ओझेलमा महिला उम्मेदवार, प्रमुखमा पुरुष कै चर्चा !

Byकिरण श्रेष्ठ

११ बैशाख २०७९, आईतवार ०७:५६ ११ बैशाख २०७९, आईतवार ०७:५६ ११ बैशाख २०७९, आईतवार ०७:५६

किरण श्रेष्ठ, वैशाख ११, तनहुँ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै तनहुँमा उम्मेदवारहरूको चर्चा पनि चुलिन थालेको छ । दश स्थानीय तह रहेको तनहुँमा नगरपालिकाका मेयर र गाउँपालिकाका अध्यक्षको लागी निर्वाचन नजिकिएसँगै चर्चा र अड्कलबाजी सुरु भएको हो ।

हरेक पालिकाको प्रमुखमा कसले उम्मेदवारी दिन्छन् भनेर चिया पसलदेखि राजनीतिक वृत्तसम्म उत्सुकताका साथ चर्चा हुने गरेको छ । प्रमुख पदका लागि गर्ने गरिएका चर्चा र अड्कल भने पुरुष केन्द्रित हुने गरेको छ । प्रमुख पदको उम्मेदवारीमा महिलाको चर्चा र अड्कलबाजी भने शुन्यप्राय नै छ ।

जिल्ला सदरमुकाम समेत रहेको व्यास नगरपालिकाको मेयर पदमा बहालवाला मेयर वैकुण्ठ न्यौपानेको चर्चा चलिरहँदा बहालवाला उपमेयर मिरा जोशीको प्रमुख पदमा चर्चा भने कतै सुनिँदैन ।

व्यासमा काँग्रेसका अशोक कुमार श्रेष्ठ, एमाले-जोशी समुहका दिपक राज जोशी, माओवादीको अतिन्द्र केशरी न्यौपानेको चर्चा मेयरको उम्मेदवारको रुपमा चलिरहँदा न त मिरा जोशीको चर्चा हुन्छ, न त बसुन्धरा घर्तीको नै चर्चा चल्छ ।

त्यसो त उपमेयर जोशीको नगर प्रमुखमा दाबी छँदै नभएको पनि हैन । उनले कतिपय सार्वजनिक मञ्च र सञ्चार माध्यमहरूमा मेयरमा आफ्नो दाबी रहेको बताउदै आएकी थिइन् । फेरि पनि राजनीतिक वृत्तमा मात्र हैन प्रमुख पदको सवालमा उनको मात्र हैन अन्य महिलाहरूको चर्चा शून्य नै छ ।

मानौँ प्रमुख पद पुरुषको लागि मात्र हो, र यस्तै देखिन्छ तनहुँको चुनावी माहोल पनि । चाहे राजनीतिक वृत्तमा होस, चाहे दलहरूको आन्तरिक बैठकमा होस वा चाहे चियागफ वा चौतारी गफमा होस उम्मेदवारको चर्चा र परिचर्चा त हुन्छ तर प्रमुख पदमा महिला उम्मेदवारको चर्चाले भने कतै पनि प्रवेश गरेको भेटिँदैन ।

व्यास नगरपालिकामा जस्तै जिल्लाकै विकट घिरिङ गाउँपालिकामा बहालवाला अध्यक्ष रनबहादुर रानाको पुन: उम्मेदवारीको चर्चा चलिरहँदा उपाध्यक्ष सरस्वति सिग्देल भने पार्टी बाटै सिफारिस हुन सकिनन् । उनले सार्वजनिक फोरमहरूमा आफ्नो दाबी अध्यक्ष पदमा रहेको बताउँदै आएकी थिइन् । फेरि पनि उनको दाबीलाई न त उनको दलले नै गम्भीर रूपमा लियो । न त सम्भावित उम्मेदवारको नामावलीभित्र उनको नाम नै कतै उल्लेख भयो ।

त्यस्तै ऋषिङ गाउँपालिकामा बहालवाला अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको पुन: दोहोरिने अड्कलबाजी र चर्चा चल्छ तर उपाध्यक्ष गिनुमाया थापालाई मेयर पदसँग जोडिएर चर्चा गरिएको सुनिँदैन । अझै उनलाई पुन:उपाध्यक्ष हुन पनि गाह्रो देखिन्छ । उनको नाम उपाध्यक्षको आकाँक्षीका रुपमा रहेता पनि उनि संगै उनका पार्टीका आधा दर्जनले उपाध्यक्ष हुने आकाँक्षा पार्टी भित्र देखाएका छन् ।

यस्स्तै बन्दिपुर गाउँपालिकामा पनि हालका गाउँपालिका अध्यक्ष पूर्णसिं थापा पुन:अध्यक्षमा दोहोरिने चर्चा चल्दा हालकी उपाध्यक्ष करुणा गुरुङको चर्चा भने सुनिएको छैन । उनिहरु दुवै नेकपा माओवादीबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

तनहुँमा नेपाली काँग्रेसकी मिरा जोशी, एमालेकी बसुन्धरा घर्ती, माओवादी केन्द्रकी करुणा गुरुङ प्रतिनिधिमूलक महिला नेतृत्व हुन् । जीवनको लामो समय पार्टी र सङ्गठनमा खर्चेकी यी महिला नेतृको चर्चा पनि प्रमुख पदमा छैनन् । पार्टी सबलीकरण र महिला आन्दोलनमा होमिएकी महिला नेतृहरू पार्टीले महिलालाई विभेद गरेको बताउछन् ।

घिरिङ गाउँपालिकाकी उपाध्यक्ष सरस्वती सिग्देल महिला नेतृत्वप्रति दलहरूले विश्वास नगर्ने परिपाटी आम पार्टीमा रहेको बताउछिन । यस्ता परिपाटीहरूको अन्त्य हुनु पर्ने र आगामी स्थानीय तहको निर्वाचनमा दलहरूले पालिकाहरूको प्रमुख पदमा महिलाको सङ्ख्या बढाउन गम्भीर भएर लाग्नु पर्ने उनि बताउछिन ।

व्यास नगरपालिकाकी उपप्रमुख मिरा जोशी व्यवस्था फेरिए पनि अवस्था नफेरिएको कारण महिलाहरूप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको बताउछिन । एकातिर महिलाहरूले आफूलाई दावेदारीको रुपमा प्रस्तुत गर्न नसक्नु र अर्कोतिर पुरुषहरूले प्रमुख पदमा आफ्नै वर्चस्व खोज्नुले पनि महिलाहरूको चर्चा नभएको उनले बताईन ।

त्यसो त प्रमुख पदका लागि महिलाहरू अक्षम हैनन् । यसअघि पालिकाका उपप्रमुख भएर आफ्ना कर्तव्य निर्वाह गर्दै आएकी महिला उपप्रमुखहरू सक्षम नै छन् । फेरि पनि कुनै पनि पालिकाको चर्चा गर्दा प्रमुखकै नाम मात्र अगाडि आउने गरेको अनुभव शुक्लागण्डकी नगरपालिकाकी उपप्रमुख सविता रसाइलीको छ । ‘मेयरले जतिको काम हामीले पनि गरेका छौँ तर चर्चा भने मेयरको मात्र हुने गर्छ ।’ उनले भनिन ‘समाजमा महिलालाई हेर्ने दृष्टिकोण अझै उस्तै पुरातन छ । ‘
महिलालाई नेपाली समाज र नेपाली राजनीतिमा गरिने विभेद र पुरुषवादी सोच, हैकमका कारणले महिला ओझेलमा परेको म्याग्दे गाउँपालिकाकी अध्यक्ष माया रानाको भनाई रहेको छ ।

राजनीतिमा पुरुषकै वर्चस्व रहेकै कारणले पनि हरेक निर्वाचनमा प्रमुख पदका लागि पुरुषकै मात्र चर्चा हुने र महिलालाई विश्वास भएर पनि दलहरूले टिकट दिन आनाकानी गर्ने गरेका कारणले पनि महिला उम्मेदवारको चर्चा नभएको रानाको कथन छ ।

पाँच वर्ष उपमेयरको दायित्व निर्वाह गरेकी शुक्लागण्डकी नगरपालिकाकी उपमेयर सविता रसाइली मेयरका लागि आफू योग्य भएको बताउछिन । आफूसँग पाँच वर्ष उपमेयर भएको अनुभवको आधारमा आफू मेयर हुन योग्य भएको उपमेयर रसाइलीले बताउछिन । आगामी निर्वाचनमा मेयर पदका लागि भने उनको चर्चा सुनिन्छ । एमाले नेतृ रसाईलीलाई नै मेयरका रुपमा एमालेले शुक्लागण्डकीमा अघि सार्ने देखिन्छ । हुन् पनि उनि शुक्लागण्डकी नगरपालिकामा एमालेबाट बलियो उम्मेदवार हुन् ।

यस्तै यता बन्दिपुर गाउँपालिकामा हालकी उपाध्यक्ष करुणा गुरुङ पनि गाउँपालिका अध्यक्षकी आकांक्षी हुन् । त्यस्तै भानु नगरपालिकामा माओवादी केन्द्रबाट ओमकुमारी पौडेलको नाम प्रमुखमा अघि आएको छ । त्यस्तै भानु नै नेपाली कांग्रेसबाट हालकी उपमेयर आशा थापाले पनि मेयरमा आकांक्षा व्यक्त गरेकी छिन ।

यता म्याग्दे गाउँपालिकाकी हालकी अध्यक्ष माया रानाले पनि पुन: अध्यक्ष बन्न आकांक्षा देखाएकी छिन । उनि गत २०७४ स्थानीय तहको निर्वाचनमा एक मात्र महिला प्रमुखको रुपमा जिल्लामा निर्वाचित भएकी थिइन् ।

तनहुँमा गठबन्धन भर्सेस एमाले-जोशी समुह

तनहुँमा यसपालिको स्थानिय तहको निर्वाचन हेर्न लायक हुने भएको छ । जिल्लामा ४ दलिय गठबन्धन एकातिर छ भने अर्का तिर नेकपा एमाले र गोविन्द राज जोशी समुह रहेको छ ।

गठबन्धनका दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी भित्र भागबण्डा मिल्न सकेको छैन । लामो समयदेखि दैनिक जसो छलफलमा बसे तापनि गठबन्धनका दल आ-आफ्नै अडानका कारण निष्कर्षमा पुग्न सकेका छैनन ।

यता एमाले तनहुँ र जोशी समुह बीच भने तालमेल जुटिसकेको छ । सोही अनुसार जिल्लाभर भागबण्डा पनि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *