तनहुँमा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड मूल्य बराबरको उत्पादन

Byकिरण श्रेष्ठ

१४ फाल्गुन २०७९, आईतवार १०:२३ १४ फाल्गुन २०७९, आईतवार १०:२३ १४ फाल्गुन २०७९, आईतवार १०:२३

किरण श्रेष्ठ. तनहुँ । जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण्डै २ सय मेट्रिक टनले उत्पादन वृद्धि भएको हो ।

कृषि ज्ञान केन्द्र तनहुँका अनुसार यस वर्ष सुन्तला खेती गर्ने क्षेत्रफल र उत्पादन दुवै वृद्धि भएको छ । यस वर्ष जिल्लामा ९ हजार ५ सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।

सोमध्ये ८ हजार मेट्रिक टन सुन्तला निर्यात भएको र बाँकी जिल्लामा बिक्रि भएको ज्ञान केन्द्रले जनाएको छ । तनहुँमा २६ करोड मूल्य बराबरको सुन्तला उत्पादन भई बिक्रि भएको केन्द्र भनाई छ ।

गत कात्तिकको अन्तिम सातादेखि माघ महिनाको अन्तिम सातासम्म जिल्लाका सुन्तला निर्यात भएका छन् । जिल्लाको देवघाट क्षेत्रमा अवस्थिति छिपछिपेबाट अन्तिम सातामात्र सुन्तला बजार पठाइएको थियो । यहाँ उत्पादित सुन्तला पोखरा, काठमाडौँ, नारायणगढ र बुटवलसम्म पुगेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुल प्रसाद तिवारिले बताए ।

जिल्लामा अहिले १ हजार ६५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ । सो मध्ये १ हजार ४०० हेक्टर क्षेत्रफलबाट उत्पादन भइरहेको केन्द्रका प्रमुख तिवारीले जानकारी दिए ।

गत आर्थिक वर्ष ०७८/७९ मा तनहुँमा ९ हजार ३ सय मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । उक्त सुन्तलाबाट कृषकले २४ करोड रकम पाएका थिए । गत वर्ष १ हजार ६०० हेक्टर क्षेत्रफलमा मात्र सुन्तला खेति भएको थियो भने यस वर्ष १ हजार ६५० बढी क्षेत्रफलमा मात्र सुन्तला खेति भएको प्रमुख तिवारीले बताए ।

यस वर्ष अनुकूल मौसम, रोग किराको प्रकोप कम र हावाहुरी, असिना पानीलगायतबाट कुनै क्षति नभएकाले सुन्तला उत्पादन बृद्धि भएको केन्द्रले जनाएको छ । पछिल्लो समय बाँझै रहेको खेतबारीमा सुन्तला लगाउने र स्थानीय तहहरुले पनि सुन्तला खेती गर्ने कृषकलाई प्रोत्साहन गर्न थालेपछि क्षेत्रफलमा वृद्धि हुँदै गएकाले बर्सेनि उत्पादन बढ्दै गएको छ ।

“किसानले मल, कीटनाशक विषादीको प्रयोग, बगैँचा सुधार गरेको तथा यस वर्ष हावाहुरी असिना नपरेको कारण सुन्तला उत्पादनमा वृद्धि भएको हो ।” उनको भनाइ छ ।

जिल्लामा सबैभन्दा बढी म्याग्दे गाउँपालिकाको खानीगाउँमा सुन्तला उत्पादन हुँदै आएको छ । यहाँको एउटै गाउँबाट झण्डै रु ४-५ करोडको सुन्तला निर्यात भएको छ । यस्तै देवघाट गाउँपालिकाको छिपछिपे, लुन्हरिङ, आँबुखैरेनी गाउँपालिकाको पतेनी, डुम्रीखर्क, व्यास नगरपालिकाको बेनिकोट, हर्कपुर, तनहुँसुर, बन्दीपुर गाउँपालिकाको धरमपानी, भिमाद नगरपालिकाको छाङ, शुक्लागण्डकी नगरपालिकाको राइपुर, ऋषिङ गाउँपालिकाको मौरीबास, दुबुङमा व्यावसायिक रुपमा सुन्तला खेती गरिँदै आएको छ ।

जिल्लाबाट निर्यात हुने मुख्य उत्पादित वस्तुमा सुन्तला नै परेको छ । अन्य वस्तुको तुलनामा तनहुँबाट सुन्तला बढी मात्रामा बाह्य जिल्लामा निर्यात हुन थालेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

कृषकको बोटमै सुन्तला खरिद गर्न व्यापारी आउने भएका कारण सुन्तलाको बजारीकरणमा समस्या नरहेको म्याग्दे-२ का कृषक सुक नारायण श्रेष्ठले बताए । उनले आफुले यसवर्ष ६० लाखको सुन्तला बिक्रि गरेको उनि बताउछन् ।

म्याग्दे-३ धयरे की सुन्तला कृषक कमला शाहीले यसवर्ष ८ लाख मुनाफा गरेको र आफैले काठमाडौ लगेर बिक्रि गरेको बताइन । उनले ६ रोपनीमा खेति गर्दै आएकी छिन । सुन्तलामा पतेराको दुख दिएको उनको गुनासो छ ।

देवघाट-३ लुङ्गरिङका सुन्तला कृषक भिम रानाले यसवर्ष ९४ रोपनिमा १११० बोटबाट ६१ लाखको सुन्तला बिक्रि गरेको बताए । उनका अनुसार लुङ्गरिङ गाउँबाट यसवर्ष करिब ४ करोड बढीजको सुन्तला बिक्रि भएको छ । सुन्तलाको रुखको जरा कुहिने रोग समस्या अहिले समस्याको रुपमा आएको कृषक राना बताउछन् । यस्तै सिंचाईको लागी पानिको मुहानमा रिर्जभ ट्यांकीको अभाव रहेको उनि बताउछन । सुन्तला बिक्रिमा बहने कुनै समस्या नभएको उनि बताउछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *