रामबहादुर धामी/(छिम्केश्वरी)
महाभारत हिम श्रृखला अन्तर्गतको तनहुँको सबैभन्दा अग्लो डाँडा छिम्केश्वरीमा हिउँ परेपछि शुक्रबार र शनिवार हिउँ खेल्न सर्वसाधारणको घुँइचो लागेको छ। छिम्केश्वरीमा हिउँ झरेपछि आँबुखैरेनी, गोरखा, डुम्रे, दमौली लगायतका स्थाबाट युवाहरु हिउँ खेल्न छिम्केश्वरी उक्लिएका हुन।
बाक्लो हिउँ परेपछि छिम्केश्वरीमा हिउँ खेल्न आउने सर्वसाधारणमा बृद्धि भएको स्थानीय बासिन्दा एवं आँबुखैरेनी वडा नं. ५,का वडा सदस्य देवीलाल गुरुङले जानकारी दिए । ‘डाडाँभरी हिउँले सेताम्मे भएका छन,’ उनले भने, ‘हिउँ खेल्न धेरै युवायुवती उक्लिएपछि गाउँमा पनि चहल पहल बढेको छ ।’
झण्डै ४२ वर्षपछि छिम्केश्वरीमा यो वर्ष हिउँ परेको स्थानीयको भनाई छ । छिम्केश्वरीमा हिउँ खेल्न पुगेका युवाहरुले हिउँबाट निर्मित विभिन्न जनावरको आकृती तथा हिउँको डल्लो बनाएर समेत रमाइलो गरेका थिए।
छिम्केश्वरीमा हिउँ परेको र छिम्केश्वरी पुग्न यातायातको सहज सुविधा उपलब्ध भएपछि हिउँ खेल्न छिम्केश्वरी पुगेको दमौलीका समुन्द्र ढकालले बताए। ‘हिउँ खेल्न भनेर साथीहरुसंग छिम्केश्वरी आएका हौ,’ उनले भने, ‘मज्जाले रमाइलो पनि भयो ।’ हिउँ परेपछि छिम्केश्वरी मन्दिर आसपासका क्षेत्रका डाँडा र रुखहरु समेत सेताम्मे भएका थिए। छिम्केश्वरी समुन्द्री सतहदेखी २ हजार १ सय ३४ मिटर उचाईमा अवस्थित छ।