । उनीहरु पनि आफ्नो चुनावी प्रचारमा लागिरहेको बताउछन । तनहुँमा नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी समाजवादीबाट गणेश श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शोभा गुरुङ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार पनि उम्मेदवार रहेका छन् । तर तनहुँ-१ मा वैशाख १० मा यी ३ जना बीच नै मुख्य प्रतिष्पर्धा हुने चर्चा तनहुँमा गुञ्जिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले आफु टुरिष्ट उम्मेदवार नभएको बताउछन् । सीमा नक्सा भनेका मान्छेले कोरेका मानचित्र भएको वाग्लेको भनाई छ । उनि भन्छन ‘सीमा, नक्सा भनेका मान्छेले कोरेका मानचित्र हुन् । यस क्षेत्रका शंकर भण्डारीलाई मादी पारि पुर्याइदिनुभाछ, म मर्स्याङ्दीपारिको स्वर्णिम वाग्ले यहाँ आएर लड्न नहुने ? तनहुँको प्रदीप पौडेललाई काठमाडौं ५ मा लगेर उतार्नुभयो, उहाँको क्याम्पेनमा मरेर लागेर जिताउन मैले धेरै प्रयास गरेँ ।’
उनले अर्को क्षेत्रमा गएर चुनाव लड्दैमा टुरिष्ट भनेर हेयको भावनाले हेर्न नहुने बताए । तनहुँ कुनै एउटा दलको गढ नभई लोकतन्त्रवादीको गढ भएको र रास्वपा पनि लोकतान्त्रिक पार्टी भएको वाग्लेको भनाई छ ।
बजारमा ठुला चुनावी सभा देखि गाउँका टोल टोलमा कोणसभा र घर दैलोमा पुगेर यतिबेला उम्मेदवार मत मागिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना उम्मेदवारको लागी आफ्ना पार्टी सभापति रवि लामिछाने, केन्द्रिय नेता रमेश प्रसाई, सांसद सोविता गौतम, विराजभक्त श्रेष्ठ, शिशिर खनाल लगाएतलाई तनहुँ बोलाएर जिल्लाका विभिन्न ठाउँमा कोण सभा र चुनावी सभा गरिरहेको छ । आइतबार तनहुँको सदरमुकाम दमौलीका वृहत चुनावी सभा गर्ने तयारीमा रास्वपा रहेको छ ।
हाम्रो नेपाली पार्टीले (लौरो अभियान)ले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई समर्थन गर्ने निर्णय गरिसकेको छ । आफ्नो उम्मेदवार नउठाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वाग्लेलाई समर्थन गर्ने निर्णय गरेको हो । तनहुँमा अहिले घन्टी चुनाव प्रति तनहुँबासिको क्रेज बढिरहेको देख्न सकिन्छ ।
तनहुँमा कांग्रेसको कारबाहीमा परेका गोविन्द राज जोशी पक्षको मत पनि अब रास्वपा उम्मेदवार स्वर्णिम वाग्लेलाई आउने पक्का देखिएको छ ।
यता नेपाली कांग्रेस पनि आफ्ना केन्द्रिय नेता तनहुँ उतारिरहेको छ । घरदैलो र कोणसभा निरान्तर गरिरहेको कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताए । निर्वाचन जित्नको लागि बाम-लोकतान्त्रिक गठबन्धनले उच्च स्तरीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
भण्डारीको नेतृत्वमा विभिन्न चुनाव लक्षित कार्यक्रममा दैनिक रुपमा कांग्रेसले गरिरहेको छ । गठबन्धन भनिएतापनि केहि ठाउँ बाहेक कांग्रेस एक्लै प्रचारप्रसारमा हिडेको देखिन्छ । केहि पालिकामा भने माओवादी केन्द्रले साथ दिएको छ । अन्यको भने कांग्रेसलाई प्राप्त साथ दिएको देखिदैन ।
कांग्रेस पनि तनहुँको दमौलीमा छिट्टै वृहत चुनावी सभा गर्ने भएको छ । अन्य स्थानमा भने कोण सभा भईरहेको कांग्रेस तनहुँले जनाएको छ । साथै गठबन्धनका केन्द्रिय अध्यक्ष र प्रधानमन्त्रीलाई समेत तनहुँ बोलाउने तयारी गरिएको कांग्रेस तनहुँले जनाएको छ ।
कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले तनहुँको माटोमै हुर्किएर भिजेको भन्दै यस क्षेत्रको विकासका लागि आफूले विगतमा गरेको कामलाई अब झनै अघि बढाउने बताउछन् । उनि आफूले माटो चिनेकाले विकास गर्ने सामथ्र्य राख्ने बताउछन् ।
यता नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले तनहुँको क्षेत्र नं १ लाई उत्कृष्ठ बनाउने बताउदै आएका छन् । देशमा प्रचुर सम्भावना भएको तर जिम्मेवार पदमा रहेर पनि पदिय भुमिका ननिभाउँदा विकास निर्माणमा पछि परेको उनि बताउछन् ।
एमालेले तनहुँको चुनावलाई लक्षित गरी विभिन्न कोणसभा र घरदैलो गरिरहेको बताएको छ । ठुला चुनावी सभा भने एमालेलेगरेको छैन । जिल्लामा केन्द्रिय नेता पद्मा अर्याल, किरण गुरुङ, महेश बस्नेत लगाएतको उपस्थित रहेको छ ।