तनहुँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म राजमार्गमा समेत गाडी चल्न नदिइने जानकारी दिए । उनका अनुसार पृथ्वीराजमार्ग हुँदै तनहुँ कटेर अन्त जाने यात्रुहरुले आइतबार बिहान ५ बजेअघि वा साँझ ६ बजेपछि मात्रै यात्रा गरिसक्नुपर्नेछ ।
पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनको पुलदेखि दमौलीस्थित मादी पुलसम्म र डुम्रे बेशीशहर सडक खण्ड, गोरखा आँबुखैरेनी सडक खण्ड र दमौली दुईपिप्ले सडक खण्डमा अत्यावश्यकबाहेकका गाडी चल्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।
मुलुकको प्रमुख पर्यटकीय शहर पोखरा जाने मुख्य राजमार्ग भएकाले यो सडक बन्द हुँदा धेरै पर्यटक र सर्वसाधारण प्रभावित हुनेछन् ।
प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार आइतबार विहान ५ बजेदेखि साँझ ६ बजेसम्म दमकल, एम्बुलेन्स, खानेपानी, दूध र फोहोरमैला बोक्ने सवारी साधन, शववाहन, परिचयपत्र बोकेका चिकित्सक तथा स्वास्थ्यकर्मी र सूचना विभागको परिचयपत्र बोकेका पत्रकार चढेको गाडी मात्र चलाउन पाइनेछ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले शनिबार साँझ एक सूचना जारी गरी पृथ्वी राजमार्ग हुँदै चल्ने रात्रीबसलाई आइतबार बिहान ४ बजेभित्र तनहुँ–१ को सडक पार गरिसक्न आग्रह गरेको छ ।
२०७९ मंसिरको निर्वाचनबाट प्रतिनिधि सभा सदस्य निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएसँगै उक्त क्षेत्र रिक्त भएको थियो । रिक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनमा कांग्रेसका गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल र रास्वपाबाट स्वर्णिम वाग्ले लगायत अरु पार्टीहरुबाट समेत गरी ९ जना उम्मेदवार छन् ।
हेर्नुहोस् सूचना :