तनहुँ । तनहुँको दमौलीमा यहीँ भदौ ८ गतेदेखि प्रथम मेयर कप सुरु हुने भएको छ ।

सितलचोक युथ क्लबको आयोजनामा प्रथम मेयर कप पुरुष खुल्ला फुटबल प्रतियोगिताका हुन लागेको हो । उक्त प्रतियोगिता भदौ ८ गते सुरु भई भदौ १४ गतेसम्म संचालन हुने प्रतियोगिताका खेल संयोजक राजेश मल्लले जानकारी दिए ।

आइतबार दमौलीमा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिता बारे जानकारी दिइएको थियो ।

आइतबार दिउँसोसम्म २९ वटा टिम दर्ता भएको आर्थिक उपसमिती संयोजक दुर्गा राज थापा मगरले जानकारी दिए ।

प्रतियोगिताका लागि काठमाडौं, स्याङ्जा, कास्की, धादिङ, तनहुँका गरी २९ वटा टिम दर्ता भइसकेको मगरले बताए । उनले भने ‘अझै थपिने क्रम जारी रहेकोे छ ।’

प्रतियोगिताका लागि देश विदेशबाट गरी ११ लाख ९० हजार भन्दाबढी रकम संकलन हुने र ११ लाख खर्च हुने अनुमान गरिएको संयोजक मगरले जानकारी दिए ।

दमौलीको व्यास-३ विपी बनबाटिकामा हुने फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको खेल संयोजक राजेश मल्लले जानकारी दिए ।

जिल्लाकै सर्वाधिक राशीको खुल्ला पुरुष फुटबल प्रतियोगिता आयोजना गरिएकाले पनि अझै टिम थपिने आयोजकको भनाई छ ।

प्रतियोगितामा बिजेताले २ लाख २ हजार २ सय २२ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने मल्लले बताए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, घोषित गरी जनही ७ हजार ५ सय रुपैयाँ प्रदान गरिने मल्लले जानकारी दिए ।

क्वाटर फाइनलका खेलदेखि म्यान अफ दी म्याच घोषित गरी १ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विदेशी खेलाडीहरुले समेत भाग लिन पाउने भएकाले देशैभरबाट आउने टिमहरुमा विदेशी खेलाडीहरु सामेल हुने आयोजकको अनुमान छ ।

युवाहरु लाई एक आपसमा सम्बन्ध विस्तार गरी मित्रताको भावना विकास गर्न र युवाहरुको कला/प्रतिभा प्रस्फुटन गराउने र खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

खेलमार्फत स्थानीय तह र युवालाई जोड्न प्रतियोगिताको नाम मेयर कप राखिएको आयोजकले जनाएको छ ।

दमौलीमा खेलकुद सुस्ताएको कारण पनि प्रतियोगिता आयोजना गरिएको सचिवालय व्यवस्थापन समितिका संयोजक माधव न्यौपानेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *