तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाले चितुवाको आक्रमणबाट मृत्यु भएका ५ वर्षीय बालक सुप्रिम बगाले मगरको परिवारलाई राहत उपलब्ध गराएको छ । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बुधबार मृतकका बुबा प्रेम बगाले मगरलाई ५० हजार हस्तान्तरण गरेका थिए ।

चितुवाको आक्रमणबाट मंगलबार बन्दीपुर गाउँपालिका–१ बोडिस्वाँरामा बालकको ज्यान गएको थियो । उनको शव घर नजिकको जङ्गलमा फेला परेको थियो । गत आइतबार पनि बन्दीपुर गाउँपालिका वडा नं ४ मा एक बालिका र बन्दिपुर-१ मा एक पुरुष चितुवाको आक्रमणबाट घाइते भएका थिए ।

यस्तै डिभिजन वन कार्यालय तनहुँले काजकिरिया बापत मृतकका परिवारलाई रु ५० हजार सहयोग गरेको छ । बाँकी ९ लाख ५० हजार छिट्टै प्रदान गर्ने कार्यालयले जनाएको छ । चितुवाको आक्रमणबाट मृत्यु हुनेको परिवारलाई सरकारले डिभिजन वन कार्यालय मार्फत १० लाख राहत दिने व्यवस्था रहेको छ ।

डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार श्रेष्ठले चितुवाको आक्रमण बढेपछि बन्दीपुरका सामुदायिक वनमा पासो (फलामे खोर) थापिएको बताए । तनहुँमा हालसम्म १२ बालबालिकाको चितुवाको आक्रमणबाट ज्यान गइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *