काठमाडौं । प्रदेश अस्पताल दमौली, तनहुँको विस्तारका लागि बाटो खुलेको छ । लामो समयदेखि जग्गा अभावका कारण अस्पताललाई ५० शैय्यामा विस्तार गर्ने प्रक्रिया अघि बढ्न नसकेकामा अब प्राप्तिको बाटो खुलेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पतालको विस्तारका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ र कृषि ज्ञान केन्द्रले प्रयोग गर्दै आइरहेको मध्येको ३ रोपनी ५ आना जग्गा प्राप्त गर्ने सहमतिसहितको प्रस्ताव गण्डकी प्रदेशमा पठाएका छन् ।
यसअघि कृषि मन्त्रालयले सो जग्गा गर्नका लागि मन्त्रालयलाई सहमति दिइसकेको छ । अब गण्डकी प्रदेश मन्त्रिपरिषद बैठकले सहमति दिएपछि संघ सरकारले जग्गा अस्पतालका लागि उपलब्ध गराउनेछ ।
अस्पतालका लागि आवश्यकमध्ये भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्वामित्वमा रहेको ३ रोपनी ५ आना तथा कृषि ज्ञान केन्द्रको स्वामित्वमा रहेको २ रोपनी जग्गा प्राप्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहमति दिएको हो ।
पृथ्वी राजमार्गको मध्यभागमा रहेको दमौलीमा अस्पताल विस्तारको विषय लामो समयदेखि उठे पनि जग्गा प्राप्तिसम्बन्धी निर्णय नहुँदा अघि बढ्न सकेको थिएन ।
प्रदेश अस्पतालको निरीक्षणका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पतालका लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढाएरै छाड्ने दृढता गरेका थिए ।
सोही अनुरुप अस्पतालको प्रस्ताव कृषि मन्त्रालय, अर्थ मन्त्रालय हुँदै अघि बढाउन मन्त्री पौडेलले पहल गरेका थिए । अब गण्डकी प्रदेशबाट स्वीकृतिपछि संघ सरकारले अस्पताललाई जग्गा हस्तान्तरण गर्नेछ । यसपछि प्रदेशको स्वामित्वमा रहेको अस्पतालको विस्तारको काम अघि बढ्नेछ ।