काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि साउदी अरेबियाका कार्यवाहक राजदूत नाइफ अलोटाइवीले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरूबीच दुई देशबीच रहिआएको आपसी सम्बन्ध र चासोका विविध विषयमा छलफल भयो ।

सो अवसरमा श्रममन्त्री श्रेष्ठले पछिल्लो समय नेपाली कामदारको प्रमुख श्रम गन्तब्य बनेको साउदी अरेबियामा नेपालीहरु विभिन्न समस्यामा परेको गुनासो आएको भन्दै समाधानको पहल गर्न राजदूत अलोटाइवीसँग आग्रह गरे । सम्झौता अनुसार काम र पारिश्रमिक नपाएको भन्दै उजुरी तथा गुनासो गर्ने नेपाली कामदारको संख्या उच्च रहेको मन्त्री श्रेष्ठको भनाइ थियो ।

नेपाल र साउदी अरेबियाबीचको श्रम सम्झौतालाई छिटो अन्तिम रूप दिनुपर्ने मन्त्री श्रेष्ठले बताए । श्रम सम्झौता नहुँदा रोजगारदाता तथा मानवस्रोत आपूर्तिकर्ता संस्थाको कर्तव्य स्पष्ट हुन नसकेको उनले बताए ।

राजदूत अलोटाइवीले नेपाली कामदारको सहजताको लागि आफू प्रतिबद्ध रहेको बताए । मन्त्री श्रेष्ठले साउदी अरेबिया सरकारको सहयोगमा नेपालमा साउदी लक्षित सीप प्रशिक्षण केन्द्र संचालनको प्रस्ताव पनि गरेका थिए ।

अहिले साउदी अरेबिया जाने अधिकांश कामदार अदक्ष रहेकोले सीपयुक्त जनशक्ति उत्पादन गर्न सीप परिक्षण परियोजना संचालन गर्न सकिने मन्त्री श्रेष्ठले बताए । साउदीमा रोजगारीका लागि जाने नेपाली कामदारमध्ये अधिकांश अदक्ष कामदार छन् । करिब चार लाख श्रमिक कार्यरत रहेको साउदी अरेबिया नेपाली कामदारहरूको लागि प्रमुख श्रम गन्तव्य हो । नेपाल र साउदी अरेबियाबीच सन् १९७७ मार्च १५ मा कुटनीतिक सम्वन्ध स्थापना भएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *