चुनावी तालमेलका कारण स्थानीय तहमा खुम्चियो महिला नेतृत्व

Byकिरण श्रेष्ठ

१६ जेष्ठ २०७९, सोमबार १४:५६ १६ जेष्ठ २०७९, सोमबार १४:५६ १६ जेष्ठ २०७९, सोमबार १४:५६

किरण श्रेष्ठ, तनहुँ । गत वैशाख ३० गते स्थानीय तह सदस्यका लागि भएको निर्वाचनमा दलहरू बीचको चुनावी तालमेलका कारण महिला स्थानीय तहमा चुनिएर नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसरबाट वञ्चित भएका छन् ।

तनहुँमा ठूला दलले निर्वाचनमा तालमेल गर्दा महिलालाई भन्दा पुरुषलाई प्राथमिकतामा राखेर भागबण्डा लगाएका कारण स्थानीय तहको प्रमुख वा उपप्रमुख र अध्यक्ष वा उपाध्यक्ष भएर नेतृत्व गर्ने अवसर गुमेको महिला नेतृहरु बताउछन ।

गत २०७४ को स्थानीय तहको निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा चुनावी तालमेल गरेका सत्तारुढ दलले उम्मेदवार बनाउँदा नै महिलालाई वञ्चित गरेका कारण पनि महिला नेतृत्वमा पुग्ने अवसर खुम्चिएको छ ।

गत स्थानीय तह निर्वाचनमा एक जना महिला गाउँपालिका अध्यक्ष र ९ जना महिला नेतृ उपप्रमुख/उपाध्यक्षमा निर्वाचित हुँदै नेतृत्वदायी भूमिकामा पुगेका थिए तर यो पटक पालिका प्रमुखमा शुन्य नै भएको छ महिला नेतृत्व । उपप्रमुख/उपाध्यक्षमा पनि ७ जना महिलामा सीमित भएको छ ।

गत २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लाको म्याग्दे गाउँपालिकामा महिला अध्यक्ष निर्वाचित भएकी थिइन् । यसपटक पनि उनै मायादेवी राना निर्वाचनमा उम्मेदवार थिइन् तर यसपटक उनि सफल हुन् सकिनन् । उनि कांग्रेसबाट गाउँपालिका अध्यक्षको उम्मेदवार थिइन । उनलाई एमालेका पुरुष उम्मेदवार श्रीप्रसाद श्रेष्ठले पराजित गरिदिए ।

१० स्थानीय तह रहेको तनहुँमा यसपटक नेकपा एमालेले जिल्लाको ८ पालिकालको उपप्रमुख/उपाध्यक्षमा महिलालाई उम्मेदवार बनाएको थियो । २ पालिकामा भने तालमेलका कारण महिला उपप्रमुख/उपाध्यक्ष उम्मेदवार हुन सकेन ।

नेकपा एमालेले तनहुँमा कांग्रेसका पुर्वसहमहामन्त्री गोविन्दराज जोशी समुह संग ३ वटा पालिकाआ तालमेल गरेको थियो । यस्तै एमालेले जिल्लाको ऋषिङ गाउँपालिकामा भने नेकपा माओवादी केन्द्र संग तालमेल गरेको थियो । सोही कारण ऋषिङ गाउँपालिकामा समेत एमालेले उपाध्यक्ष माओवादीलाई छोड्नु पर्यो , जहाँ माओवादीले पुरुष नै उपाध्यक्ष निर्वाचनमा उठाएको थियो ।

सोही कारण दुई पालिकामा पुरुष उपप्रमुख/उपाध्यक्ष उम्मेदवार रहेका थिए । एक पालिकामा भने जोशी समुहले अहिला उपाध्यक्ष उम्मेदवार उठाएको थियो ।

जसमा एमालेले २ वटा पालिकामा मात्रै उपप्रमुख/उपाध्यक्ष जिताउन सक्यो । जिल्लाको भिमाद नगरपालिकामा शारदा खनाल र घिरिङ्ग गाउँपालिकामा राधादेवी अधिकारी निर्वाचित भएका छन् । अन्य उम्मेदवार भने यसपटकको निर्वाचनमा सफल हुन सकेनन् ।

यता नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बीच जिल्लाको शुक्लागण्डकी नगरपालिका र देवघाट गाउँपालिकामा तालमेल भएको थियो । जहाँ दुवै उपप्रमुख/उपाध्यक्ष माओवादीलाई दिंदा उसले दुवै पालिकामा पुरुष उपप्रमुख/उपाध्यक्ष उठाएको थियो । दुवै पालिकामा पुरुष उपाध्यक्ष नै एइजयॆ भएका छन् ।

त्यस्तै नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच जिल्लाको दुई वटा पालिकामा चुनावी गठबन्धन भएको थियो । दुवै पालिकामा दुवै पार्टीको महिला उपप्रमुख/उपाध्यक्ष उम्मेदवार रहेन । जिल्लाको भिमाद नगरपालिकामा नेकपा एकीकृत समाजवादीले प्रमुख नेपाली कांग्रेसले उपप्रमुख पाउने सहमति अनुसार नेकपा एकीकृत समाजवादीले प्रमुखमा पुरुष र नेपाली कांग्रेसले पनि उपप्रमुखमा पुरुष नै उम्मेदवार उठाएका थिए ।

यस्तै घिरिङ्ग गाउँपालिकामा नेकपा एकीकृत समाजवादीले उपाध्यक्ष उम्मेदवार पाउने सहमति भएतापनि उसले त्यहाँ पुरुषलाई नै उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धामा गएका थिए । जहाँ उनीहरु दुवैमा सफल हुन सकेनन् ।

जिल्लाको ७ पालिकामा यसपटक महिलाले उपप्रमुख/उपाध्यक्ष पाएपनि स्थानीय तह निर्वाचन २०७४ को तुलनामा महिला जनप्रतिनिधि वडा सदस्यमा मात्रै सीमित भएको पाइएको छ । पहिले एक पालिका अध्यक्षसहित ९ पालिका उपप्रमुख/उपाध्यक्षमा महिला रहेको भएतापनि अहिले ७ पालिकाको उपप्रमुख/उपाध्यक्षमा मात्रै महिला विजयी भएका छन् ।

गठबन्धनका कारण गत निर्वाचनमा महिला नेतृत्व उपप्रमुख र उपाध्यक्ष पाएका नगरपालिका/गाउँपालिकाले समेत यसपटक महिला नेतृत्व गुमाउन परेको छ । संविधानमा पालिकाको नेतृत्वको दुई पदमा एक पदमा अनिवार्य महिला हुनुपर्ने व्यवस्थाको गठबन्धन र तालमेलका कारण कार्यान्वय हुन नसकेको हो ।

जिल्लाको शुक्लागण्डकी नगरपालिका र देवघाट गाउँपालिकामा तालमेल कै कारण महिलाले उम्मेद्वारी समेत दिन पाएनन् । दुवै पालिकामा पुरुष विजयी भएका छन् ।
म्याग्दे गाउँपालिकामा भने नेपाली कांग्रेसले अध्यक्षमा महिला र उपाध्यक्षमा पुरुष उम्मेदवार उठाएको थियो । जहाँ महिलाले अध्यक्षमा विजय हात पार्न सकिनन् भने पुरुष उपाध्यक्ष उम्मेदवार विजयी भएका छन् ।

          तनहुँको दुई वडामा मात्रै महिला वडाध्यक्ष

तनहुँमा दुई जना महिला मात्रै वडाध्यक्षमा निर्वाचित भएका छन् । दश पालिका रहेको तनहुँको मतगणना सकिएको छ । जिल्लाको मतपरिणाम आइसक्दा ८३ वडाध्यक्षमा पुरुष विजयी भएका छन् भने २ वटामा मात्रै महिला निर्वाचित भएका छन् । पालिका प्रमुख/अध्यक्षमा शुन्य नै छ, महिला नेतृत्व ।

जिल्लाको भानु नगरपालिका-१ को वडाध्यक्षमा कान्छीमाया तामाङ र आँबुखैरेनी गाउँपालिका-४ मा मिलन भुजेल निर्वाचित भएका हुन् । तनहुँमा दश पालिका र ८५ वडा रहेको छ । ८५ मध्य २ वडामा मात्रै महिला वडाध्यक्ष निर्वाचित भएका छन् ।

दुवै जना नेपाली कांग्रेसबाट उम्मेदवार बनेका हुन् । तामाङले ६७२ मत ल्याउँदै नेकपा एमालेका प्रेमबहादुर लामालाई पराजित गरिन् । वडाध्यक्षमा निर्वाचित भएपछि तामाङले वडामा महिला सशक्तीकरणमा जोड दिंदै काम गर्ने बताइन् ।

यता भुजेलले ४३३ मतका साथ नेकपा माओवादी केन्द्रका उम्मेदवार नेत्रबहादुर मगरलाई हराईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *