उज्यालो घरलाई औषधी व्यवसायी संघ तनहुँद्धारा फर्निचर सहयोग

Byखवरबाटिका

११ असार २०८०, सोमबार २३:४४ ११ असार २०८०, सोमबार २३:४४ ११ असार २०८०, सोमबार २३:४४

तनहुँ । नेपाल औषधी व्यवसायी संघको ५०औँ स्थापना दिवसको अवसरमा औषधी व्यवसायी संघ तनहुँले उज्यालो घरलाई आइतबार फर्निचर सहयोग गरेको छ । देशव्यापि रुपमा संघको स्थापना दिवस मनाइरहदा जिल्ला शाखा तनहुँले पनि व्यास १० बैरेनी स्थित उज्यालो घरलाई सहयोग गरि स्थापना दिवस मनाएको हो ।

संघले बालबालिकाको कपडा र किताब राख्न मिल्ने काठको २ थान ¥याक हस्तान्तरण गरेको छ । एक कार्यक्रमको आयोजना गरि उज्यालो घरका अध्यक्ष सागर घिमिरेलाई उक्त सहयोग सामग्री हस्तान्तरण गरिएको संघले जनाएको छ ।

सोही अवसरमा औषधी व्यवसायीहरुले उज्यालो घरका बालबालिकाको स्वास्थ्य परिक्षण, औषधी लगायतका सेवा निशुल्क उपलब्ध गराउने सामूहिक प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल औषधी व्यवसायी संघ गण्डकी प्रदेश सदस्य दमोदर भण्डारीले उज्यालो घरमा आश्रित बालबालिकाको आवश्यकता र माग अनुसार नै सहयोग उपलब्ध गराएको बताए । हरेक वर्ष संघले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न सामाजिक काम गर्दै आएको स्मरण गर्दै उनले सहयोग निरन्तर रहने प्रतिवद्धता समेत व्यक्त गरे । साथै उनले प्राप्त सहयोगको सदुपयोग र संरक्षण गर्न आग्रह गरे ।

नीजि अस्पताल एसोसिएसन तनहुँका अध्यक्ष चुडामणि दाहलले सहारा विहीन बालबालिकालाई सहयोग गर्न पाएकोमा खुशी लागेको बताए । साथै आफुहरु आवद्ध रहेका सबै संघसंस्थाबाट सहयोगको पहल गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।

कार्यक्रममा औषधी व्यवसायी एवम् उद्योग बाणिज्य संघ दमौली बजार इकाईका पूर्व अध्यक्ष राजकुमार श्रेष्ठ ‘राकु’ले बालबालिकाको स्वास्थ्य उपचारमा संघले सहयोग गर्ने बताए । साथै अन्य ठाउँबाट सहयोग प्राप्त हुने वातावरण बनाउन पनि लागिपर्ने बताए ।

नेपाल औषधी व्यवसायी संघ तनहुँका सदस्य रामचन्द्र अधिकारीले बालबालिकालाई आश्रय दिएर उज्यालो घरले उत्कृष्ट कार्य गरेको बताए । उज्यालो घरको सुख दुखमा आफु बिगतबाटै जोडिएको पनि उनले चर्चा गरे ।

संघका अध्यक्ष दयाराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गर्दैै उज्यालो घरका अध्यक्ष घिमिरेले सहयोगप्रति आभार व्यक्त गरे । विभिन्न दाताहरुको साथले नै बालबालिकाको उज्यालो भविष्य निर्माण अभियानमा आफु लागि परेको उनले बताए । ४ वर्ष अघि सञ्चालनमा आएको उज्यालो घरमा हाल ७ जना बालबालिका आश्रित छन् । कार्यक्रम नेपाल औषधी व्यवसायी संघका सचिव ऋषिकान्त गिरीले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *