दमौली । रोटरी क्लब अफ दमौलीले आफ्नो २५औं स्थापना दिवसको अवसरमा पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।
स्थापना दिवसको अवसरमा आयोजित एक समारोहमा अध्यक्ष, सचिव र कोषाध्यक्षको पद तथा जिम्मेवारी हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा २०२४–२५ कार्यकालका अध्यक्ष जीवनकुमार श्रेष्ठले २०२५–२६ कार्यकालका अध्यक्ष विणा कैनीलाई संस्थाको माइन्युटसहित सम्पूर्ण पद तथा जिम्मेवारीहरू हस्तान्तरण गरेका हुन्।
साथै सोही अवसरमा २०२४–२५का सचिव शान्तराम न्यौपानेले २०२५–२६ सचिव सुबास गौतमलाई तथा अघिल्लो कोषाध्यक्ष योगिता श्रेष्ठले आगामी कोषाध्यक्ष नविन श्रेष्ठलाई पद तथा जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।
नव निर्वाचित अध्यक्ष कैनीले सामाजिक सेवामा क्रियाशील क्लबको नेतृत्व पाउँदा गर्वको अनुभूति भएको बताउँदै क्लबको गरिमालाई अझ उच्च बनाउने प्रतिबद्धता व्यक्त गरिन्। उनले रचनात्मक र सिर्जनशील कार्यकालको संकल्प लिँदै सामाजिक सेवाको भावनालाई आत्मसात् गर्ने बताइन्।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष रामचन्द्र पोख्रेलले नयाँ नेतृत्वलाई शुभकामना दिंदै रोटरीको मर्म र मूल्यलाई आत्मसात् गर्दै क्लबलाई अझ प्रतिष्ठित बनाउने दिशामा लाग्न आग्रह गरे। साथै उनले क्लबको इतिहासबारे जानकारी दिँदै निःस्वार्थ भावनासहित समाजसेवामा समर्पित रहन नयाँ नेतृत्वलाई अनुरोध गरे।
निवर्तमान अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा सम्पन्न योजनाहरूको समीक्षा गर्दै बाँकी रहेका कार्यक्रमहरू नयाँ नेतृत्वले पूरा गर्ने विश्वास व्यक्त गरे।
२०२५–२६ कार्यकालको लागि गठित कार्यसमितिमा आइपीपीमा जीवनकुमार श्रेष्ठ, प्रेसिडेन्ट इलेक्टमा नारायण मल्ल, प्रेसिडेन्ट नोमिनीमा किनकुमार श्रेष्ठ, सचिवमा सुबास गौतम, उपाध्यक्षमा योगिता श्रेष्ठ र शान्तराम न्यौपाने, कोषाध्यक्षमा नविन श्रेष्ठ, सहसचिवमा सुनिता आचार्य, सहकोषाध्यक्षमा रजिनलाल श्रेष्ठ, एसएएमा सुमन भट्टराई र इडिटरमा प्रदीप काफ्ले चयन भएका छन्।
त्यसैगरी, क्लब एडमिनिस्ट्रेसन चियरमा दिनेशकुमार श्रेष्ठ, सर्भिस प्रोजेक्ट चियरमा रमेशकुमार श्रेष्ठ, मेम्बरसिप चियरमा हरि कार्की, पब्लिक इमेज चियरमा चन्द्रवति हडखले, टिआरएफ चियरमा इमकुमार मल्ल, क्लब मनिटरमा रामचन्द्र पोख्रेल, आरएनएलएम चियरमा देबराज अधिकारी, क्लब ट्रेनरमा हरिसिं गुरुङ र रोटर्याक्ट युथ कोअर्डिनेटरमा सुर्जकुमार मल्ल चयन भएका छन्।