तनहुँ । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा तनहुँका दश स्थानीय तहका ८५ वडामा दुई जना मात्रै महिला वडाध्यक्ष निर्वाचित भएका छन् ।

जिल्लाको भानु नगरपालिका-१ को वडाध्यक्षमा कान्छीमाया तामाङ र आँबुखैरेनी गाउँपालिका-४ मा मिलन भुजेल निर्वाचित भएका हुन् । महिला जनप्रतिनिधि वडा सदस्यमा मात्रै सीमित भएको पाइएको छ ।

यस्तै पालिका प्रमुख पदमा यसपटक महिला निर्वाचित नभए पनि उपप्रमुख/उपाध्यक्ष, वडाअध्यक्ष, खुला सदस्य, महिला सदस्य र दलित महिला सदस्य गरी १८२ जना महिला निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

उपप्रमुखमा ३, उपाध्यक्षमा ४, वडाध्यक्षमा २, खुला सदस्यमा ३, महिला सदस्यमा ८५ र दलित महिला सदस्यमा ८५ जना गरी कुल १८२ महिला उम्मेदवार निर्वाचित भएको निर्वाचन अधिकारी हरि प्रसाद ढकालले जानकारी दिए ।

जिल्लामा ६ सय ४५ जना महिलाले चुनावी प्रतिस्पर्धामा भाग लिएका थिए । प्रमुख/अध्यक्ष पदका लागि ८, उपप्रमुख/उपाध्यक्षमा ३४, वडाध्यक्षमा १७, खुला सदस्यमा २४, महिला सदस्यमा २८७ र दलित महिला सदस्यमा २७५ महिला उम्मेदवार बनेका थिए ।

यसपालि पालिका प्रमुख/अध्यक्षमा शुन्य नै छ, महिला नेतृत्व । गत २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लाको म्याग्दे गाउँपालिकामा महिला अध्यक्ष निर्वाचित भएकी थिइन् । यसपटक पनि उनै मायादेवी राना निर्वाचनमा उम्मेदवार थिइन् तर यसपटक उनि सफल हुन् सकिनन् ।

उनि कांग्रेसबाट गाउँपालिका अध्यक्षको उम्मेदवार थिइन । उनलाई एमालेका पुरुष उम्मेदवार श्रीप्रसाद श्रेष्ठले पराजित गरिदिए ।

जिल्लाको ७ पालिकामा यसपटक महिलाले उपप्रमुख/उपाध्यक्ष पाएपनि स्थानीय तह निर्वाचन २०७४ को तुलनामा महिला जनप्रतिनिधि वडा सदस्यमा मात्रै सीमित भएको पाइएको छ । पहिले एक पालिका अध्यक्षसहित ९ पालिका उपप्रमुख/उपाध्यक्षमा महिला रहेको भएतापनि अहिले ७ पालिकाको उपप्रमुख/उपाध्यक्षमा मात्रै महिला विजयी भएका छन् ।

गठबन्धनका कारण गत निर्वाचनमा महिला नेतृत्व उपप्रमुख र उपाध्यक्ष पाएका नगरपालिका/गाउँपालिकाले समेत यसपटक महिला नेतृत्व गुमाउन परेको छ । संविधानमा पालिकाको नेतृत्वको दुई पदमा एक पदमा अनिवार्य महिला हुनुपर्ने व्यवस्थाको गठबन्धन र तालमेलका कारण कार्यान्वय हुन नसकेको हो ।

जिल्लाको शुक्लागण्डकी नगरपालिका र देवघाट गाउँपालिकामा तालमेल कै कारण महिलाले उम्मेद्वारी समेत दिन पाएनन् । दुवै पालिकामा पुरुष विजयी भएका छन् ।
म्याग्दे गाउँपालिकामा भने नेपाली कांग्रेसले अध्यक्षमा महिला र उपाध्यक्षमा पुरुष उम्मेदवार उठाएको थियो । जहाँ महिलाले अध्यक्षमा विजय हात पार्न सकिनन् भने पुरुष उपाध्यक्ष उम्मेदवार विजयी भएका छन् ।

नेपाली कांग्रेसबाट ४, नेकपा एमालेबाट २ र नेकपा माओवादी केन्द्रबाट एक जना महिला उपप्रमुख/उपाध्यक्ष निर्वाचित भएका छन् । बाँकी ३ जना भने पुरुष नै निर्वाचित भएका छन् । दुई जना नेकपा माओवादी केन्द्र र एक जना नेपाली कांग्रेसबाट उपप्रमुख/उपाध्यक्षमा विजयी भएका हुन् ।

पालिकाको उपप्रमुख–उपाध्यक्षमा भने सात महिला निर्वाचित भएका छन्। काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र)ले गठबन्धन गरेका देवघाट गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाको उपप्रमुखमा पुरुष विजयी भएका छन् ।

घिरिङ, ऋषिङ,बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाको उपाध्यक्षमा क्रमशः राधादेवी अधिकारी, गिनुमाया थापा, पञ्चमाया गुरुङ र दुर्गा अर्याल निर्वाचित भएका छन्। यसैगरी भिमाद, भानु र व्यासनगरपालिकाको उपप्रमुखमा क्रमशः शारदा खनाल, उमा गोतामे, इन्दिरा दरैले विजय हासिल गरेका छन् ।

जिल्लाका १० स्थानीय तहको प्रमुख र उपप्रमुख, वडाध्यक्ष, दलित, महिला र खुला सदस्यमा गरी कूल १ हजार ६३६ उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।

जिल्लामा १ सय ३६ मतदानस्थल र २ सय ९७ मतदान केन्द्र कायम गरिएको थियो । दुई लाख ४४ हजार ३४० जना मतदाता छन् । जसमा एक लाख १७ हजार १३४ पुरुष र एक लाख २७ हजार २०६ महिला मतदाता रहेका छन् ।

दश वटा पालिका रहेको तनहुँमा नगरप्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष पदमा मात्रै २८ प्रतिशतभन्दा बढी मत बदर भएको छ । स्थानीय तहको निर्वाचन सकिएपछि जिल्ला निर्वाचन कार्यालय तनहुँको तथ्याङ्क हेर्दा २८.३८ प्रतिशत मत पालिकाको नेतृत्व तहको पदमा बदर भएको देखिएको छ ।

दुई लाख ४४ हजार ३४० मतदाता रहेको तनहुँमा ८७ हजार ८५ जना मतदाता मतदानमा सहभागी भएनन् ।

मतदाता शिक्षाको कमी, दलीय गठबन्धनबारे मतदाताको अलमल लगायतका कारणले प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष पदमै बढी बदर भएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *