तनहुँको स्थानीय तहका उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च विवरण

Byकिरण श्रेष्ठ

१२ भाद्र २०७९, आईतवार १५:४९ १२ भाद्र २०७९, आईतवार १५:४९ १२ भाद्र २०७९, आईतवार १५:४९

स्पष्टीकरण समेत नदिनेमा आँबुखैरेनीका अध्यक्ष चुमान पनि

तनहुँ । तनहुँका स्थानीय तहको निर्वाचन सकिएको तीन महिना बित्दा पनि धेरै उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छैनन् ।

निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको मितिले ३० दिनभित्र उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाउनु पर्ने कानुनी व्यवस्था छ । तर, उक्त व्यवस्थाको उल्लंघन गर्दै राजनीतिक पार्टीबाट र स्वतन्त्र रुपमा उम्मेदवारी दिएका अधिकांश उम्मेदवारले निर्वाचन खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

तनहुँमा गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसँगै वडासदस्य गरी कुल १ हजार ६३७ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये ४०२ जनाले मात्र निर्वाचन खर्च विवरण बुझाएको आयोगका जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि प्रसाद ढकालले जानकारी दिए ।

प्रमुख ढकालका अनुसार निर्वाचन भएको तीन महिना बित्दासमेत अझै १ हजार २३५ जनाले खर्च विवरण बुझाएका छैनन् ।

पार्टी अनुसार खर्च विवरण नबुझाउनेमा नेपाली कांग्रेस पहिलो नम्बरमा छ भने एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो छ ।

खर्च विवरण बुझाउनेमा विवेकशिल साझा पार्टी अगाडी रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

खर्च बुझाएका ४०२ मध्य पनि ८३ जना उम्मेदवारले मात्रै आफ्नो वडा र पालिकामा खर्चको विवरण सार्वजनिक गरेको जिल्ला निर्वाचन कार्यालय तनहुँका नायब सुब्बा धिरेन्द्र बहादुर शाहीले जानकारी दिए ।

खर्चको विवरण पनि नबुझाउने, स्पष्टीकरण पनि नदिनेमा आँबुखैरेनीका अध्यक्ष चुमान पनि

यहीँ भदौ १-७ गतेसम्म निर्वाचन खर्चको बुझाउदै नबुझाउने र म्याद कटेर बुझाएहरुलाई कारण सहित स्पष्टीकरण सोधिएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

स्पष्टीकरण बुझाउन आयोगले सूचना गरेको थियो । उक्त समयमा स्पष्टीकरण दिनेमा करिब जिल्लका करिब ३७५ जना उम्मेदवार रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

निर्वाचन खर्च नै नबुझाएका र म्याद कटेर खर्चको विवरण बुझाएका उम्मेदवारलाई आयोगले जिल्ला निर्वाचन कार्यालय मार्फत स्पष्टीकरण सोधेको थियो तर स्पष्टीकरण समेत नदिनेमा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान समेत रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

कुन पालिकामा कतिले बुझाए खर्चको विवरण ?

हालसम्म व्यास नगरपालिकाका निर्वाचित ७१ र पराजित ८४ गरी १५५ जना, भानु नगरपालिकाका पराजित ४ जना, शुक्लागण्डकी नगरपालिकाकाका निर्वाचित ५ र पराजित ३० जना खर्चको विवरण बुझाएका छन । र भिमाद नगरपालिकाका उम्मेदवारले खर्चको विवरण नै बुझाएका छैनन् ।

यसैगरी बन्दिपुर गाउँपालिकाका निर्वाचित १३ र पराजित २६ गरी ३९ जना, म्याग्दे गाउँपालिकाका निर्वाचित १९ र पराजित १७ गरी ३६ जना, देवघाट गाउँपालिकाका निर्वाचित १७ र पराजित ३७ गरी ५४ जना, आँबुखैरेनी गाउँपालिकाका पराजित २३ जना, ऋषिङ गाउँपालिकाका निर्वाचित ३४ र १४ गरी ४८ जना र घिरिङ गाउँपालिकाका पराजित ७ जना गरी कुल ४०२ जनाले विवरण बुझाएका छन् ।

स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले अधिकतम ४ लाख ५० हजार र गाउँपालिका अध्यक्ष वा उपाध्यक्ष पदका उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउछन् ।

जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखले भने ५० हजारसम्म खर्च गर्न पाउछन् । वडाध्यक्षका उम्मेदवारले भने नगरपालिकामा दुई लाख, गाउँपालिकामा एक लाख ५० हजारसम्म खर्च गर्न पाइने व्यवस्था आयोगले गरेको थियो ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ मा निर्वाचन प्रचार–प्रसार खर्चसम्बन्धी व्यवस्था छ । उक्त ऐनमा निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोगले तोकेको कार्यालयसमक्ष पेश गर्नुपर्ने उल्लेख छ ।

आयोगले तोकेको समयमा निर्वाचन खर्च नबुझाउने व्यक्तिलाई आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाउने गरी कारवाही गर्न सक्ने प्रावधान छ । यदी कसैले बुझाए पनि वास्तविक खर्च भन्दा पनि निकै न्यून विवरण बुझाएका हुन्छन् ।

निर्वाचनबाट जिल्लाका १० स्थानीय तहको ८५ वडामा ४४५ जना जनप्रतिधिका विजयी भएका छन् ।

निर्वाचन आयोग ऐनमा छ महिनासम्म खर्च विवरण नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले तत्कालैदेखि लागू हुने गरी बढीमा छ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन रोक लगाउन वा उम्मेदवार हुन अयोग्य घोषित गर्न सक्ने प्रावधान छ । सोही ऐनमा यस्तो निर्णय गर्नुअघि आयोगले सम्बन्धित राजनीतिक दल वा व्यक्तिलाई आफ्नो सफाइ पेस गर्ने मनासिव मौका दिनुपर्नेछ ।

खर्च विवरण पेस नगर्ने व्यक्ति निर्वाचित भएको खण्डमा निजको निर्वाचन स्वतः बदर हुने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *