तनहुँमा ६ सय ३ घरेलु उद्योग दर्ता

Byकिरण श्रेष्ठ

२१ श्रावण २०८०, आईतवार १०:३८ २१ श्रावण २०८०, आईतवार १०:३८ २१ श्रावण २०८०, आईतवार १०:३८

तनहुँ । जिल्लामा आर्थिक वर्ष २०७९/८० मा ६ सय ३ वटा घरेलु उद्योग दर्ता भएका छन् । एक वर्षको अवधिमा पर्यटन तथा साना उद्योग कार्यालय तनहुँमा ६ सय ३ नयाँ उद्योग दर्ता भएका हुन् ।

यस अवधिमा १ हजार १ सय ६१ घरेलु उद्योगको नवीकरण भएको कार्यालयका प्रमुख दुर्गाराज सुवेदीले बताए । उनका अनुसार सोही अवधिमा वाणिज्यतर्फ ४ सय ९९ वटा नयाँ दर्ता भएका छन् भने १ हजार ७२ वटाको नवीकरण भएको छ ।

आव २०७८/७९ सम्म १२ हजार ५ सय ७७ घरेलु उद्योग दर्ता भएका थिए । कार्यालय प्रमुख सुवेदीका अनुसार सो सख्या अहिले १३ हजार १ सय ८० पुगेको छ । वाणिज्यतर्फ ९ हजार ७६९ रहेकोमा बढेर १० हजार २ सय ६८ पुगेको कार्यालयले जनाएको छ ।

दमौली बजार, डुम्रे बजार, दुलेगौडा, आँबुखैरेनी, भिमाद, खैरेनीटारलगायत स्थानमा उद्योग/व्यवसाय तथा पसल गर्नेको सङ्ख्या बढिरहेकाले नयाँ उद्योग दर्ता पनि बढेको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख सुवेदीका अनुसार दर्ता भएकामध्ये अधिकांश कृषि फर्म, सिलाइकटाइ, अलैँची, ब्युटिपार्लर, कृषि औजार, मौरीपालन, बङ्गुर फर्म, दालमोठ उद्योग, पर्यटन उद्योग लगायत छन् ।

जिल्लामा हालसम्म १३ हजार १ सय ८० घरेलु उद्योग दर्ता भएको छ भने १० हजार २ सय ६८ वाणिज्य दर्ता भएको उक्त कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०७९/८० मा ६६ लाख ४ हजार २ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *