पोखरा–विपद् पर्नु अगाडी गर्नु पर्ने पुर्व तयारी र विपद्को वेला गरिने उद्धार र पुनस्र्थापना संवन्धमा विकल्प तालिम केन्द्रको संयोजनमा पोखरामा २ दिने विपद् व्यवस्थापन तालिम कार्यशाला सम्पन्न भयो । गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा सक्रिय रुपले सेवा गरिरहेका १६ वटा नागरिक संस्थाहरुका ३० जना सहभागी रहेको उक्त तालिम कार्यशालाको प्रमुख सहजकर्ता विकल्प तालिम केन्द्रका मुख्य सहजकर्ता तथा चिल्ड्रेन–नेपालका संस्थापक अध्यक्ष रामचन्द्र पौडेल, कादम्वरी कलेजका प्रमुख तथा सिविस संस्थाका संयोजक प्रदिप्ता कादम्वरि, जस्ट नेपाल फाउण्डेसनका संस्थापक तथा निर्देशक गोपाल लामा, डिपीनेटका उपाध्यक्ष डा. राजु थापा र अल्टरनेटिभ टु चाइल्ड सेप्रेसनका निर्देशक रिता टिस्डलले गर्नुभएको थियो ।
प्रत्येक सहभागीको असल नाम र संलग्न संस्थाका असल अध्यासवाट शुरुआत गरिएको उक्त कार्यशाला संस्थामा आउने कुनै किसिमको विपद् पछि नागरिक संस्थाहरुमा आई पर्ने कर्मचारीहरुको विचलनको कारण देखापर्ने संकट संवन्धमा सहभागीहरुले आफ्ना अनुभवहरु प्रस्तुत गरेका थिए । साथै त्यस्ता विपद्हरुको सामना समेत गरेका असल अभ्यासहरु समेत वताएका थिए । यस्ता विपद्हरुमा नागरिक संस्थाहरुले संस्था भित्र र वाहिर अहिंसा, करुणा, हेरचाह, मानव अधिकार, इमान्दारिता, सह अस्तित्व जस्ता मुल्य मान्यताहरुलाई आत्मसाथ गर्नुपर्ने कुरामा जोड दिएका थिए ।
कार्यशालामा डेनिस सरकारले विकाश गरेको विपद्/आकस्मिक उद्धार कोषको जानकारी दिनुको साथै विपद् व्यवस्थापन र पुर्व तयारी संजाल (डिपिनेट) संगको सहकार्य सवालमा समेत छलफल गरिएको थियो ।
कार्यशालाले विपद् पुर्व गर्ने तयारी र विपद्को वेला गर्ने उद्धार र पुनस्र्थापनको निम्ति स्थानिय नागरिक संघसंस्थाहरुले आफ्नो क्षमता अभिवुद्धि गर्ने रणनितिहरु पहिचान गर्नुका साथै नागरिक संस्थाहरुको सञ्जाल गठन गरि अनुभव र स्रोत साधन समेतको आदनप्रदान गरेर विपदको वेला सक्रिय हुने टुङ्गो गरेका छन् ।
उज्यालो लाल्टिन प्रतिष्ठान रुपन्देहि, आपसी सहयोगी केन्द्र स्याङ्जा, सोइया महिला स्वावलम्वी संस्था रुपन्देहि, गैरसरकारी संस्था महासंघ कास्की, नेपाल स्काउट गण्डकी प्रदेश, चिल्ड्रेन–नेपाल पोखरा, नमस्ते सामुदायिक प्रतिष्ठान पोखरा, सि वि आर एस पोखरा, नौलो घुम्ती, असल छिमेकी सहयोग संघ, नेपाल रेडक्रस सोसाइटि कास्की, पहार ट्रष्ट नेपाल, कोपीला नेपाल, लालिगुँरास सामुदायिक विकाश तथा तालिम प्रतिष्ठान, विकल्प तालिम केन्द्र, एकलधारा आमा समुहका कार्य समिति पदाधिकारी तथा वरिष्ठ कर्मचारीहरुको सक्रिय सहभागीता रहेको उक्त कार्यक्रम समाज सेवा तथा मानव अधिकारमा महिला र वाल बालिका(सिविस)ले सहयोग गरेको थियो ।
