फिल्म ‘लाइफ इन एलए’ बाट नेपाली फिल्म क्षेत्रमा एक नयाँ अनुहार भित्रिदै छ। डेढ दशकदेखि अमेरिकालाई कर्मथलो बनाएका तनहुँ भिमादका व्यास बिस्सु लाइफ इन एलए मार्फत नेपाली चलचित्र क्षेत्रमा देखा पर्न लागेका हुन । अमेरिका र नेपालमा छायांकन पुरा गरिएकाे फिल्मकाे अहिले सम्पादनकाे काम भइरहेकाे छ ।
गएको महिना नेपालका काठमाण्डाै, पाेखरा र तनहुँका बिभिन्न क्षेत्रमा छायांकन गरिएकाे ‘लाइफ इन एलए’काे ७५ प्रतिशत छायांकन अमेरिकामा गरिएको चलचित्रका नायक बिस्सुले जानकारी दिए । चलचित्रमा उनलाइ नायिका अकेशा बिष्टले साथ दिएकी छिन ।अमेरिकामा बस्ने नेपालीको जीवनशैलीमा केन्द्रित रहेकाे चलचित्रमा शिल्पा मास्के, गौरव पहारी, जेरेड विलप्स, बुद्धि तामाङ, बिष्णु गाैतम लगायतका कलाकारकाे अभिनय रहेको छ। फिल्ममा बिस्सुले अमेरिकाको सिनमा अकेशासँग अनस्क्रिन रोमान्स गरेका छन् भने नेपालको सिनमा शिल्पासँग जोडी बाँधिएको छ। यसबाट पनि बुझ्न सकिन्छ कि फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।
सिनेमा हल खुलेको खण्डमा आउँँदो दशैंमा चलचित्र रिलिज गर्ने तयारीका साथ काम अघि बढिरहेकाे कार्यकारी निर्माता संसार सुवेदीले जानकारी दिए । चलचित्रलाइ अमेरिकाका विभिन्न ठाउँमा प्रदर्शन गर्ने र दशैमा नेपालमा रिलिज गर्ने याेजना बनाइएकाे चलचित्रका निर्देशक सूर्य एन श्रेष्ठले जानकारी दिए । आगमी सोमवार एक कार्यक्रमका बीच फिल्मको गीत सार्वजनिक गरिने छ ।
पहिलो पटक फिल्ममा अभिनय गरेता पनि आफ्नो तर्फबाट उत्कृष्ट प्रस्तुती दिन प्रयास गरेको ब्यास बिस्सु बताउँछन् । पेशाले इन्जिनियर रहेका उनी दर्शकले आफूलाई कलाकारको रुपमा स्वीकार गर्नेमा विश्वस्त छन् । ‘नेपालमा नायकको जुन मानक बनेको छ त्यसमा म फिट हुँदिनँ होला ।’ उनले भने,’तर, अभिनय राम्रो लाग्यो भने दर्शकले कलाकारको रुपमा अवश्य पनि स्वीकार्नु हुन्छ भन्ने मेरो बिश्वास हाे ।’
अमेरिकामा बस्ने कलाकारलाई अभिनयमा फर्किन उर्जा मिलोस् भन्ने उद्देश्यले पनि आफूले फिल्म निर्माण गरेको ब्यासले बताए । ‘फिल्ममा अभिनय गर्न नेपाल नै फर्किनु पर्दैन । जहाँ बसेर पनि अभिनयलाई निरन्तरता दिन सकिन्छ । अमेरिकामा धेरै चर्चित कलाकारहरु बस्नुहुन्छ । उहाँहरुलाई अभिनयमा फर्किनका लागि उर्जा दिनु पनि मैले फिल्म बनाउनुको उद्देश्य हो,’ उनले भने ।
अभिनय र निर्माणमा ‘लाइफ इन एलए’ आफ्नो पहिलो र अन्तिम फिल्म नहुने उनको भनाई छ । यो फिल्ममा आफैंले अभिनय गर्नुको कारणबारे पनि उनी भन्छन्, ‘म अमेरिका बस्न थालेको १८ वर्ष जति भयो । त्यहाँ मेरो राम्रो चिनजान छ । म आफैंले काम गर्दा लगानी उठाउन सकिन्छ भन्ने भएपछि अभिनय गरेको हुँ । यो फिल्म सफल भयो भने नयाँ फिल्ममा म नखेल्न पनि सक्छु ।’